बैतडी र दार्चुलामा ओखरको बगैंचा स्थापना हुदै



विनोद सिंह विष्ट, बैतडी
फलफूल खेतीबाट किसानहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यका साथ बैतडी र दार्चुलाका विभिन्न स्थानमा ओखरको बगैंचा स्थापना गरिने भएको छ । बैतडीमा ३० हेक्टर र दार्चुलाको २५ हेक्टर क्षेत्रफल जमीनको ओखरको बगैंचा स्थापना गर्ने तयारी भएको कृषि ज्ञानकेन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले जानकारी दिए ।

ओखरका बिरुवा किसानहरुलाई ५० प्रतिशत अनुदान र ५० प्रतिशत किसानको लगानिमा उपलब्ध गराइने भएको छ । बगैंचा स्थापना गर्ने किसानहरुलाई प्रस्ताव ल्याउन आग्रह गरिएको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

बैतडीको सुर्नया गाउँपालिका वडा नं २ र ३, दशरथचन्द नगरपालिका वडा नं ९, वासुदेव मावि लिस्किटाको नर्सरी, दोगडाकेदार गाउँपालिकाको वडा नं ४,पाटन नगरपालिका वडा नं १ र ९, सिगास गाउँपालिका,मेलौली नगरपालिका र पुरचौंडी नगरपालिकामा बगैंचा स्थापनाका लागि कार्यक्रम स्वीकृत भई आएको छ ।

यस्तै दार्चुलाको दुहुँ गाउँपालिका वडा नं ४ र ५, मालिकार्जुन गाउँपालिकाको वडा नं २,४ र ८, व्यास गाउँपालिकाको सुनसेरा,नौगाडको सुण्डमुण्ड, महाकाली नगरपालिकाको पौनेखोला, मार्मा गाउँपालिका र शैल्यशिखरमा ओखरको बगैंचा स्थापनाका लागि प्रस्ताव आह्वान गरिएको छ । ओखर खेती गर्ने किसानहरुले पुस १० गतेभित्र कृषि ज्ञान केन्द्र बैतडीमा प्रस्ताव पेश गर्नुपर्नेछ ।

ओखरको अत्यधिक माग भएकाले ओखरबाट किसानहरुलाई आत्मनिर्भर बनाउनका लागि ओखरको बगैंचा स्थापना गर्ने कार्यक्रम ल्याइएको बताइएको छ । बजारमा ओखर प्रतिकेजी ६ सयदेखि आठसयमा विक्रि हुने गरेको छ ।
यसैबिच पछिल्लो केही बर्ष यतादेखि बैतडीको सतबाँझमा स्याउ फल्न छोडपछी स्याउको विकल्पमा ओखरखेती गर्न थालिएको छ ।

अन्य फलफूल भन्दा ओखरबाट किसानहरुलाई आम्दानीका लागि राम्रो हुने भएपछि सुख्खा फलफूल विकास केन्द्रले ओखर उत्पादनलाई प्राथमिकतामा राखेको सुख्खा फलफूल विकास केन्द्रका प्राविधिक अर्जुन खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्