आगलागीको बढ्दो प्रकोप



हिउँदको शुरूवातसँगै मुलुकभर आगलागीका घटना वृद्धि हुन थालेका छन्। प्रायः ग्रामीण बस्ती र वनक्षेत्रमा आगलागीका घटना बढी हुने गरेको पाइन्छ। शहरी क्षेत्रमा पनि प्रायः विद्युतीय सामग्री एवम् खाना पकाउने ग्यासको प्रयोगमा हुने हेलचेक्र्याइँबाट आगलागी हुने गरेको छ। जुन कारणबाट आगलागी शुरू भए पनि सुक्खा मौसममा यसले झनै भयावह रूप लिन पुग्छ। आगलागीका घटना न्यूनीकरण गर्ने पूर्वयोजना नअपनाउँदा यसबाट धेरै क्षति व्यहोर्नुपरेको छ। त्यसैले आगलागी हुन नदिने पूर्वयोजना अवलम्बन गर्नुका साथै आगलागी भइहाल्यो भने पनि नियन्त्रणका लागि तयारी अवस्थामा रहनु अपरिहार्य छ।

हिजो मात्रै दाङको घोराही उपमहानगरपालिका–३ गोग्लीस्थित सगरमाथा सिमेन्ट प्रा।लि।मा आगलागी भएको समाचार छ। बिजुलीको तार सर्ट भई आगलागी भएलगत्तै उद्धारका लागि खटिएको १५ जनाको प्रहरी टोलीसहित स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइयो। यसै गरी बुधबार बिहानको राति रामेछाप बजारमा आगलागी हुँदा पोलिथिन पाइपसहित लाखौंको क्षति भएको जनाइएको छ। उता केही दिनअघि प्युठान–२, एक्लेवरस्थित साझा स्टेस्नरी पसलमा आगलागी हुँदा १० लाख रुपियाँबराबरको क्षति भएको छ। आगलागीबाट पुस्तक, कापी, कलम, फोटोकपी मेसिनलगायतका सामग्री जलेर नष्ट भएका थिए। यस्तै गोरखा चुमनुब्री–१, सामागाउँको वीरेन्द्र ताल क्षेत्रको जंगलमा आगलागी हुँदा पाँचवटा कस्तुरी मृग जलेको अवस्थामा फेला परेको जनाइएको छ। आगोका कारण बहुमूल्य जडीबुटीसमेत नष्ट भएका छन्। वनक्षेत्रको आगलागीले वन पैदावरसँगै बहुमूल्य जडीबुटी र पशुपक्षीहरूमा समेत ठूलो असर पर्ने हुन्छ। यसमा राज्य सचेत हुनै पर्छ।

गत आइतबार कालिकोटमा भीषण आगलागी हुँदा पलाता गाउँपालिका–१ स्थित खाडागाउँ नै पूरै जलेर नष्ट भएको छ। रातिबाट शुरू भएको आगलागी बिहान साढे ९ बजेतिर मात्र नियन्त्रणमा आएको थियो। सबै घर फुसको भएको र वरपर पानीको स्रोत नभएको हुँदा आगो नियन्त्रणमा लिन कठिनाइ भएको बताइएको छ। राति नै पचाल झरना गाउँपालिकाको प्रहरी चौकीबाट १६ जनाको प्रहरी टोली घटना स्थलतर्फ गए पनि हिँडेर जानुपर्ने हुँदा बिहान मात्र घटनास्थल पुगेकोले समयमै आगलागी नियन्त्रण हुन नसकेको बताइन्छ।

यी घटना त उदाहरण मात्र हुन्। यस्ता घटना हिउँदको याममा प्रशस्त हुने गरेको गतवर्षहरूको अनुभव छ। विद्युतीय सामग्री सही तरिकाले प्रयोग नगर्दा, बिजुलीको वायरिङ राम्रोसँग नहुँदा, उच्च गुणस्तरका विद्युतीय सामग्री नहुँदा विद्युत सर्ट भई आगलागीका घटना बढेको पाइन्छ। त्यस्तै आवश्यक साधन–स्रोत र चेतनाको अभावले समयमै आगो नियन्त्रण गर्न नसकेको देखिन्छ। त्यसैले आगलागी न्यूनीकरण र नियन्त्रणका लागि समयमै स्रोत–साधनको व्यवस्थापनसहित सतर्कता अपनाउनु जरुरी छ। यसका लागि सरकारले चासो दिनु अपरिहार्य छ।

प्रतिक्रिया दिनुहोस्