विदेशबाट घर फर्किरहेका युवा बसमै लुटिए



विराटनगर ।
वैदेशिक रोजगारबाट घर फर्किएर काठमाडौंबाट इटहरीका लागि रात्री बसमा यात्रा गरेका धनकुटाका एक युवालाई बेहोस पारेर लुटपाट गरेको खुलेको छ । दुबईबाट शनिबार नेपाल आइपुगेका धनकुटा साँघुरीगढी ३ का खगेन्द्र लिम्बू लुटपाटमा परेका छन् ।

शनिबार बिहान ८ बजे अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएर साँझ ना ६ ख १५६१ नम्बरको कोशी पशुपती रात्री बसमा चढेका उनलाई बेहोस पारेर लुटपाट गरेको खुलेको हो ।

लिम्बूलाई बेहोस मात्रै पारिएन काठमाडौंबाट इटहरीका लागि बस चढेका उनलाई विराटनगर बसपार्कमा ल्याएर बेवारिसे अवस्थामा बसका कर्मचारीले छोडिदिए । आफन्तले सम्पर्क गर्दा सँगै यात्रा गरेका एक व्यक्तिले अवस्थाबारे बताएपछि भेट्न आएका आफन्तले आइतबार बिहान लिम्बूलाई अचेत अवस्थामा फेला पारेका थिए ।

अहिले उनको विराटनगरस्थित नोवेल मेडिकल कलेजमा उपचार भइरहेको छ । गत वैशाखमा दुबई गएका उनी भतिजीको विवाहका लागि केही पैसासहित घर फर्किएका थिए । तर, बीचैमा उनी लुटपाटमा परे । १ तोलाको औंठी, २६ हजार रुपैयाँ नेपाली रुपैयाँका साथै ५ सयभन्दा बढी दिराम लुटिएको उनको भनाइ छ ।

आफूले राती साढे ३ बजेसम्मको अवस्था थाहा पाएको भएपनि त्यसपछि आफूलाई हस्पिटलको बेडमा पाएको उनले बताए । प्रहरीले बसका सहचालक र १ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

डाक्टरले उनलाई विष सेवन गराइएको बताएको आफन्तले बताएका छन् । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनामा बसका चालक तथा कर्मचारीको मिलेमतोमा लुटपाट भएको आशंका रहेको प्रहरीले बताएका छ ।

प्रतिक्रिया दिनुहोस्