मैत्रीय युगको आगमन




भूमिनन्द देवकोटा
मानव इतिहासलाई सरसर्ती अवलोकन गर्ने हो भने यस जगत्मा अनेक युग आएको र समाप्त भएको हामीले श्रवण गर्न र पढ्न पाएका छौं । ती युगको आ–आफ्नै स्वरुप रही आएको पाइन्छ, जस्तो कि मानव निर्मित कथ्यहरुअनुसार पौराणिक मान्यताले कालको अर्थात् समयको विभाजन सत्य, त्रेता, द्वापर र कलिमध्ये कुनै एकको समय वा अवधिलाई युग भनिएको पाइन्छ । त्यसअनुसार अहिले कलियुगले यो संसारको भोग गरेको भन्ने मान्यता रही आएको छ । तर वास्तविकतामा, समाजमा दिव्य महापुरुषहरुको अभ्युदय, उसको विचार, नीति, नियम, विधि तथा कर्मका कारण समाजलाई शान्ति, स्थायित्व, सहअस्तित्व र धार्मिकरुपमा मोक्ष एवम् मुक्तिको बाटोमा अगुवाइ गरेको समय वा कालभन्दा पनि मानव समाज र सम्पूर्ण जगत्को कल्याणलाई विशेषरुपमा युग भनिएको पाइन्छ ।

अहिले पनि तिनै अद्भूत दिव्य महापुरुषले अवलम्बन गरेको शान्ति, स्थायित्व, सहअस्तित्व र धार्मिकरुपमा मोक्ष र मुक्तिको बाटोमा अगुवाइ गरेको धार्मिक यात्रालाई नै युगको पहिचान दिने गरिएको हामी पाउँछौं । तदनुरुप हिन्दू परम्परा, बुद्ध परम्परा, क्रिश्चियन परम्परा, मुस्लिम परम्परा, जैन परम्परा आदिमा अहिलेको मानव समुदाय विभक्त भएर दौडिरहेको छ ।

यसरी विविधतापूर्ण प्रभावको कोलाहल अहिलेको युगहरुको युग कलियुग भएको बुभ्mन सकिन्छ । कोलाहलमय मानव समुदाय एक–आपसमा वैमनस्यता, शत्रुता, कलह, विग्रहको भूमरीमा जेलिँदै, सन्निकट विनाशको छायामा अनेकौं लडाइँ र विनाश बेहोर्दै, हृदयविदारक महाविनाश सहँदै यहाँसम्म आइपुगेको छ । यसै शृङ्खलाको महापीडा बेहोरिरहेको मानव, पशु, कीटपतंग र वनस्पति जगत्को मुक्तिका लागि नितान्त भिन्न सर्वमैत्रीय भाव, स्नेह, करुणा, कल्याणको बिल्कुलै नयाँ सोच–विचार, नीति–नियम, विधि–प्रक्रिया र अनुष्ठानहरुको माध्यमबाट स्वयंलाई जागृत हुन आह्वान गर्दै, एक–आपसमा जागृत गराउँदै ‘बोधि मार्ग दर्शन मैत्री धर्म’ को मैत्रीय युगको थालनी भएको छ ।

