रोगग्रस्त मानवप्रति करुणा जागृत




पतञ्जलि–१४ः प्रा.डा. विष्णुराज आत्रेयको ऐतिहासिक उपन्यासको धारावाहिक शृङ्खला

ब्रह्माका मानसपुत्र महर्षि कश्यप पर्वतप्रान्तमा तपोमय जीवनयापन गर्दथे। यिनको विवाह दक्ष प्रजापतिकी अत्यन्त रूपवती कन्या कद्रूसँग सम्पन्न भयो। तिनका सर्पको रूप धारण गरेका एक हजार छोराहरू भए। नग अर्थात् पर्वतमा जन्मेका हुनाले यिनीहरूको सामूहिक नाउँ नाग रहन गयो। ती नागहरूका राजा यिनै शेषनाग चुनिए।

सृष्टिको प्रारम्भमा नारायणका नाभीबाट निस्केको कमलमा बसेका कमलासन ब्रह्माका मुखबाट चारै वेदको प्रदुर्भाव भयो। आफ्ना फणाहरूलाई छाताजस्तै फैलाई नारायणको सेवामा बसेका शेषनागले ब्रह्माजीको वेदपारायण सुनेर साङ्गोपाङ्ग वेद कण्ठस्थ गर्ने अवसर पाएका थिए। यसैबीच हयग्रीव नामक दैत्यले त्यो वेद चोरेर पाताल पुर्यायो। त्रैलोक्यमा यस कुराको हल्लिखल्ली मच्चियो। अनि भगवान् नारायणले मत्स्यावतार लिएर पाताल पुगी हयग्रीव दैत्यलाई मारी वेदको उद्धार गरे।

भगवान् विष्णुले मत्स्यावतार लिएको बेला शेषनागले त्यहाँ बसेको बस्यै माथि भनेजस्तै ऋक्, यजुष् र सामका साथै अथर्ववेद र त्यसअन्तर्गत आयुर्वेदको पनि ज्ञान प्राप्त गरेका थिए।
त्यसै समय भगवान् नारायणको अन्तःप्रेरणाले एकपल्ट शेषनाग लोकको चर्चो बुभ्mन चरका रूपमा संसार भ्रमणमा निस्के। त्यहाँ उनले मानवजातिलाई विविध रोगहरूले ग्रस्त भएको देखे। उनका हृदयमा करुणा जाग्रत भयो। त्यतिखेर उनका मनमा आफूले पढे–जानेको आयुर्वेदका आधारमा एउटा ग्रन्थ तयार पारेर त्यसैबाट लोकको सेवा गर्छु भन्ने भावना आएको थियो। तर यथाशीघ्र यो भावना पूरा गर्ने अवसर मिलेन। उनी यो अवसरको प्रतीक्षामा रहे।
क्रमशः

प्रतिक्रिया दिनुहोस्