अँध्यारो/उज्यालो




मोहन दुवाल
अँध्यारो रहेकै कारणले उज्यालो देखिन थालेको हो। अँध्यारो नभएको भए उज्यालोको अर्थ यति गहन र महत्वको हुने थिएन। जहाँ पनि जहिले पनि अँध्यारो÷उज्यालोकै कुराहरू सुन्नुपर्छ। अँध्यारोको बिगबिगी रहेको ठाउँमा उज्यालो बाल्न खोज्नु स्वभाविक कर्म हो। अँध्यारोमा उज्यालोले बाल्न नखोज्दा अँध्यारोमा धेरैथोक देखिन गाह्रो हुन्छ। सुत्ने बेलामा अँध्यारो प्रिय हुन्छ तर उठ्ने बेलामा अँध्यारो पीडादायी बन्छ। सधैँ सुत्न सकिँदैन, सधैँका लागि सुतिदिनु भनेको आफूलाई अवसानमा राखिदिनु हो। तर अँध्यारोको पनि आफ्नो मान र समय अवश्य छ।

खराब सोच्नेहरू जो आफ्नो मुख–मुद्रालाई उज्यालोमा देखाउन रुचाउँदैनन्, तिनीहरूका लागि अँध्यारो प्रिय हुन्छ। आफू कमाउन नसक्ने तर तुरुन्तै साहुनी हुन रुचाउने स्वाँठहरूका लागि यही अन्धकार आश्रयस्थल बन्छ र अँध्यारोमा लुकेर कुकृत्य गर्न रुचाउनेहरू सबैका लागि उज्यालो प्रिय याम हुन सक्दैन। त्यसैले, अँध्यारो मन पराउनेहरू पनि छन् तर उनीहरू लुकेर मात्र आफूलाई देखाउने गर्छन्। केटाकेटीहरू मात्र होइन, ठूलाबडाहरू पनि अँध्यारोमा आफूलाई सुरक्षित ठान्दैनन्।

अँध्यारोमा आफूलाई सुरक्षित ठान्नेहरू त अँध्यारोजस्तै कालो नै हुन्छन्। उनीहरू अँध्यारोमा नै काला काम कर्तुतहरू गर्छन्। जो–जो बिग्रेका, भत्केका, मति बिग्रेकाहरू छन् उनीहरू पो अँध्यारोमा आफूलाई सुरक्षित ठान्ने गर्छन्। बुद्ध कहिल्यै पनि अँध्यारोमा रमाएनन्। सधैँ उज्यालोकै खोजीमा कुदिरहे। उज्यालोका लागि उज्यालोमा कुद्नु भनेको नै बुद्ध हुनु हो। संसारका तानाशाहहरू, निरङ्कुशहरू, खराब मन भएकाहरू सबैले उज्यालोमा होइन अँध्यारोमा नै आफ्ना कर्तुतहरू गर्ने गर्छन्। लाटोकोसेराहरूका लागि उज्यालो श्राप हो भनेजस्तै खराब मन भएका सबैका लागि पनि उज्यालो खराब समय हो।

अँध्यारोमा लुकेर कुकृत्य गर्न रुचाउनेहरू सबैका लागि उज्यालो प्रिय याम हुन सक्दैन। त्यसैले, अँध्यारो मन पराउनेहरू पनि छन् तर उनीहरू लुकेर मात्र आफूलाई देखाउने गर्छन्। केटाकेटीहरू मात्र होइन, ठूलाबडाहरू पनि अँध्यारोमा आफूलाई सुरक्षित ठान्दैनन्।

अँध्यारोमा डराउनुपर्छ। किनभने त्यहाँ जो पनि लुकिरहेको हुनसक्छ। अपराध गर्नेहरूले पनि समय ढुकिरहेको हुनसक्छ। त्यसैले हरेक मान्छेहरू अँध्यारोसँग अर्थात् अँध्यारो परिवेशमा डराउने गर्छन्। डर त्यसै जन्मिदैन। डर त अँध्यारोकै कारणले सृष्टि भएको हुनसक्छ। अँध्यारो अज्ञान पनि हो। अँध्यारो अप्ठ्यारो स्थिति पनि हो। यही अप्ठ्यारो स्थितिमा फाइदा लिन सिक्नेहरूले अँध्यारोमा षड्यन्त्रका डन्डिबियो खेल्ने गर्छन्।

