पुरस्कार, माला र दोसल्ला



दीपक खनाल,
सानामा कापी (नोटबुक) र सिसा (कलम) पाउँदा फुरुङ्ग हुन्थ्यो मन । एसएलसी पास हुँदासम्म कहिल्यै हात रित्तो भएन पुरस्कारले । सधैँ पहिला हुने भएकाले पुरस्कार मिल्थ्यो । ‘फस्ट ब्याय’ भएकाले ७ देखि दश कक्षासम्म त बलराम पन्त छात्रवृत्तिमा पढेको । घरबाट फि ल्याउनै परेन ।

पुरस्कार पाउँदा यति उमङ्ग, जोश, जाँगर, हौसला, इख पलाउँथ्यो कि कहिल्यै दोस्रा हुन्न ! यसरी बुझेको हो पुरस्कारलाई । अहिलेको बुझाई पनि पूर्ववत्जस्तै नै हो । तर जीवनयात्राका क्रममा एउटै वस्तुलाई फरक–फरक रूपमा बुझ्न पर्दाेरहेछ । विभिन्न वस्तुजस्तै पुरस्कारका पनि थरिथरि रुपरंग हुँदोरहेछ । स्वार्थी व्यक्ति र स्वार्थ–समूहहरूले यसलाई आ–आफ्नै अनुकूलतामा प्रयोग गर्दारहेछन् ।

पुरस्कारको प्रसङ्ग आयो कि मथिङ्गगलको ठेकीमा ‘पुरस्कारकै मोदानी’ घार्घुर्–घार्घुर् हुनथाल्छ । केही वर्षअघिको यही पंक्तिकारले लेखेको कविताले प्याट्प्याट् प्याट्प्याट् पिटिरहन्छ मानसपटलमा ।
हुन त
तपाईँलाई पुरस्कार मिल्नुअघि नै
भट्टीभट्टीमा
‘रेडलाइट एरिया’मा
‘बलराम’को भैँसी गोठमा
‘सुन्तली’को चिया पसलमा
पुलिस ठानामा
सेकुवा कर्नरमा
तास हाउसमा
अनि
रिसोर्टहरूमा
तपाईलाई नै पुरस्कार मिल्ने ठूलो चर्चा थियो ।
मिडियामा समाचार प्रवाह हुनुअगाडि नै
‘समाचार’ बनेर भित्रभित्रै चर्चित भइसक्नुभएको थियो तपाईँ ।
भर्खरै सिंहदरबारअघि रामशाहपथमा बाटो काट्दाकाट्दै
ट्राफिक महोदयले
हालसालै आयत गरिएको मापसे मात्रा जाँचक यन्त्रले
तपाईँको भाग्यको मात्रा उच्च देखाएको मलाई बताएका थिए ।
किनकि तपाई गुरु एकलव्यको भक्तिमा लिन हुनुहुन्थ्यो
औँला काटेर दक्षिणा दिन तल्लीन हुनुहुन्थ्यो
बजारमा खूब चर्चा हुन्छ तपाईँकै
क्षमता त तपाईँको जस्तो हुनुपर्छ
जस्तो कि
हजामले भन्दा छिटो छिटो कैँची चलाउन जान्नुहुन्छ ।
प्रहरीले भन्दा छिटोछिटो प्रमाण नष्ट गर्न सिपालु हुनुुहुन्छ ।
स्वामीभक्त त तपाईँलाई पो मान्नुपर्छ ।
किनकि
अतिथि सत्कार गर्न अत्यन्तै सक्नुहुन्छ
जाबो एक–डेढ लाख कुन ठूलो कुरा हो र तापाईँका लागि ?
दिउँसो स्वामीसित लिनुहुन्छ
साँझ परेपछि स्वामीलाई नै फिर्ता दिनुहुन्छ
मरीलानु के नै छ र ? एकबारको जिन्दगीमा
खानुहुन्छ /खुवाउनुहुन्छ
पिउनुहुन्छ/पियाउनुहुन्छ ।
बलरामले झैँ गोठभरि भँैसी पाल्नुहुन्छ ।
खाँटी दूधमा पानी हालेर
घीउ संगाल्नुहुन्छ

‘थिङ्कट्याङ्क’ स्वामीको ‘ब्रेन’मा पालिस गर्नुहुन्छ
जीउमा मालिस गर्नुहुन्छ
त्यसैले
अग्रीम बधाई, तपाईँलाई !
हेर्दै जानुहोला
यो अभियान जारी रहेसम्म
प्रत्येक साल तपाईँ नै पुरस्कृत हुनुहुन्छ । (पुरस्कार मिलेछ, बधाई !, २०७१/०५/२७)