विभाजन, तिक्तता, वैमनस्यता, रिसराग, द्वेष, विनाश, विपन्नता, अशान्ति, रिक्तता आदि विषयको अन्त्यका खातिर यो नयाँ र अन्तिम युगको आगमन भएको हो ।
यो कुनै बुद्ध परम्पराको निरन्तरता नभएर एक नयाँ प्रारम्भ हो । किनकि यो विगतका कुनै पनि धार्मिक शृङ्खलाको कडी होइन । महासम्बोधि धर्म संघ गुरुज्यूको आगमनबाट एक नयाँ मानवको, एक नयाँ जगत्को, एक नयाँ सहअस्तित्वको, एक नयाँ शान्तिमय परम्पराको, एक नयाँ सर्वजगत्को गन्तव्यको, एक नयाँ युगको सूत्रपात भएको छ । जसको आधारशिला विगतका कुनै पनि दार्शनिक विचार पद्धतिसँग मेल खाँदैन भने कुनै पनि धर्मको कुनै पनि अंगसँग सरोकार राख्दैन । तसर्थ, महासम्बोधि धर्म संघ गुरुज्यू सर्व मैत्री धार्मिकताका प्रथम र अन्तिम महापुरुषका रुपमा, सर्वथा अलग र भिन्न महासम्बोधि रहस्यदर्शी हुनुहुन्छ । महासम्बोधि धर्म संघ गुरुज्यू एक बिल्कुलै नयाँ मानवीय अनुष्ठान, जो मानवीय तथा सर्व जगतीय सहअस्तित्व, सहजीवन र मोक्ष मुक्तिका अधिष्ठाता हुनुहुन्छ ।

कसरी नयाँ युग ? भन्ने उत्सुकता जाग्नु राम्रो विषय हो भने विनाआधार सामान्य नैतिक मूल्य र मान्यतालाई समेत ख्याल नराखेर महासम्बोधि धर्म संघ गुरुज्यूका बारेमा बर्गेल्ती अफवाह समाजमा गुन्जनु दुःखद छ नै तर भिल्लका देशमा मणि मिल्कन्छ भनेझैँ हामीले हाम्रो समीपमा पाएको यो सर्वजगत्को हित कल्याण मोक्ष मुक्तिको महान् प्रथम र अन्तिम अवसरलाई तिरस्कार गरिरहेका त छैनौं ? विषय सोचनीय छ । तसर्थ यस आलेखमा केही तथ्यहरु उजागर गर्ने उद्देश्यसहित प्रस्तुत गर्ने जमर्को गरेको छु ।

जति पनि जीवजन्तु छन्, तिनीहरु सबै आफ्नो भूमिका निर्वाह गर्नका निम्ति जन्म लिएका छन् । तिनीहरुलाई कुनै पनि बहानामा बध गर्न पाइँदैन । सर्वप्राणीको सह–बसोबास भत्काउँदा जगत्मा नकारात्मक प्रभाव पर्छ, जसको लेखाजोखा गर्न सकिँदैन । मानव जगत् बुद्धिशील भएकाले विवेकपूर्ण निर्णय लिनका निम्ति हत्याहिंसा त्याग्न विशेष आह्वान छ ।

प्रथमतः म, मेरो, आफ्नो भन्ने नितान्त वैयक्तिक अवधारणाबाट मानव समुदायलाई बाहिर निस्कन र विश्व भ्रातृत्वको महामैत्री, करुणा, दयाको महासागर बन्न आह्वान गर्दै सम्पूर्ण मानवसंसार, पशु, प्राणी, कीटपतङ्ग र वनस्पति जगत्मा समान सहजीवन र सहअस्तित्वको विकल्प नभएको स्पष्ट सन्देश दिनुभएको छ । मानिसको छोराछोरी जन्मन्छन् र उसले छोराछोरीलाई एउटा मानिसको व्यवहार नगरेर आआफूले जन्माएको भन्ने भ्रममा बाँच्ने गर्छ र छोराछोरीमाथि ज्यादाती गर्दछ, गुरु भन्नुहुन्छ– ‘छोराछोरी पनि तपाईंजस्तै पूर्ण मानव आत्मा हो, आज पो तपाईंको छोरा वा छोरी हुनुभएको छ, हिजो यसको ठीक उल्टो पनि त थियो होला, त्यसकारण आत्मा तपाईं र उहाँमा फरक छैन, आफूलाई जस्तै पूर्ण सम्मान र माया गर्नुस् ।’ उहाँ आफैं पनि सबैलाई समान आदरार्थी शब्दहरुले सम्बोधन गर्ने र प्रवचन दिने गर्नुहुन्छ । के यो सामान्य परिवर्तन मात्र हो कि नयाँ युगको आगमनको खुड्किलाहरु हो, हामीले बेलैमा बुझ्दा समजपूर्ण हुनेछ ।