थुपै्र संहारहरू यस्तै अँध्यारोभित्र नै भए गरेका छन्। कंस, दुर्योधन, रावणमात्र होइनन् बोकासा, इदी अभिन, सामन्ती सोच मनमा राख्न सिपालु राजा–महाराजाहरू सबैले अँध्यारोमा रमेर उज्यालोका विरुद्ध षड्यन्त्र गरेका छन्। ठूला–ठूला आन्दोलनहरू यस्तै अँध्यारोका विरूद्ध उज्यालो सोच्ने परिवर्तनकामीहरूले उरालेका आवाजहरू हुन्। देश, विदेश जहाँ पनि अँध्यारो भएकैले उज्यालोको खोजीमा थुपै्र उपायहरू कामयावी भएका हुन्। प्रकाशको खोज हुनु यस्तै भयग्रस्त अँध्यारोका विरुद्ध आफू बाँच्न सिक्नु हो। ओडार, गुफा, सुरुङ जहाँतहीँ उज्यालो बाल्न खोज्नु यस्तै भयरहित आफूलाई सुरक्षित बाँच्न लगाउन सङ्घर्षरत् रहन सिक्नु हो।

मैले पनि जीवनमा थुपै्र परिघटनामार्फत अँध्यारो देखेको हुँ। उक्त अँध्यारो चिर्नु मैले पनि थुपै्र ठाउँमा सलाई कोरें, मैनबत्ती बालें, टर्चलाइट चम्काएँ, बिजुली बत्ती बालें। अँध्यारोमा केही नदेखिएकै कारणले अँध्यारोसँग म पनि धेरैपटक डराएको छु। डर त्यसै नआउने रहेछ अज्ञान र नदेखिनुकै कारणले डर मनभित्र लुकिदिँदा रहेछन्। मेरा जीवनका थुपै्र क्षणहरूमा मैले थुप्रै खालका अँध्यारोहरूसँग पौंठेजोरी खेलें, जुन जीवनका अविष्मरणीय क्षण भइदिएका छन्। मुसाहरू अँध्यारोमा नै आफूलाई समाप्त बनाउँछन्। बिरालाहरू लुकी–लुकी अँध्यारोमा आफ्नो भागवण्डा खोज्न आउँछन्। हुत्तीहाराहरू सबै अँध्यारोमा बलियो हुँदा रहेछन्। चोर, फटाहा, अपराधी, डाँका, ठग, बलात्कारीहरू अँध्यारोको खोजीमा सधैँ रमाइरहन्छन्। भ्रष्टाचारी, घूसखोर, ज्यानमाराहरू अँध्यारोमा ढुकिरहन्छन्। तानाशाहहरू र षड्यन्त्रकारी सबै अँध्यारोमा शक्तिशाली बन्ने सपना बुन्छन्। डरलाई मिचेर आफूलाई ठूला देखाउन रुचाउने सबै–सबैहरू अँध्यारोका प्रिय भक्तहरू हुन्। बत्ती निभिदिँदा अँध्यारो भएपछि खराब मनमा रमाउनेहरू ठूला–ठूला स्वरले चिच्याएर अरूलाई तर्साउन खोज्छन्। उज्यालोमा कुकृत्य गर्न सबै डराउँछन्, उज्यालोमा प्रगति गर्न नसक्नेहरू त सबै हार्छन्।

अँध्यारोमा एक्लो हुँदा कस्तो हुन्छ ? तपाईं के सोच्नुहुन्छ ? तपाईंले जस्तै मैले पनि त्यस्तै–त्यस्तै सोच्ने गरेको छु। अँध्यारोमा एक्लो हुँदाको अनुभव सबैले आ–आफ्नो गच्छेअनुसार भोगेकै हुन्छन्। म निदाउने बेलाबाहेक सधैँ उज्यालोमा रमाउने गर्छु। अक्षर हेर्न, अक्षर लेख्न, सुन्दर सिर्जनामा रमाउन उज्यालो नभएपछि वातावरण मेरा लागि अप्रिय रहेका छन्। अर्थात् मैले कहिल्यै रुचाइनँ। हिजो पनि, आजजस्तै शायद भोलि पनि म उज्यालोका लागि सङ्घर्षरत् रहनेछु। अँध्यारोविरुद्ध उज्यालोका लागि मैले जीवनमा धेरै खालको सङ्घर्ष गरेकै कारणले मलाई उज्यालोको अर्थ र गरिमा थाहा छ। आफूमात्र सोचेर अरूलाई जस्तै होस् भन्नेहरूले मात्र अँध्यारो मन पराउँछन्, किनभने उनीहरू अँध्यारोमा षड्यन्त्र गरेर आफूलाई बलिया तुल्याउन मन पराउँछन्।