यस्तै छ हजूर यहाँको चलन लोकतान्त्रिक गणतन्त्रसम्म । सायद यो पृथ्वी र मान्छे रहेसम्म यस्तै हुन्छ होला । बुझेर ल्याउँदा पुरस्कार दिनुका दुईवटा अर्थ हुँदोरहेछन् ः एउटा उर्जा, प्रोत्साहन भर्ने र अर्काे चाकडी गर्ने । समाजवाद–उन्मुख गणतन्त्रलाई ‘चाकडीतन्त्र’को माखेसाङ्गोले बाँधेकै छ ।

त्यसैले चाकडीतन्त्रका पूजारीहरूलाई कुनै पुरस्कार÷पदक, ताम्रपत्र पाउन, माला लाउन र दोसल्ला ओढ्न गाह्रै छैन । गाह्रो तिनीहरूलाई छ, जसले राष्ट्र र जनताका लागि जीवनभरि त्याग गरे पनि कसैको जीऊमा घ्यू लगाउँदैनन् । पुरस्कारको बेथिति, विकृति संघदेखि भूईँ तहसम्म छ । पुरस्कार लिने र दिने सबै इमान्दार छैनन् । यहाँ भने पत्रकारिता क्षेत्रको पुरस्कारको चर्चा गरिएको छ । पत्रकारिता क्षेत्र झन् त्यसबाट ग्रसित भइसकेको छ । अपवादबाहेक चाकडी नगरी, विन्तीपत्र नहाली साधनारत, त्यागी मानिस पुरस्कृत हुने जमाना होइन योे । चाकडीतन्त्रको आँगनमा नाच्न जाने गैरपत्रकार पनि पुरस्कृत हुन्छ । समाचार नखोजी फोरम मात्रै चलाउने पत्रकार पार्टी र तिनका सङ्गठनको दैलोमा चाहारेपछि पुरस्कृत हुन्छ ।

देशभर पत्रकारितासम्बन्धी धेरै पुरस्कार खोलिएका छन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयभित्रका संस्थाका समेत आ–आफ्नै पुरस्कार छन् । राज्यको अनुदान खाने संस्थाहरूले समानान्तर पुरस्कार स्थापना गर्न नहुने हो । खोल्नैपर्ने भए एउटा–दुइटा ऐतिहासिक पुरस्कार खोले पुग्ने हो ।

तर कुनै मापदण्ड छैन यहाँ । पुरस्कार सरकारी र गैरसरकारी क्षेत्रले नै दिनेगरेको पाइन्छ । अनेक दिवसमा बाँडिने राष्ट्रिय पुरस्कार र पदकहरू समेत पारदर्शी र विवादमुक्त छैनन् । धेरै बेथिति छ । छनोट प्रक्रिया पूर्वाग्रही छ । शक्तिकेन्द्रका नजिक हुनेले पाउँछन्, नहुनेले पाउँदैन । निजी क्षेत्र र व्यक्तिले दिने पुरस्कार त झन् एकखालको नाफाघाटाको व्यवसाय रहेछ । त्यसैले बाँड्दा फाइदा÷बेफाइदा, जोड–घटाऊ हेरिदोँरहेछ ।

पहिले नै ब्यालेन्स सीट निकालिँदोरहेछ । कसैकसैका लागि ‘लेनदेन’ पो रहेछ । पुरस्कार खोल्ने संस्था वा व्यक्तिले त्यस्तै पात्र छान्दोरहेछ ः जसलाई पुरस्कार दिँदा ऊ र उसको संस्थाको विज्ञापन हुन्छ । संस्थाको ‘ब्राण्ड–भाउ’ बढ्छ । यसमा ग्ल्यामर र चाकडी पनि मिसिँदोरहेछ । पत्रकार महासंघमा सहसचिव र सचिव हुँदाताकाको कुरा हो, साथीहरूले पटक–पटक पुरस्कृत भएका ग्ल्यामरवाला र शक्तिकेन्द्रका पहुँचवाला आधी पत्रकार आधी अलपत्रकार अनि ९० प्रतिशत नेता १० प्रतिशत मात्र पत्रकार भएकाकै नाम ल्याए । फलानो–फलानो श्रमजीवीलाई दिऊन् भन्दा कुरै सुनेनन् ।