अर्को कुरा, जति पनि वनस्पति र तिनमा लाग्ने फलआफूलहरु छन्, तिनीहरुको खास प्रयोगमा पनि स्वयम् गुरु (परमात्मा) सँग अनुमति लिएर मात्र उपयोग गर्न सकिने कुरा बचन भएको छ । त्यसमा पनि बिहीबार एउटा पनि बोटबिरुवाका कुनै उत्पादन छिन्न, बटुल्न नपाइने कुरा प्रस्ट गर्दै विनाकाम कसैले केही पनि नष्ट गर्न सक्नेछैन । वनस्पति जगत्सँगको यो नयाँ मानवीय परम्पराको थालनीको उद्घोषका साथ विशिष्ट परम्पराको थालनी भएकै हो ।

जति पनि जीवजन्तु छन्, तिनीहरु सबै आफ्नो भूमिका निर्वाह गर्नका निम्ति जन्म लिएका छन् । तिनीहरुलाई कुनै पनि बहानामा बध गर्न पाइँदैन । सर्वप्राणीको सह–बसोबास भत्काउँदा जगत्मा नकारात्मक प्रभाव पर्छ, जसको लेखाजोखा गर्न सकिँदैन । मानव जगत् बुद्धिशील भएकाले विवेकपूर्ण निर्णय लिनका निम्ति हत्याहिंसा त्याग्न विशेष आह्वान छ । यहाँ सहबसोबास वा सहअस्तित्वको बारेमा पूर्ण सचेत रहेर सर्वजगत् प्राणीको सर्वहितायको मूल सिद्धान्त अगाडि सारिएको छ । के यसो गर्नु आलोचनाको विषय हुन्छ ? कि शान्तिमय जगत् निर्माणको ढोका खुलेको छ । यसकारण, बुझ्नुहोस् महासम्बोधि धर्म संघ गुरुज्यू एक अलौकिक नयाँ युग हो ।

विगतमा मानिसले विभाजन गरेको तथाकथित जातजातिको पक्षमा नभएर मानव जाति, वनस्पति जाति, पशु जाति सबै प्राणीको सहजीवन÷सहअस्तित्वको कुरा औंल्याउँदै जातजातिको पहिचानवादीहरुलाई ठाडै अस्वीकार गर्नुहुन्छ । सृष्टिमा भेदभाव नरहेको प्रस्ट शब्दमा शंखघोष गर्नुभएको छ । क्रोध, लोभ, मोह, डाहा, स्वार्थ, आशक्ति, अहंकारजस्ता विषयबाट मुक्त रहनु र हत्या, हिंसा, द्वन्द्व, युद्धभन्दा कोसौं टाढा रहनु धर्म हो । भेदभाव, मतभेद, आरोप–प्रत्यारोप, शंका–उपशंका पनि धर्मभित्र पर्दैनन् । सकारात्मक भाव र कार्य, सद्भाव, प्रेम, सम्मान, विश्वास, मेलमिलाप, समानता, समझदारी अर्थात् सम्पूर्ण जगत् र प्राणीको हितमा श्रद्धाभक्ति र भरोसा नै धर्म हो । यसरी सबैमा समभाव र सहजीवन÷सहअस्तित्वलाई ग्रहण गर्न थालनी गर्नु एक नयाँ धर्म अर्थात् युगको थालनी भएको पुष्टि हुन्छ ।