नदेखिँदाको स्थितिमा जे पनि हुनसक्छ, देखिँदो स्थितिमा खराब कामकुराहरू कमै हुन्छन्। त्यसैले त उज्यालोको चाहना बढेको हो। उज्यालोमा प्रगति खुल्छ। मलाई आज यस्तै सपनाले सताइरहेछ– म किन उज्यालोको हिमायती बनें ? मैले मन–मनमा भनें– उज्यालेमा नै त सबै खुल्छ। उज्यालो देखिएपछि यो सबै देखिन्छन्। उज्यालो भरपर्दो मैत्रीकाय वातावरण हो। उज्यालो हुनुपर्छ परिवेश। उज्यालो देखिनुपर्छ जहाँतहीँ।

बिहान उज्यालो भएदेखि घामको स्पर्शमा जीवन डोर्याइरहँदाका आफूभित्रका अनुभूतिहरू, ऊर्जाशील भावनाहरूले नै मान्छेलाई सामथ्र्यवान् र बलियो बनाइदिँदा रहेछन्। हो, म आफू पनि यो ऊर्जाशील उज्यालोकै पक्षमा रहेर जीवनपर्यन्त डटिरहने चाहना छ। उज्यालो जीवनका लागि, प्रकाशमय परिवेश सिर्जनाका पक्षमा, अँध्यारो वातावरणमा उज्यालो बाल्नका लागि धेरै पुस्ताबाट, धेरै उपायहरू गरेर सङ्घर्षमा लागेका जीवनका यामहरू छरपस्ट छन्। राजनीतिक सोचमा, सामाजिक कार्यमा, साहित्यिक लेखनमा, घरायसी वातावरणमा र साथीभाइहरूका माझमा यही उज्यालो–चेतना फिँजाउने अभियानमा सधैँ लाग्न पाउन प्रयत्नशील छु।

अँध्यारोको पक्षमा लागेर कुकृत्य सोच्नेहरूले, अँध्यारो परिवेशमा खराब गर्नेहरूले उज्यालोको गीत रचाउँदैन अर्थात् उज्यालोको चाहना राख्दैन। हिजो पनि थिए, आज पनि छन् र भोलि पनि देखिनेछन्, अँध्यारो र उज्यालोका पक्षधरहरू ⁄ तर म सधैँ उज्यालोकै पक्षमा लडेर आएको थिएँ हिजो पनि, आज पनि लडिरहेको छु, भोलि पनि अवश्य यही चेतनाले ममा विजय गर्नेछ। अँध्यारोमा कहिल्यै रमाइएन, आँखा चिम्लिने बेलामा निदाउन केही क्षणमात्र अँध्यारोसँग माया साटेको छु। कहिल्यै अँध्यारोमा बस्न रुचि जागेन। जहिल्यै मैनबत्तीको उज्यालोको स्पर्शमा अँध्यारो नास्न खोजें, कहिले बिजुली बालें र कहिले प्रकाशमय वातवरणमा आफ्नो कार्य जारी राखेर आफूलाई सक्रिय तुल्याइरहें। त्यसैले म सधैँ यस्तै गीत रुचाइरहें–

आँखाबाट आँसु झर्यो, उज्यालोमा छामी हेरें
अँध्यारोमा चोट पर्यो, उज्यालोमै मन छामें
नदेखिनु भूल रह्यो देखिनुको मर्मै अर्को–
उज्यालोको संसारै अर्को त्यही संसारमा रमाउन खोजें।

 

प्रतिक्रिया दिनुहोस्