वाक् स्वतन्त्रता, लोकतन्त्रको ‘प्राणवायु’



-विकास थपलिया

मन्त्रिपरिषद्ले गरेका निर्णय थाहा पाउन पत्रकारले एक सातासम्म प्रतिक्षा गर्नु पर्ने बाध्यता छ । जवकी निर्णयबारेको सूचना थाहा पाउँदा कतिपय घटनाक्रम नै भिन्न भइसकेका प्रशस्तै उदाहरण हुन्छ । निजी क्षेत्रका संचारमाध्यममा कार्यरत पत्रकारहरू धेरै पटक राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सार्वजनिक महत्वका कार्यक्रमको तस्बिर खिच्न र रिपोर्टिङ गर्नबाट वञ्चित भएका छन् ।

शीतल निवासको सञ्चारकक्षमा प्रतीक्षारत सञ्चारकर्मीमध्ये सरकारी माध्यमका प्रतिनिधिलाई मात्रै शपथ ग्रहणस्थलमा जाने अनुमति दिने र निजी संचार माध्यमहरुमा कार्यरत पत्रकारहरू कयौँ पटक फर्काइएका छन् । यी घटनाले नेपाली राज्यको अनुदार व्यवहार मात्रै दर्शाउँदैन, राजनीतिक व्यवस्था र पद्धति फेरिए पनि मानसिकता र सोच नफेरिएको दृष्टान्त पनि दिन्छ ।सबै स्वतन्त्रताको जननी नै अभिव्यक्तिको स्वतन्त्रता हो । जहाँ विचारको स्वतन्त्र विनिमय हुँदैन, त्यहाँ अरु कुनै स्वतन्त्रताको पनि सुरक्षा हुँदैन ।

२०६२÷६३ को जनआन्दोलनपछि राजनीतिक व्यवस्था फेरिएको भएपनि राजनीतिक संस्कृति र लोकतान्त्रिक संस्कारको पूर्णत विकास भईसकेको देखिदैन । त्यसैले यस्तो अवस्थामा निर्वाध रुपमा प्रेस स्वतन्त्रताको ढुक्क भएर गर्ने वातावरण निर्माण भएको छैन । स्वतन्त्र प्रेस, अभिव्यक्ति स्वतन्त्रता, सूचना हक आदि अधिकारको साइनो सीधा राजनीतिक अधिकारसँग जोडिएको छ । राजनीतिक स्वतन्त्रता प्राप्त गर्न नेपालले पटकपटक संघर्ष गरेका छन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको चरणसम्म आइपुग्दा पटकपटक संघर्ष र बलिदानको गाथा लेखिइसकेको छ । पटकपटक आन्दोलन र उत्सर्गबाट लोकतन्त्र स्थापना गर्नुको अभीष्ट सबै तह र तप्का, पेसा र व्यवसायका मानिसहरूको व्यावसायिक अधिकारको सुनिश्चितता नै हो । त्यसमाथि स्वतन्त्र प्रेस त लोकतान्त्रिक व्यवस्थाको एउटा आधार स्तम्भ नै मानिन्छ ।‘स्वतन्त्रता’ भन्नु सामान्य अर्थमा कसैको हस्तक्षेप विना स्वतन्त्र कार्य गर्ने शक्ति एवं अधिकार हो । स्वतन्त्र भनेको नियन्त्रण, हस्तक्षेप वा अवरोधको अभाव हो ।

अभिव्यक्तिको स्वतन्त्रता लोकतन्त्रको “प्राणवायु” हो । लोकतन्त्रलाई जीवन्तता र गतिशीलता प्रदान गर्न वाक् वा विचारको स्वतन्त्रता बढि भन्दा बढि हुन आवश्य हुन्छ । अभिव्यक्ति स्वतन्त्रताले खुला समाजको विकासमा विभिन्न कोणबाट योगदान पु¥याइरहेको हुन्छ । समाचार र विचारको प्रवाह गर्ने स्वतन्त्रताले लोकतन्त्रमा नागरिकलाई सवल बनाउन योगदान पु¥याउँछ ।

