मनाङको जित क्रम जारी



नेपाल समाचारपत्र, काठमाडौं
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शीर्ष स्थान कब्जा गर्दै उपाधितिर अग्रसर मनाङ मस्र्याङदी क्लबको जितको क्रम जारी छ । मंगलबार एन्फा मैदानमा भएको खेलमा मनाङले ललितपुरको च्यासल युथ क्लबलाई ३–१ गोलअन्तरले पराजित गरेको हो । योसँगै टोलीले लगातार नवौं चरणको खेलमा जित हासिल गरेको छ । टोलीको जितमा आडिलाजा सोमिडेले पहिलो हाफमा गोल गर्दा दोस्रो हाफमा आफिज ओलावाले र विमल रानाले गोल थपेका थिए ।

शतप्रतिशत नतीजा निकाल्दै आएको मनाङको ९ खेलपछि २७ अंक भएको छ । साथै दोस्रो स्थानको संकटा क्लबमाथि टोलीको ३ अंक अग्रता कायमै रहेको छ । डिफेन्डिङ च्याम्पियन मनाङले बाँकी ४ खेल खेल्न बाँकीमा संकटा पनि एक प्रतिद्वन्द्वी रहेको छ । अन्य ३ प्रतिद्वन्द्वीमा पुलिस, फ्रेन्डस् र हिमालयन शेर्पा रहेका छन् ।

मनाङलाई सोमिडेले १६औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । उनले आफिजले दिएको पासमा क्लोज रेन्जबाट गोल गरेका थिए । ६४औं मिनेटमा गोल गर्न चुकेका आफिजले ७२औं मिनेटमा त्यसको भर्पाई गरे । उनले एकल प्रयासमा दर्शनीय गोल गरेका थिए । यस्तै विमलले ८७औं मिनेटमा गोल गर्दा मनाङको अग्रता ३–० भएको थियो । यद्दपि इन्जुरी समयमा च्यासलको तर्फबाट देवेन्द्र तामाङले पेनाल्टीमार्फत् एक गोल फर्कायो । त्यतिबेलासम्म ढिलो भइसकेको थियो ।

यसैगरी अर्को खेलमा एपीएफ क्लबले मच्छिन्द्र क्लबलाई ३–१ गोलअन्तरले हराउँदै ३ अंक जोडेर ९ खेलमा १३ अंक बनाएको छ । टोलीका लागि आशिष लामाले तेस्रो मिनेटमै गोल गरेर अग्रता दिलाए । १२औं मिनेटमा युवराज खड्काले गोल थपेपछि एपीएफ २–० को सुरक्षित स्थितिमा पुगेको थियो ।
एक गोल मच्छिन्द्रका लागि अलाबा आडेमोलाले ३३औं मिनेटमा फर्काए ।

यो मच्छिन्द्रको तर्फबाट जारी लिगमा भएको पहिलो गोल समेत थियो । रुपबहादुर लामाले ८९औं मिनेटमा एक गोल थपेर मच्छिन्द्रलाई हार बेहोर्न बाध्य तुल्याए । मच्छिन्द्रले नवौं चरणसम्म पनि जित हात पार्न सकेको छैन । जारी लिगमा एक जित पनि हात पार्न नसक्ने टोलीमा मच्छिन्द्र र एनआरटी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्