२६ औं अन्तर मा.वि. आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न



काभ्रेपलान्चोक ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको प्रमुख आतिथ्यमा बिहीबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी स्कुल साँगामा संचालित २६औं अन्तर माध्यामिक बिद्यालय आइजीपी रनिङ्ग ट्रफी फुटवल प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

सो अवसरमा प्रहरी महानिरीक्षक खनालले बिजयी खेलाडीहरूलाई बधाई दिँदै आगामी दिनमा आयोजना हुने प्रतियोगितामा अझै मेहनत र परिश्रम गर्न सबै खेलाडीहरूलाई आग्रह गर्नुभयो । खेलकूद अनुशासनको एक पाटो भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक खनालले खेलाडीहरूले अनुशासित ढंगबाट उत्कृष्ट खेल प्रदर्शन गरेकोमा प्रशंसा गर्नुभयो ।

फुटवल टिम स्पिरिडमा खेलिने खेल भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले यस्ता खेलकूदबाट सामूहिक भावानाको विकास हुनुका साथै हरेक मानिसमा उर्जा समेत उत्पन्न हुने बताउनुभयो । खेलकूदले आपसी सद्भाव, समन्वय र सहयोग अदान प्रदानमा सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले धन्यवाद ज्ञापन गर्दै यस्ता आयोजनाबाट विद्यार्थीहरूलाई खेलतर्फ आकर्षित हुन प्रोत्साहन मिल्ने बताउनुभयो । किताबी ज्ञान वाहेक यस्ता अतिरिक्त क्रियाकलापमा सहभागि हुन जोड दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले प्रतियोगिताका रनरअप, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले सेकेण्ड रनरअप र बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिंह वादेले विजेता टोलीलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।

सो अवसरमा नेपाल प्रहरी स्कुल साँगाका प्रिन्सिपल नवीन श्रेष्ठले स्वागत मन्तव्य तथा स्कूलका समादेशक प्रहरी नायव उपरीक्षक श्यामकृष्ण अधिकारीले खेलकूद सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रतियोगितामा सैनिक आवासीय माध्यामिक बिद्यालय टीम प्रथम, नेपाल प्रहरी स्कुल साँगा ‘ए’ टीम द्वितिय र नेपाल प्रहरी स्कुल साँगा ‘बी’ टीम तृतीय भएका छन् । प्रथम टिमले ३० हजार, द्वितीय टिमले २० हजार र तृतीय टिमले १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

मंसिर १९ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी स्कुल साँगा ‘ए’ र ‘बी’ टीम, नेपाल प्रहरी स्कुल सामाखुशी लगायत काठमाडौं, भक्तपुर र काभ्रेपलाञ्चोकका गरी जम्मा १० विद्यालयका १२ टीमको सहभागिता थियो ।

कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष श्रीमती प्रमीला खनाल तथा संघका पदाधिकारीहरू, भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्