बालक बन्धक बनाइ पन्ध्रलाख फिरौती माग्ने तीनजना समातिए



नेपाल समाचारपत्र, भद्रपुर ।
भारतीय ७ वर्षिय बालकलाई अपहरण गरी बन्धक वनाएर भारतीय पन्ध्रलाख रुपैयाँ फिरौती मागेको आरोपमा एक दम्पतीसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरिगञ्ज गाउँपालिका– ६ खजुरगाछीका ४७ वर्षिय बद्री यादव, सोही गाउँपालिका –४ कदमगाछीका ३१ वर्षिय बिटु भन्ने श्रीप्रसाद गोडी मुखिया र उनकी श्रीमती २७ वर्षिया अञ्जु देवी मुखिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

यादवलाइ गौरीगञ्ज चोक,मुखियालाई घर नजिकै कदमगाछी र महिलालाइ दमक– ५ गोर्खाली टोल स्थित देउराली होटलको कोठा नम्बर १०७मा बालकलाइ बन्धक वनाइरहेको अवस्थामा पक्राउ गरिएको जिल्लाका डिएसपी महेन्द्र कुमार श्रेष्ठले बताए । आरोपितलाइ मङ्गलबार पक्राउ गरी वुधबार विहान सार्वजानिक गरिएको डिएसपी श्रेष्ठले बताए ।

घटना विवरण अनुसार भारत बिहार राज्यस्थित सुपौल जिल्ला किसनपुर थाना,चोहट्टा पञ्चायत ठाढीधता– २ पोष्ट मौजाहा(८५२१३१) बस्ने मोहमद् सद्दामको ससुराली घर राघोपुर थाना देवानगञ्ज–२ बाट अन्दाजी १८—२० वर्षका अज्ञात व्यत्तिले सद्दामका सात वर्षीय छोरा महफुज आलमलाई भारतबाट अपहरण गरी नेपाल ल्याएर बन्धक बनाएका थिए ।

गत मङ्सिर २० गते बिहीबार घर नजिकै खेल्दै गरेको अवस्थामा फकाइ फुलाइ विस्कुट दिई बालक आलमलाई मोटरसाइकलमा चढाएर भारतीयको सहयोगमा झापा गौरीगञ्ज भवानीपुरबाट नेपाल ल्याएका थिए ।

घटना पश्चात बालका वावु लाइ भारतीय पन्ध्रलाख रुपैया फिरौती नदिए र प्रहरीलाइ खबर गरेमा बालकको ज्यान लिने धम्की दिएको विषयलाइ लिएर सद्दामले भारतीय प्रहरीलाइ जानकारी गराएका थिए भने भारतीय प्रहरीले नेपाल प्रहरीलाइ जानकारी गराएको जिल्लाका एसपी भिमप्रसाद ढकालले बताए ।

अपहरण गरी नेपालको गौरिगञ्ज वा दमक क्षेत्रमा लुकाइ राखेको भन्ने सूचना सोमबार अपरान्ह् ४ बजे आएसँगै दमकका डिएसपी श्यामल सुब्वा र गौरीगञ्जका इन्सपेक्टर टेकेन्द्र शर्मा पौडेलको नेतृत्वमा शङ्कास्पद क्षेत्र निगरानी तथा सीमा नाकामा चेकजाँच गरिएको एसपी ढकालले बताए ।

खोजतलासको क्रममा मङ्गलबार विहान यादवलाइ पक्राउ गरेपछि आरोपितको आधारमा अन्य र बालकलाइ समेत सकुसल उद्धार गर्न सफल भएको ढाकलले जनाए । यादब राजनीतिकर्मी भएको स्रोतले जनाएको छ ।

पक्राउपश्चात बालकलाइ मङ्गलबार परिवारको जिम्मा लगाइएको उनले जनाए । आरोपितले घटना स्वीकार गरी सकेको प्रहरीले जनाएको छ । संलग्नलाइ अपहरण तथा शरिर बन्धक मुद्दा दर्ता गरी झापा जिल्ला अदालतबाट पाँचदिनको म्याद थप गराइ थप अनुसन्धान अघि बढाइएको एसपी ढकालले जनाए । उनिहरुलाइ इलाका प्रहरी कार्यालय दमकले मुद्दा चलाउने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्