५ वर्षको टार्गेटमा रहेको पुल ७ वर्षमा पनि बनेन



बुद्ध नेपाली, सिन्धुली ।
ठेकेदार कम्पनी पप्पु कन्ट्रकसनको चरम लापर्वाहीका कारणा धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा वैकल्पिक राजमार्ग अन्तर्गतको सिन्धुलीको कमला नदीमा निर्माणाधीन पक्की पुल अलपत्र अवस्थामा छ ।

५ वर्षमा निर्माण सम्पन्न गर्नुपर्ने पुल ७ वर्ष वित्दा समते ५० प्रतिशत काम हुन सकेको छैन् । ५ वर्षमा निर्माण सम्पन्न हुनुपर्ने पुलको अहिलेसम्म ५० प्रतिशत पनि काम नसकिएको धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजनाले जनाएको छ ।

२०७३ साल असार २८ गतेसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखेर पप्पु लुम्बिनी जेभिले २०६८ असार ३१ गते सम्झौता गरी काम सुरु थियो । सम्झौता अनुसारको समयभित्र पुल निर्माण नसकिएपछि एक वर्षको म्याद थप गरेपनि सन्तोषजनक प्रगति नदेखिएको चतरा–सिन्धुली–हेटौंडा सडक आयोजना पुर्वी खण्डका इन्जिनियर शम्भु आचार्यले बताए । ‘पुल निर्माणको कामलाई तिव्रता दिन हामीले ताकेता गरिरहेका छांै । पप्पुले विभिन्न बहाना देखाएर काममा ढिला सुस्ती गरेर अहिले काम राकिएको छ ।’उनले भने ।

सम्झैता अनुसार तोकिएको समयमा पुप्पुले पुल निर्माण सम्पन्न गर्न नसकेपछि २०७४ साल साउन १४ गते सम्मको म्याद थपिएको थियो । त्यो थपिएको म्यादमा पनि पुल निर्माण सम्पन्न हुन सकेन । पप्पुको थपिएको म्याद २०७४ साउन १४ गते सकिएपनि फेरि म्याद नथपिएको र पप्पुले दैनिक जरिवानामा काम गर्नु पर्ने इन्जिनियर आचार्यले बताए । उनले भने ‘कारबाही गर्नुपर्ने विभागले हो, हामी त फिल्डमा खटिएर काम गर्ने कर्मचारी हौं ।’

दुधौली नगरपालिकाको वडा नं. २ र ३ जोड्ने गरी कमला नदीमा निर्माणाधिन कुल लम्बाई ५४६ मिटरको पुल एसियाली विकास बैंकको अनुदान सहयोग करिब ३१ करोड रुपैया लागतमा निर्माण सुरु भएको हो । ठेकेदारकै लापर्वाहीका कारण निर्माण सुरु गरेको सात वर्ष बित्दा पनि पुल सम्पन्न हुन नसकेको दुधौली नगरपालिका वडा नं. २ का अध्यक्ष रितेस राउतले बताए । उनले भने ‘ठेकेदारको लापर्बाहीले नै पुल निर्माण निकै सुस्त छ । फिल्डमा जिम्मेवार कुनै पनि व्यक्ति भेटिँदैनन् । पिल्लर उठाउने काम गरेका छन, अरु काम बाँकी छ’ ।

अहिले सम्म १४ वटा पिल्लरमध्ये दुईवटा पिल्लरमा स्ल्याब हालिएको छ । जनताको दैनिकीसँग प्रत्यक्ष सम्बन्ध जोडिएको पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई कारबाही हुनु पर्ने उनको माग छ । अहिलेसम्म अर्को निर्माण कम्पनीलाइ ठेक्का नदिएको हुँदा पुल निर्माणको बाँकी काम पनि पप्पुले नै सक्नुपर्ने उहाँले जानकारी दिनुभयो ।

कमला नदीमा वारपार गर्न पुल नहुँदा बर्से्नि वर्षाको मौसममा बगेर कम्तीमा पनि आधा दर्जन मानिसको ज्यान जाने गरेको स्थानिय बासीन्दाको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्