वारिपारिको मिलोमतोमा नै हुन्छ सीमामा गम्भीर अपराध



दमक । भारतको विहारसँग जोडिएको झापासहित पूर्वी तराईमा भएका ठूलाठूला अपराधका घटनामा प्राय भारतीय नागरिककै संलग्नता देखिँदै आएको छ ।

सुनसरीमा करीब एक महीनाको अन्तरालमा भएका दुई हत्याका घटनामा भारतीय नम्बर प्लेटका मोटरसाइकल चढेर आएका व्यक्ति भारतीय नै रहेको सार्वजनिक भइसकेको छ । सुनसरीपछि अहिले झापा पनि भारतीयका लागि सुरक्षित अपराधस्थलका रुपमा चिनिन थालेको छ ।

खुला सीमाको फाइदा उठाएर पछिल्लो समय यस क्षेत्रमा एकपछि अर्को गर्दै भइरहेका शृङ्खलाबद्ध जघन्य अपराधका घटनामा भारतीय र सीमा क्षेत्रका नेपालीको समेत मिलोमता देखिन थालेको छ । भारतीयसँग नाता सम्बन्धका साथै आर्थिक लेनदेनसम्म हुने गरेपछि आवतजावत बढ्दै जाने र विस्तारै आपराधिक घटना पनि मिलोमतो मै हुने गरेको घटनाक्रमले देखाएका छन् । एक साताअघि झापाको गौरीगञ्जसँग सीमासंग जोडिएको भारतको सुपौल जिल्ला विहार राज्यअन्तर्गतका सात वर्षीय बालक अपहरणमा परे । उनको अपहरणको उद्देश्य फिरौती माग्नेसंग सम्बन्धित थियो ।

व्यक्ति अपहरण गरी राख्ने र फिरौती माग्ने धन्दामा भारतीयसँग सीमावर्ती गौरीगञ्ज गाउँपालिकाका तीन नेपालीसमेत परे । राजनीतिक तथा सामाजिक रूपमा समेत स्थापित भनिएका त्यहाँका बद्री यादवसहित अन्य दुईले बालक अपहरण गरी रु १५ लाख फिरौती मागेका थिए।

भारतीय बालकलाई ल्याएर फिरौती माग्ने धन्दामा नेपालीकै सहयोग र आश्रय पाएपछि भारतीय अपराधीले सहजै नेपाली भूमिलाई अपराधको थलो बनाए । भारतीय अपराधीमाथि के–कस्तो कारवाही चलिरहेको छ भन्ने यकिन नभए पनि बालक अपहरण र फिरौती माग गर्ने यादवसहित तीन जनाविरुद्ध नेपाल प्रहरीले भने शरीर बन्धक तथा अपहरण मुद्दामा म्याद थपको आदेश लिएर थप अनुसन्धान अघि बढाएको छ ।

गौरीगञ्ज इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलको सक्रियतामा दमकबाट बालकको उद्धारपछि इलाका प्रहरी कार्यालय दमकले ती बालकलाई भारतीय प्रहरीको जिम्मा लगाइसकेको छ ।

केही समय अघि गौरीगञ्ज–२ का एक नेपालीको सीमावर्ती भारतीय दशगजामा भारतीय अपराधीले हत्या गरे । त्यो घटनामा नेपाल प्रहरीले भारतमै गएर अपराधी पहिचान गरी पक्राउ गरेको भए पनि कारवाहीका लागि भारतीय सुरक्षाकर्मीकै भर पर्नुपरेको प्रहरी निरीक्षक पौडेलले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्