किनकि त्यहाँ अनेकाखालका स्वार्थहरू जोडिएका थिए । कोही–कोही चुनाव, भेला, सभा, आमसभालाई चन्दा उठाउने मौका बनाएझैँ पुरस्कार स्थापना र वितरणलाई त्यस्तै अवसर बनाउँदारहेछन् । गोरा र चिल्ला गालामा माला लगाउने, पुरस्कार दिने, सम्मान गर्ने, दोसल्ला ओढाउने नाममा वैधानिक ‘फिरौती’ उठाउन पाइँदोरहेछ ।

विचराहरूलाई के भन्ने भन्न पनि, जसको दाल त्यसरी नै गल्दोरहेछ, घरको चुलो त्यसैगरी बल्दोरहेछ । कोही–कोही धन भा’का प्रचारका लोभी हुँदारहेछन्, तिनीहरू त्यस्ता व्यक्ति वा समूहलाई आफैँ खर्चपर्च दिएर आफैँलाई पुरस्कृत गर्न र दोसल्ला ओढाउन लगाउँदारहेछन् । कतिपय राजनीतिक पार्टी र तिनका भातृ संगठनले समेत पुरस्कार खोलेका छन् । तिनले आफ्नै सङ्गठन, त्यसमा पनि आफ्नै गुटका, मन परेका, चाकडीवाजलाई नै पुरस्कृत गर्ने गरेका छन् ।

पुरस्कार मानिसको योगदानलाई हेरेर दिने हो । कतिपय भर्खर सेवामा लागेकालाई थप उर्जा दिन र प्रोत्साहन बढाउन दिइन्छ । तर स्वाभिमानी मान्छे पुरस्कारका लागि हात थाप्न जादँैन । दिनेले आफैँ मूल्याङ्कन गरेर दिनुपर्छ । यसो हुँदा मात्र पुरस्कारको गरिमा बढ्छ ।

पुरस्कार लिने र दिनेलाई नै सन्तुष्टी मिल्छ । नाता, चाकडी, विन्तीपत्र हालेर दिइने पुरस्कारको कुनै अर्थ छैन, यो क्षणिक आत्मरति हो । तर यो भ्रम पनि छर्न हुन्न कि पुरस्कार पाउनेहरू एक नम्बर र अरु सबै दुई नम्बरका नागरिक हुन् । अहिले अरु भन्दा पनि पत्रकारले दिनहुँ पुरस्कार पाएको, फूलमाया लाएको, दोसल्ला ओढेको देखिन्छ । पत्रकारलाई किन पुरस्कृत गरिन्छ, किन माला लगाइन्छ वा किन दोसल्ला ओढाइन्छ भन्ने प्रश्नको उत्तर असजिलो छैन । ‘ओपन सेक्रेट’ नै छ ः पत्रकारले आफ्नोबारे सकारात्मक मात्रै लेखिदेओस्, बोलिदेओस्, देखाइदेओस्, आलोच्य समाचारको ‘हत्या’ गरिदेओस् । विभिन्न बिटका नाममा स्थापित पुरस्कार आलोचनात्मक र निडर पत्रकारका कलम निस्तेज पार्ने उद्देश्यले नै बाँडिन्छ ।

पत्रकार यस्तो प्रलोभनबाट मुक्त नभएसम्म स्वतन्त्र, निष्पक्ष र व्यावसायिक पत्रकारिता मर्दछ । यद्यपि अनुसन्धानमूलक खोजी पत्रकारिता गरेका, ‘अक्षरकै गिटी’ फुटाएर लामो समय बिताएका स्वाभिमानी र इमान्दार पत्रकारलाई दिइने एकाध स्वस्थ पुरस्कारलाई राम्रै आँखाले हेर्नुपर्दछ । सलाम गर्नुपर्दछ यसरी नै,
तर
भैँसी नपाली
घीउ नसंगाली
कसैको कोटामा नपरी
बिन्तीपत्रै नहाली
टेन्डरै नपारी
समाचार पढेर वा सुनेर मात्र
आफू पुरस्कृत भएको थाहा पाउनुभएका÷पाउनुहुने
‘अपवादी’ महानुभावहरूलाई साँच्चै हार्दिक बधाई !! (उही..)
काठमाडौँ, २०७५/०९/१५
(प्रेस काउन्सिल नेपालमा सम्बद्ध खनाल स्वतन्त्र पत्रकार समेत हुन् ।)

प्रतिक्रिया दिनुहोस्