जनतासँगको बाचा पुरा गरेरै छाड्ने उपप्रमकोे दावी



धनवीर दाहाल, रुकुम ।
उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले जनताको मत र बिश्वासमा बनेको सरकार भएकाले जनतासँग गरेका बाचा पुरा गरेरै छाड्ने बताउनुभयो । झन्डै दुई तिहाई बहुमतको सरकार भएकोले यो सरकारले सार्वजनिक गरेका निति कार्यक्रममा टेकेर काम गरिरहेको जानकारी दिनुभयो । समृद्ध नेपाल सुखी नेपालीको सपनालाई आत्मसाथ गर्दै सरकारले योजना अघि सारेको दावी गर्नुभयो ।

चेम्बर अर्फ कमर्श रुकुम पुर्वले आयोजना गरेको प्रथम रुकुम (पुर्व) पर्यटन तथा सांस्कृतिक महोत्सवलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री पोखरेलले नेपालको कान्छो जिल्ला रुकुम पुर्वको विकासका लागी संघिय सरकारले बिशेष ध्यान दिने बताउनुभयो । ‘यो सरकार दुई तिहाई मत र विश्वासका साथ गठन भएको सरकार हो,’ उहाँले भन्नुभयोे, ‘देशको समृद्धि र विकास नचाहनेहरुले षडयन्त्र र जालझेल बुन्दैछन ।’ जनताको विश्वासले बनेको दुई तिहाई सरकारले कसैको जालझेल र षडयन्त्रले सरकारलाई केही फरक नपर्ने उहाँको भनाई छ ।

निर्वाचनताका गरिएका अधिकांश कुराहरु कार्यान्वनतर्फ अघि बढिरहेको भन्दै उहाँले हरेक जेष्ठ नागरिकलाई मासिक ५ हजार भत्ता दिन सरकारले आवश्यक गृहकार्य गरिरहेको बताउनुभयो ।

फरक प्रसंगमा कुरा गर्दै मन्त्री पोखरेलले देश बनाउनकै लागि भनेर २ कम्युनिष्ट पार्टी एक भएको बताउनुभयो । देश विकासको संकल्प सहित दुई कम्युनिष्ट एक भएकाले कम्युनिष्ट पार्टीबाट जनताले गरेको आश सजिलै पूरा हुने दाबी उहाँको छ । रुकुम पुर्व कान्छो जिल्ला भएपनि विकासको प्रचुर संभावना बोकेको जिल्ला भएकोले विकासको हिसावले नमुना जिल्ला बनाउन सरकारको सहयोग रहने जानकारी दिनुभयो ।

रुकुम पुर्वको सदरमुकामको विवादको प्रसंग उल्लेख गर्दै उहाँले बिगतदेखी सम्मानित अदालतमा आफु बोल्न नचाहेको तर जनताको इच्छा भन्दा बाहिर गएर निर्णय भए जनतालाई मान्य नहुने बताउनुभयो । धेरै विवादमा लाग्नुभन्दा पनि सिंगो रुकुम पुर्वको विकासमा लाग्न स्थानीयलाई आग्रह गर्नुभयो ।

महोत्सवमा रुकुम पुर्वका मौलिक सांस्कृति प्रस्तुती प्रदर्शन गरिएका थिए । रुकुम पुर्व जिल्लालाई चिनाउने उद्धेश्यले पहिलो रुकुम पुर्व पर्यटन तथा सांस्कृतिक महोत्सवको आयोजना गरिएको चेम्बर अफ कमर्श रुकुम पुर्वका अध्यक्ष दिलिप थापाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्