सामाजिक हिंसाका कारण पछाडी पर्दै महिला



राम धामी, डडेल्धुरा ।
अछाम रिडीकोटकी १६ बर्षीया शर्मिला भुलको दुई वर्षअघि छाउपडी गोठमै मृत्यु भयो । गोठभित्र आगो बालेर सुतेकी शर्मिला बिहान मृत फेला परेकी थिइन् । गोठभित्र धुवाँले निसास्सिएर मृत्यु भएको गाउँलेले अनुमान गरे पनि उनको पोष्टमार्टम गरिएन् । त्यस्तै बाजुराको कोटिला खोयाकी १७ बर्षीया भावना मल्लको पनि महिनावारी भएकै समयमा मृत्यु भयो । उनी पनि छाउगोठमै मृत फेला परिन् ।

राति खाना खाएर सुतेकी भावना बिहान मृत फेला परेकी हुन् । उनको पनि पोष्टमार्टमबिना दाहसंस्कार गरिएको थियो । महिनावारी भएका महिलालाई छुनु हुँदैन र उनीहरूलाई छोएमा नर्क गइन्छ भन्ने गलत मानसिकताका कारण पनि मृतकको पोष्टमार्टम नगरिएको हो । यी त प्रतिनिधिमूलक घटनामात्रै हुन् । यिनै सामाजिक कुप्रथाका कारण सुदूरपश्चिममा महिला सामाजिक हिंसामा पिल्सिन बाध्य छन् ।

महिला सामाजिक हिंसाकै कारण मृत्युको मुखमा धकेलिने गरेका छन् । सामाजिक कुसंस्कारकै कारण महिला समाजका हरेक गतिविधिमा अगाडि जान नसक्नुका साथै अकालमै मृत्युको मुखमा पुग्न बाध्य हुने गरेको महिला सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको एकीकृत विकास समाज डडेल्धुराकी कार्यकारी निर्देशक पदमा गुरुङ बताउँछिन् । ‘लैंगिक रूपमा पनि देशको अन्य क्षेत्रभन्दा सुदूरपश्चिममा पुरुष सरह महिलाले सामाजिक कार्यक्रममा खुलेर सहभागी हुन पाउँदैनन,’ उनले भनिन, ‘जसले गर्दा महिलाले आफ्नो समस्या खुलेर राख्न पाउँदैनन् ।’

सामाजिक परिबन्धका कारण महिनावारी भएका समयमा गोठभित्रै बस्नुपर्ने बाध्यताले धेरैको अकालमै ज्यान पनि जाने गरेको उनले बताइन् । ‘महिनावारी भएको समयमा गोठभित्र बस्दा सर्प, कीरा, बाघ भालुको आक्रमणबाट महिलाको ज्यान गएका तमामौ घटना घटेका छन,’ उनले भनिन् । छाउपडी कुप्रथा बढि अंगाल्ने अछाम जिल्लामा पछिल्लो तीन बर्षको अवधीमा आठ जना महिला तथा किशोरीको छाउपडी गोठमै बिभिन्न कारणले मृत्यु भएको छ ।

बिभिन्न संघसंस्थाले छाउपडी प्रथा निवारणका लागि कार्यक्रम सञ्चालन गरे पनि गाउँघरमा व्याप्त सामाजिक कुप्रथाका कारण घटना न्युनीकरण हुन नसकेको महिला मुक्ती समाज डडेल्धुराकी पुर्व अध्यक्ष बिमला पन्त बताउछिन् । सामाजिक क्षेत्रका उच्च ओहदामा महिला पुग्न नसक्नुले कुसंस्कारमै पिल्सिनुपरेको उनी बताउँछन् । बाटोघाटो नजिक मन्दिर, देवालय हुँदा पनि महिनावारी भएका महिलाले बाटो काटेर हिँड्नुपर्ने बाध्यता ग्रामीण बस्तीमा कामयमै रहेको छ ।

बिभिन्न संघसंस्थाले जनचेतनाका कार्यक्रम लागू गरे पनि सामाजिक कुसंस्कारको प्रभावले महिलाहरू आफैं सामाजिक काममा, मेला जात्रा, विद्यालय जान नमान्ने गरेको सामाजिक कार्यकर्ताहरुको अनुभव छ । सामाजिक कुसंस्कारको अर्को रूप बोक्सी प्रथा पनि सुदूरपश्चिमका तराई क्षेत्रमा बढ्दो छ । बोक्सीकै आरोपमा कैलालीको बेलादेवीपुरमा २०६९ चैत २३ गते क्रुर यातनाको सिकार बनेकी राजकुमारी रानाको मानिसक समस्याकै कारण गत मंसिरमा मृत्यु भएको छ ।

कथित बोक्सीको आरोपमा स्थानीयले मलमूत्र खुवाएर राजकुमारीलाई निर्घात कुटपिट गरेका थिए । घटनापछि उनी समाजमा सहज घुममिल हुन डराउने तथा उनको पहिलेको भन्दा व्यवहार पनि परिवर्तन भएको थियो । त्यही घटनामा शारीरिक तथा मानसिक यातना पाएकी उनको चिन्ताले मृत्यु भएको उनका परिवारजन बताउँछन् । गतबर्ष मात्रै किशोरी राधा चौधरीलाई बोक्सीको आरोपमा भोलेबाबा भनिने स्थानीय झाक्रीले मरणासन्न हुनेगरि कुटपिट गरेका थिए ।

