बम्जनप्रतिको आरोपमा छानबिन जरुरी



केही दिनअघिदेखि नेपालको प्रमुख पत्रिकाले ‘लिटिल बुद्ध’का नामले परिचित रामबहादुर बम्जनको आश्रमबाट बेपत्ता भएकाहरुको खोजमूलक खबर प्रकाशन गर्दै आएको छ । २०६२ सालमा बाराको रतनपुरी जंगलमा देखा परेका रहस्यमयी तपस्वी किशोर हुन् रामबहादुर बम्जन । महिनौँसम्म निराहार तपस्या गरेको र तपस्याबाटै दिव्यज्ञान प्राप्त भएको प्रचारले स्वदेशमात्रै होइन विश्वभर तरंग छायो । एकाएक रोमाञ्चक बनेको बम्जनको छवि र ख्यातिले रातारात उनलाई बुद्धकै अवतार मानियो । र, प्रचार गरियो लिटिल बुद्धका रुपमा ।

पछिल्लो समय भगवान्कै एक अवतार ठानिएका बम्जनमाथि रौतहटकै गंगामाया तामाङले गत भदौमा पत्रकार सम्मेलनमार्फत आफूमाथि बलात्कारको आरोप लगाइन् । उनले चार वर्षसम्म बम्जनको आश्रममा रहँदा आफूमाथि बलात्कार भएको र आश्रमभित्र थुप्रै आनीमाथि यौनशोषण र दुव्र्यवहार हुने गरेको दाबी गरिन् । गंगामायाले बम्जनमाथि आरोप लगाएर उजुरी गर्दा प्रहरीले चासो देखाएन ।

उनीमाथि आश्रममा चोरी र गुप्तचर गरेको आरोपमा निकालिएकोले उनले दुष्प्रचार गरेको आरोप बम्जन पक्षले लगाएको छ । बम्जनले उनीमाथि यौनशोषण गरे वा गरेनन्, यो ‘गम्भीर’ विषय हो । लिटिल बुद्ध कहलिएका तपस्वीमाथि आरोप लागिसकेपछि त्यसको सत्यतथ्य खोजी गर्नुचाहिँ राज्यको दायित्व हो ।

मानौँ, गंगामायाले प्रतिशोधले बम्जनमाथि मिथ्या आरोप लगाएकी हुन् । राज्यले गंगामायाको आरोपको सत्यता, बम्जनको चरित्र र आश्रममा हुने गरेका क्रियाकलापबारे खोजी गर्नुपर्छ कि पर्दैन ? बम्जनको आश्रमबाट सर्लाहीकी रीता बोट, नुवाकोटकी चिनीमाया (कर्मा) वाइबा, मकवानपुरका फूलमाया रूम्बा र सञ्चलाल रूम्बा विभिन्न समयमा हराएको उजुरी सम्बन्धित परिवारले प्रहरीमा दिइसकेका छन् । सिमराका अनुयायी सुरेश आले मगर पनि विगत तीन वर्षदेखि बेपत्ता छन् । चरित्रसँग जोडिएको आरोप असत्य हुन सक्ला, तर आश्रमबाट एकाएक हराएका तीन आनी, एक चेला र एक अनुयायी बेपत्ता हुनु के संयोगमात्रै हो ? कि यो पनि बम्जनबारे गरिएको दुष्प्रचार हो ? राज्यले यसबारे चासो देखाउनै पर्छ ।

शुक्रबार पनि बेपत्ताका परिवारले राजधानीमा पत्रकार सम्मेलन गरी बम्जनको आश्रममा वर्षौंदेखि बसेकाहरु कहिल्यै घर नफर्केको र खोजी गर्दा पनि नभेटिएकाले आफन्त खोजी गरिदिन सरकारसँग माग गरेका छन् । राज्यबाट खोजबिन नहुनु विडम्बनाको कुरा हो । तिनै गंगामाया जसले आफूमाथि बम्जनले यौनशोषण गरेको आरोप लगाउँदै आएकी छन्, उनैकी साहिँली बहिनी चिनीमाया ६ वर्षयता बेपत्ता छिन् ।

चिनीमाया अर्थात् कर्मालाई बम्जनले नै ‘चुन्मो’ नाम दिएका थिए । चुन्मोबारे बम्जन र आश्रम बेखबर हुनै सक्दैन । अहिले बेपत्ताका परिवारले तीन आनी र एक चेलाको लास वा सास चाहियो भनेर बम्जनविरुद्ध प्रहरीमा छुट्टाछुट्टै उजुरीसमेत दर्ता गरिसकेका छन् । शक्तिको आडमा मानिस अन्धो हुन्छ । भोगविलासले मानिसलाई भावी संकट बिर्साइदिन्छ । बम्जनको हकमा यही भएको हुनुपर्छ । बम्जन ‘लिटिल बुद्ध’ बनेपछि उनको साम्राज्य रतनपुरी हुँदै सर्लाही, सिन्धुली र सिन्धुपाल्चोकसम्म फैलियो । उनका हजारौँ अनुयायी बढे । अथाह रुपियाँ दान आयो । उनी एक आश्रमबाट अर्को आश्रम जाँदा पनि नियमित हेलिकप्टर चढ्ने हैसियत राख्ने भए ।