विगतका कुनै पनि धर्म र तिनका गुरुहरु सबैलाई भ्रमित नहुन र अन्य मानव समुदायलाई भ्रमित नपार्न विनम्र सुसूचित गराउँदै, अबको युग मैत्रीय युग भएर अगाडि बढ्ने सुस्पष्ट गर्दै गुरुले सबैलाई अगुवाइ गर्ने अनुमतिसमेत प्रदान गर्नुभएको बताउनुभएको छ । धर्मले आत्माको पहिचान गर्छ र त्यस आत्माको चिर सुख र शान्तिका लागि मोक्ष र मुक्तिको मार्ग प्रशस्त गर्दछ । आत्मा नै छैन भन्नेहरुलाई धर्मको नाम लिनेसम्म पनि अधिकार नभएको कुरा अगाडि सार्नुभएको छ । शरीरमा आत्मा रहँदासम्म एक–डेढ क्विन्टलको शरीरलाई लिएर हिँड्छ, जब आत्मा बाहिरिन्छ त्यो शरीर कुहिनतिर लाग्छ । हिँड्न, डुल्न, बोल्न सक्तैन । त्यस शवलाई अरु आत्मा भएका शरीरहरुले व्यवस्थापन गरेर जलाउन वा अन्त्येष्टि गर्नुपर्दछ । यसरी आत्मालाई पहिचान गर्न नसक्ने तथाकथित धर्मगुरुहरुबाट मोक्ष र मुक्ति अर्थात् धर्मको सेतु निर्माण सम्भव नभएको औंल्याउनुभएको छ ।

महासम्बोधि धर्म संघ गुरुज्यूले कष्टपूर्ण महातपपश्चात् अत्यन्त न्यून उहाँकै बचनअनुसार एक प्रतिशतभन्दा पनि कम ज्ञान मानव समुदायको बीचमा लैजान हालसम्म सफलता पाउनमा सरकारले हलखोरिया तपोभूमिलाई धार्मिक वनका रुपमा निर्णय लिन ढिलाइ गर्नुले पनि भएको बताइएको छ । र, महासम्बोधि धर्म संघ गुरुज्यूका बारेमा बेला–बेला तुक नभएका बौलठ्ठी प्रचारहरुले पनि काम गरेको आभाष मिल्छ भने सरकारको मूकदर्शक उपस्थिति पनि जिम्मेवार छ । अहिले नेपालमा कुनै पनि गाउँ त्यस्तो छैन कि जहाँ गुरुका संघ, अनुयायी, भक्तहरु नहोऊन् । अनि संसारका १६३ मुलुकमा गुरुका संघ, अनुयायी, भक्तजन पैmलिएका छन् । ठूला–ठूला नेताहरु पनि गुरुका संघ, अनुयायी, भक्तहरु भएका छन् । यी सबै किन लागिरहेका छन् भने नितान्त नयाँ र अलौकिक शक्तिको पक्षपोषणमा सबैको ध्यान आकृष्ट हुनु स्वाभाविक हुन्छ नै ।

यहीँनेर नेपाल सरकारले गम्भीर हुन आवश्यक छ । यो विशाल समुदायको ध्यान गुरुका लागि हलखोरिया धार्मिक वन हुन्छ भने कहिलेसम्म पर्खने ? अन्यथा दबाबको बाध्यता उनीहरुले अँगाल्न नपरोस् भन्ने मनसाय रहेको समेत महसुस हुन्छ । यसरी, यो नितान्त नयाँ युगको आगमन सरकारका लागि र सर्वजगत्का लागि आवश्यक र अन्तिम विकल्प सबैका अगाडि हरक्षण भीमकाय स्वरुप धारण गर्दै हुर्किरहेको छ । मैत्रीय युगको आगमन भएको छ । ‘बोधि मार्ग दर्शन मैत्री धर्म’ को मैत्रीय युग अनेक जालझेल, कष्टहरुको बीचबाट पेचिलो उपस्थिति लिएर सबैमा आआफू र आआफूमा सबैलाई लिएर यात्रा सवार छ ।

 

 

प्रतिक्रिया दिनुहोस्