सामाजिक हिंसाका कारण समाजबाट तिरस्कृत हुनुपर्ने मानसिकताले पीडित महिलाले आत्महत्याको बाटो रोज्ने गरेको तथ्याङ्कले देखाउने गरेको छ । महिलाका प्रगतिका बाधक सामाजिक हिंसा नै प्रमुख कारण रहेको बताउँदै नेपाल महिला संघ डडेल्धुराकी अध्यक्ष कमला बिष्टले भनिन,‘ घरेलु हिंसाका घटनाका साथै बहुविवाह, बलात्कार, यौन हिंसा, मानव बेचविखन र सामाजिक हिंसा (बोक्सी, छाउपडी) महिला प्रगतिको बाधक हो ।’

पितृसत्तात्मक सोँच पनि महिला अगाडि बढ्न नदिने तगारो बनेको इन्सेक क्षेत्रीय कार्यालय धनगढीका कृष्ण बिक बताउँछन् । उनले भने, ‘बोक्सीको निहुँमा कुटपिटका साथै गाउँ निकाला गरिनु, महिनावारी भएपछि खुला रूपमा सामाजिक कार्यक्रम, मेलापर्व, विद्यालयमा जान नपाउँदा महिला तथा बालिकामा सामाजिक हिंसाको छाप पर्ने गरेको छ ।’ कानुनी अज्ञानताका कारण ग्रामीण भेगमा सामाजिक हिंसाका घटनामा वृद्धि भइरहेको अधिवक्ता नरेन्द्र रोकाया बताउँछन् ।

लैङ्गिकताका आधारमा कुनै किसिमको भेदभाव गरिनु हुँदैन भन्ने नयाँ संविधानमा उल्लेख गरिएको बताउँदै उनले भने, ‘नेपालको संविधान महिलामैत्री छ तर त्यो कार्यान्वय पक्ष फितलो हुँदा हिंसाका घटना बढ्ने गरेका छन् ।’ सुदूरपश्चिममा महिला मात्रै काममा जोतिने र पति जाँड राक्सीमै भुल्ने प्रमुख समस्या रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक डम्मरबहादुर केसी बताउछन ।

‘पत्नी काममा खटिने र पति फुर्सदिलो बन्नु पनि घरेलु हिंसाको एउटा प्रकार हो ।’ उनले भने । पुरुष र महिलालाई सँगै राखेर कानुनी ज्ञानका साथै सचेतना जगाउनु पर्ने उनले बताए । उनले भने, ‘महिलालाई महिला अधिकारका बारेमा जानकारी गराउनुका साथै कानुनी उपचार पाउने उपाय र स्थानका बारेमा बुझाउनु जरुरी छ ।’

महिला हिंसाका घटना हुने बित्तिकै गाउँघरमै मिलाउँदा पनि पीडकले प्रश्रय पाउने गरेको सरोकारवाला बताउँछन् । पीडकलाई उन्मुक्ति दिइँदा घटना दोहोरिने सम्भावना बढ्ने गरेको सामाजिक क्षेत्रमा कृयासिल महिलाहरु बताउछन । पीडक पक्ष चनाखो हुँदा महिला हिंसाका घटना दोहोरिने गरेको अधिकारकर्मी पम्फा रोक्का बताँउछिन् ।

सुदूरपश्चिममा अन्य अपराधिक कृयाकलाप भन्दा पनि महिलाजन्य हिंसाका घटना बढ्ने गरेका छन् । सामाजिक कुप्रथाका कारण महिला हिंसाका घटना घट्ने गरेको स्थानीय अगुवाहरु बताउँछन् । धार्मिक र सांस्कृतिक पक्षले पनि महिलाजन्य हिंसाका घटना घटाउन सहयोग पुग्ने गरेको महिला अधिकार रक्षक सञ्जाल डडेल्धुराकी अध्यक्ष सोनी भण्डारीले बताईन ।

महिलालाई शारीरिक र मानसिक मात्र नभइ श्रममा समेत विभेद हुने गरेको पाइएको छ । महिला र पुरुष मजदुरलाई ज्यालामा विभेद गरिँदा महिला मानसिक रूपमै कमजोर हुने गरेका छन् । श्रम विभेद पनि महिला प्रगतिको बाधक बनेको बताउँदै महिला उद्यमी मञ्च डडेल्धुकी अध्यक्ष मिना फुलाराले ज्यालामा गरिने विभेदले महिलालाई कमजोर देखाएको दाबी गरिन ।

कुटपिट, गालीगलौज, घर निकाला, बहुविवाह, बलात्कार, यौनजन्य हिंसा, मानव बेचविखनका साथै सामाजिक हिंसा (बोक्सी प्रथा, छाउपडी र देउकी) नै सुदूरपश्चिममा महिला प्रगतिको बाधक बनेको सामाजिक कार्यमा समेत कृयासिल महिला उद्यमी फुलाराको अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्