बाराको सरकारी आश्रमबाहेक अन्य तीन आश्रम उनको निजी सम्पत्ति हो । राज्यले असामान्य जीवनयापन गर्दै आएका बम्जनमाथि निगरानी बढाउन किन आवश्यक ठानेन ? तीन महिनाअगाडि उजुरी परिसकेपछि प्रहरीले आफ्नो सतर्कता बढाउन उपयुक्त देखेन । प्रहरीसमेत अनुयायी जसरी अन्धभक्त भइदिँदा बम्जनको ‘शंकास्पद’ गतिविधिमाथि छानबिन हुन सकेन । पीडित पक्षबाट आरोप लागिसकेपछि राज्यले यस विषयमा गम्भीर ढंगले अनुसन्धान गरी बेपत्ताहरुको स्थिति र बम्जनको वास्तविकता सार्वजनिक गर्नु अपरिहार्य छ ।
– सुरज कार्की, भक्तपुर ।

चिसोबाट बचाउन मानवीयता देखाऊ
पुसको शुरुवातसँगै चिसो अत्यधिक बढेको छ । चिसोले तराईका जिल्लामा शीतलहरले जनजीवन प्रभावित पारेको छ भने चिसोबाटै उत्पन्न रुघाखोकी र श्वासप्रश्वासका कारण अस्पतालहरुमा बिरामीको चाप बढेको छ । काठमाडौंमा माइनस हुन थालेको छ । चिसोले देशव्यापी असर पुग्दै गर्दा विकट पहाडी क्षेत्रमा चिसोको कहर निकै बढ्न थालेको छ ।

विपन्न समुदायले सधैँभरि अभावको जीवन बिताइरहेका बेला यतिखेर चिसोका कारण जनजीवन निकै कष्टकर बन्न पुगेको छ । उब्जनी भएको खाद्यान्नले ६ महिना पनि खान नपुग्ने अवस्थाका समुदायले जाडोको समयमा आगोको भरमा रात कटाउनु र्ने बाध्यता अद्यापि छ । न्यानो कपडाको अभावमा साना बालबालिकाहरु जाडोबाट बच्न आगोकै सहारा लिन बाध्य भइरहेका छन् । न्यानो कपडाको विकल्पमा आगोकै भरमा जाग्राम रहनुुपर्ने नियतिका कारण विपन्नका बालबालिकाहरु आगोको जोखिममा समेत पर्ने गरेका छन् । अभिभावकहरु बिहान–बेलुकीको गर्जो टार्न दिनहुँजसो ज्याला मजदुरी गर्नुपर्ने अवस्था छ । वर्षभरि नै मेलापातमा समय बिताउनुपर्ने भएकाले बालबालिकाले उचित स्याहार पाउन सकेका हुँदैनन् ।

विपन्नका लागि सरकार र गैरसरकारी संघसंस्थाहरुले जति नै सहयोग गरेको भनिए पनि उनीहरुको अवस्थामा आमूल परिवर्तन आउन सकेको पाइँदैन । उनीहरुको जीवनशैलीमा परिवर्तन नआउनु त परको कुरा, अहिले चिसोको कहरबाट कसरी बच्ने भन्ने विषय नै महत्वपूर्ण भएको छ । चिसोको समयमा खालि खुट्टा हिँड्नुपर्ने र शरीरमा एकसरो कपडासमेत लगाउन नसक्ने दयनीय अवस्था छ । चिसो बढेसँगै विपन्नका बस्तीमा बिरामी परेर उपचार पाउन नसकेका र जाडोमा कठ्यांग्रिएर बस्नुपरेका कैयौँ बालबालिका सहयोगको पर्खाइमा छन् । विपन्न हुनु अभिशाप होइन, तर उनीहरु राज्यका हरेक सुविधाबाट वञ्चित हुनुचाहिँ विडम्बनाको विषय मान्नुपर्छ ।

विपन्नका नाममा राजनीति गर्ने राजनीतिक दलहरु र चेपाङकै नाम भजाएर विकासेखेती गर्ने गैरसरकारी संस्थाले अहिले के गरिरहेका छन् ? चेपाङको नाममा कमाउने धन्दा बनाएकाहरुलाई अलिकति पनि पीडाबोध हुन्छ भने चिसोको कहरबाट उन्मुक्ति दिनुपर्छ । मनकारी व्यक्ति तथा सामाजिक संघसंस्थाले न्यानो लुगा वितरण गरेर मानवीयता देखाउनुपर्छ । र, सरकारले विपन्न बस्तीमा भौतिक विकासभन्दा पहिले नागरिकलाई चिसोबाट बचाउने काम गर्नु अतिआवश्यक देखिन्छ । यस विषयमा ध्यान जाओस् ।
– सुनिक मोक्तान, ललितपुर ।

प्रतिक्रिया दिनुहोस्