यसले दास मनोवृत्तिको बदला स्वतन्त्र मस्तिष्कको निर्माण गर्दछ, विचार तथा तर्कलाई प्रोत्साहन दिन्छ र लोकतन्त्रको समुचित कार्यान्वयनमा सञ्चारले एउटा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । धेरैभन्दा धेरै शक्ति सञ्चय गर्न खोज्ने सरकारी प्रवृत्तिलाई उजागर गर्ने र स्वतन्त्र रुपमा टिप्पणी गर्ने अधिकारले गलत प्रवृत्तिमाथि नियन्त्रणको काम गर्छ । संवैधानिक मौलिक हकका रुपमा आम नागरिकलाई अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्राप्त छ । तर स्वतन्त्रताको प्रयोग गर्न नजान्दा कतिपय अवस्थामा हामि चुकेका पनि छौँ ।

आजको सूचना प्रविधीको युगले प्रत्येक ब्यक्तिलाई आफ्नै हातको एकै क्लिकले आफ्नो अभिव्यक्ति एकैपटक संसारभर पु¥याउने अवसर पनि दिएको छ । जसका कारण कुनै पनि घटना घट्ना साथ सामाजिक संजालमा तुरुन्तै आफ्नो विचार ब्यक्त गरिरहेका छौं । सामाजिक संजालको मार्फत ब्यक्त हुने अभिव्यक्ति देशका प्रमुख पदमा रहेका उच्च पदस्थ पदाधिकारीहरु माथी निकै असभ्य र अश्लील हुने गरेको पाइएका छन् ।

छिटो विचार ब्यक्त गर्ने र लोकप्रिय भईने बहानामा हामी अभिव्यक्ति अधिकारको उपयोग गर्दा कतै कर्तव्य र जिम्मेवारी त भुलिरहेका छैनौं ? बिचार अभिब्यक्त गर्दा हामीले जान अन्जानमा कतिपय अवस्थामा क्षणभरमै कसैको ब्यक्तिगत चरित्रमा हामिले कत्तिको ध्यान पु¥याउन सकेका छौँ ? त्यसको दुरगामी असर के हुन सक्छ ? यो पक्षमा पनि स्वंम सचेत हुन आवश्यक छ । लोकतान्त्रिक राज्यमा जनमतलाई परचालित गर्न छलफलको स्वतन्त्रता आवश्यक हुन्छ । लोकतान्त्रिक सरकार जनताको अभिमतमा अडेको हुन्छ, सार्वजनिक प्रश्नहरुमा तिनीहरुको विचारले स्वतन्त्र छलफल र विचारको स्वतन्त्र विनिमयमा महत्वपूर्ण भूमिका खेल्दछ ।

वास्तविक सूचना विना सरकार गतिशील हुन सक्दैन । विभिन्न विचारका फुलबारीमा आफुलाई मन पर्ने विचार छान्न पाउने वातावरण नै लोकतन्त्र हो, जुन उद्यानका माली हुन् बुद्धिजिवीहरु । विचारहरुको प्रचार प्रसार गर्ने माध्यम प्रेस, स्वतन्त्रता पक्षधर जनमतको संरक्षक हो । भनिन्छ, सार्वजनिक अधिकारी जनमतद्धारा नियन्त्रित हुनुपर्दछ, सार्वजनिक अधिकारीद्धारा जनमत नियन्त्रित हुनु हुँदैन । लोकतान्त्रिक समाजमा प्रेसले जनमतको सृजना गर्ने, एकीकृत गर्ने र प्रतिबन्धित गर्ने काममा ठूलो भूमिका खेल्दछ । जबसम्म जनमत स्वस्थ हुन्छ, तबसम्म सरकारी नीतिहरु गलत दिशातर्फ जान सक्दैनन् ।

वाक् तथा अभिव्यक्ति स्वतन्त्रता लोकतान्त्रिक समाजको आधारशिला हो । नागरिकका फरकफरक विचार हुने हुँदा यो स्वतन्त्रता केही असहजताका साथ आउँछ । चित्त नबुझ्दो वाक् स्वतन्त्रतालाई सामना गर्ने उत्कृष्ट तरिका दमन नभई वाक् स्वतन्त्रताको थप प्रयोग हो । लोकतन्त्रको संस्थागत सुदृढिकरणका निम्ति अभिव्यक्तिको स्वतन्त्रताको सुनिश्चिततता व्यवहारमै लागू हुनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्