युवालाई उद्यमीसँगै स्वरोजगार बनाउने तयारी



काठमाडौं, (नेस)
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टले वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारमा काम गर्ने श्रमिकको हक अधिकारका लागि लड्न आफँ सधंै तयार रहेको बताउनुभएको छ ।

श्रमिकको अधिकारको लागि गरिएको सुधारको काम रोक्न खोज्ने कोही सफल नहुने भन्दै मन्त्री विष्टले परिआए श्रमिकको हकहितको लागि आफँ तोपसमेत बन्न तयार रहेको बताउनु भएको छ।

१८औं विश्व आप्रवासन दिवसका अवसरमा वैदेशिक रोजगार प्रवद्र्धन बोर्डले मंगलबार आयोजना गरेको ‘वैदेशिक रोजगारी अबको बाटो’ विषयक अन्तक्र्रियाया कार्यक्रममा बोल्दै मन्त्री विष्टले वैदेशिक रोजगारीको क्षेत्रमा थुप्रै सुधारको काम भइरहेको छ, ती कामलाई अवरोध गर्न दृश्य अदृश्य शक्ति सक्रिय रहेको बताउनुभएको छ ।

आन्तरिक श्रम बजारभित्र युवालाई उद्यमीसँगै स्वरोजगार बनाउनका लागि योजनाबद्धरुपमा मन्त्रालयले काम गरिरहेको समेत मन्त्री विष्टले बताउनु भएको छ ।

‘मन्त्रालयले निरन्तर वैदेशिक रोजगारको सम्बधमा निरन्तर सुधारको काम अगाडि बढाइरहेको छ,’ मन्त्री विष्टले भन्नुभयो–‘वैदेशिक रोजगारीको क्षेत्रमा सुधारका लागि बाटोमात्रै बनाउने नभई राजमार्ग नै निर्माण गर्दै लगिनेछ ।’
बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले श्रमिकको सुरक्षा र रोजगारीका नाममा भइरहेको अनैतिक गतिविधि रोक्न सरकारलाई सबै सरोकारवाला पक्षको सहयोग आवश्यक भएको बताउनुभयो ।

त्यसै गरी सुरक्षित आप्रवासनका लागि राष्ट्रिय सञ्जालका अक्ष्यक्ष कुलप्रसाद कार्कीले वैदेशिक रोजगारी र आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकको सुरक्षा तथा रोजगारसम्बन्धी अधिकार सुनिश्चित र संरक्षणका लागि सरकारको ध्यानकर्षण गराउनुभयो ।

प्रत्येक वर्ष डिसेम्बर १८ का दिन विश्व आप्रवासन दिवस मनाइन्छ । सन् २००० बाट आप्रवासन दिवस मनाउन थालिएको हो ।

प्रतिक्रिया दिनुहोस्