कहिले बन्छ त्रीदेशीय बाग्दुला–भिमगिठ सडक ?



सलिम अन्सारी प्यूठान।

जिल्लाको समग्र विकासमा रणनैतिक महत्व बोकेको मानिएको बाग्दुला – भिमगिठे सडकको निर्माण कार्य अझै शुरु हुन सकेको छैन।

भारतीय एक्जिम बैंकको ऋण सहयोगमा निर्माण हुन लागेको उक्त आयोजना निर्माणका लागि दशै अगाडि निर्माण कम्पनी छनौट गर्ने भनिए पनि अझैसम्म सो कार्य हुन नसक्दा आयोजनाको निर्माण कार्य शुरु हुन नसकेको हो।

सडक विभाग सडक सुधार आयोजना बत्तीस पुतली काठमाण्डौका संयोजक सुशिल बाबु ढकालले टेण्डर गरेका निर्माण कम्पनीमध्ये प्रस्तावित निर्माण कम्पनीको बारेमा उजुरी परेपछि भारतीय पक्षले सो बारे स्पष्टिकरण मागेको बताए। उनका अनुसार स्पष्टिकरण भारतीय पक्षलाई पठाइसकिएको छ।

निर्माण कम्पनी छनौट प्रक्रियाको यो नियमित चरण हो। कहिलेकाही यस्ता समस्या आउने गर्दछन्। हामीले भारतीय पक्षलाई आश्वस्त पार्ने गरी स्पष्टिकरण पठाइसकेका छौं। आशा गरौं, चाडै भारतीय पक्षले निर्णय दिने छ।

सडक विभाग सडक सुधार आयोजना मार्फत करिव तीन अर्वको लागतमा २ लेनको सडक निर्माण गर्ने योजना रहेको छ।

आयोजना निर्माणका लागि भारतीय एक्जिम बैंकको ऋण सहयोग रहने भएको कारण कम्पनी छनौट प्रक्रियामा भारतको चासो रहने गरेको बताइन्छ।

निर्माण कम्पनी छनौट नभइसकेकोले आयोजना प्रमुख छनौट कार्य अझै हुन सकेको छैन। आयोजनास्थलमा निर्माण कम्पनी र परामर्शदाताको कार्यालय स्थापना गरी निर्माण कार्य अगाडि बढाइने बताइएको छ।

३ वर्ष अगाडि बिस्तृत अध्ययन गरिएको थियो। आयोजना निर्माण सम्पन्न भएपछि करिव ११ हजार परिवारबाट आयोजनाबाट लाभान्वित हुने बताइन्छ।

बाग्दुलादेखि बाग्लुङकोिि भमगिठे सम्मको दुरी ७३ किलोभिटर रहेको छ।

जिल्लाको विकट मानिने गौमुखी गाउँपालिकाका वासिन्दा यो योजनाबाट प्रत्यक्ष लाभान्वित हुने स्थानीय बताउँछन्।

बाग्दुलादेखि बाग्लुङको सिमासम्म प्यूठान नगरपालिका हुँदै झिमरुक र गौमुखी गाउँपालिकाका विभिन्न वडाहरु समेटिन्छ्न।

यो सडक निर्माण सम्पन्न भएमा प्यूठान गुल्मी, रौल्पावासीलाई पोखरा तथा सोही सडकमार्फत काठमाण्डौसम्म पुग्न समेत बैकल्पिक मार्ग खुल्ेन छ।

दाङको कोइलावासदेखि भालुवाङ–बाग्दुला–भिमगिठे–मुस्ताङ हुँदै चिन जोड्न समेत सकिने बताइन्छ। धार्मिक हिसावले पनि भारतीय पर्यटक स्वर्गद्धारी हुँदै मुक्तिनाथसम्म पुग्नको लागि यो मार्ग सहज हुनेछ।

प्रतिक्रिया दिनुहोस्