गायक खरेल एकल साँझमा



गायक दीपक खरेल एकल साँझमा प्रस्तुत हुने भएका छन्। भक्तपुर सांगीतिक समाजको आयोजनामा गायक खरेल दीपक खरेल साँझ २०७५ मा प्रस्तुत हुन लागेका हुन्।

कार्यक्रम आगामी पुस २८ गते भक्तपुरको इम्पेरियल बेनक्वेट, सल्लाघारिमा हुनेछ। कार्यक्रममा नेपाली सुगम संगीतमा गायक खरेलले आफ्ना चर्चित गीतमध्येबाट १५ गीत प्रत्यक्ष संगीतमा पस्किने त्यसबारे जानकारी दिन आयोजना गरिएकाशे पत्रकार सम्मेलनमा जनाइएको छ। द लिजेन्ड ब्यान्डले गायक खरेलको प्रस्तुतिमा साथ दिनेछ।

गत साल स्वरसम्राट् नारायणगोपालको सम्झनामा नारायणगोपाल स्मृति साँझ २०७४ को सफल आयोजना गरी हौसिएको समाजले यस्तै प्रकारको कार्यक्रम प्रत्येक वर्ष गर्ने उद्देश्यअनुरूप यसपालि यो कार्यक्रम गर्न लागेको समाजका अध्यक्ष प्रवीण शाहीले जानकारी गराए। गायक खरेलले पुरानालाई सम्मान र नयाँलाई प्रोत्साहन भन्ने समाजको अभियानलाई सहयोग गर्ने उद्देश्यले आफू एकल साँझमा प्रस्तुत हुन लागेको जानकारी गराए। समाजका सल्लाहकार गीतकार सुवासचन्द्र ढुंगेलले दीपक खरेलजस्तो कहलिएका गायकको सांगीतिक प्रस्तुतिले भक्तपुरको सांगीतिक विकासमा थप जोड मिल्ने र कार्यक्रमलाई सबैतिरबाट सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्