अब सामुदायीक वनमा फलफुलको विरुवा



रोशन पराजुली, हेटौंडा
आफ्नो नीति तथा कार्यक्रम अनुसार ३ नम्बर प्रदेश सरकारको भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयले सामुदायिक बनमा फलफुल बन विकास गर्ने योजना कार्यान्वयन थालेको छ ।

नमूनाका रुपमा चालु आर्थिक वर्षभित्र प्रदेशका १ सय १९ वटै स्थानीय तहका एक÷एक वटा सामुदायिक बनमा फलफुलका बिरुवा रोपिने छ । सामुदायिक बन उपभोक्ता महासंघका जिल्लास्थित नेतृत्वहरुको भेलामा प्राप्त सकारात्मक प्रतिक्रिया र उत्साह महत्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ । एक साताभित्र सामुदायिक बन छनौट गरी ती बनमा फलफुल खेतीको कार्ययोजना बनाइसक्ने योजना छ ।

प्रदेश मन्त्रिपरिषद्ले फलफुल वर्ष २०७५ कार्यान्वयन कार्यविधि पारित गरेसँगै योजना कार्यान्वयन सुरु भएको मन्त्रालयका अधिकारीको भनाइ छ । व्यावसायिक फलफुल खेती विकास गर्ने विषयमा सामुदायिक बनका पदाधिकारीसँग मन्त्रालयका अधिकारीले अन्तत्र्रिmया गरेको छ ।

मन्त्रालयमा प्रदेशका १३ वटै जिल्लास्थित सामुदायिक बन उपभोक्ता महासंघका अध्यक्ष, सचिव र कोषाध्यक्षहरुको सहभागितामा कार्यक्रा गरिएको हो । गोष्ठीमा प्रदेश सरकारका नीति तथा योजना आयोगका सदस्य श्याम बस्नेतले समुदायले बनलाई आयमूलक बनाउने योजना बनाइएको जानकारी दिनुभयो ।

प्रदेश ३ अन्तर्गत १ सय १९ वट स्थानीय तहको एक÷एक वटा सामुदायिक वनमा अब फलफुलका बिरुवा रोपिने छ ।

समुदायले बन संरक्षण र व्यबस्थापन गरे पनि आम्दानीको स्रोत विकास गर्न नसकेको भन्दै उहाँले सामुदायिक बनका अगुवाले आआफ्नो जिल्लाको सम्भाव्यताका आधारमा योजना ल्याउन आह्वान गर्नुभयो । सामुदायिक बन उपभोक्ता समूहको प्रस्तावका आधारमा प्रदेश सरकारले व्यावसायिक फलफुल खेतीका लागि आवश्यक सहयोग गर्ने बस्नेतले स्पष्ट पार्नुभयो ।

कार्यविधिले चालु आर्थिक वर्षमा प्रदेशका १ सय १९ स्थानीय तहमा १ वटाका दरले सामुदायिक बनलाई नमूनाका रुपमा पहिचान गरी ती सामुदायिक बनका खाली क्षेत्रमा उपयुक्त फलफुल वृक्षरोपण गरिने भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिनुभयो । स्थानीय तहसँगको सहकार्यमा सामुदायिक बन उपभोक्ता समुहले बढी लाभ हासिल हुनसक्ने ३ वटा फलफुल खेतीका लागि सिफारिस गरेर मन्त्रालयमा पठाउनुपर्नेछ ।

मन्त्रालयले १ सय १९ स्थानीय तहमा बढीमा १५ प्रकारका फलफुलको व्यावसायिक खेती गर्न सिफारिस गर्नेछ । नमूनाको रुपमा सुरुवात फलफुल खेती सुरुवात गर्न मन्त्रालयले ३ सय युवालाई प्रशिक्षक प्रशिक्षण प्रदान गर्ने र ती जनशक्तिलाई ३ महिना करार सेवामा नियुक्त गरी एउटा सामुदायिक बनमा बढीमा ३ जनाका दरले खटाइने प्रवक्ता गदालले जानकारी दिनुभयो ।

यसअघि कृषि विकास कार्यालयमा रहेर फलफुलको व्यावसायिक खेतीका लागि गरिएका अभ्यास र अनुभवका आधारमा फलफुल वर्षको कार्ययोजना तयार पारिएको उहाँले बताउनुभयो । आगामी जेठ र असारमा फलफुल वृक्षरोपण गर्ने गरी सम्भावित फलफुलको पहिचान र जनशक्ति तयार पारिनेछ । प्रशिक्षक प्रशिक्षण लिएका युवा फलफुलका बिरुवासहित नमूनाका रुपमा छनौट गरिएका सामुदायिक बनमा पुग्नेछन् ।

समुदायले व्यबस्थापन गरेको बनबाट समुदायले लाभ लिन खोज्दा बन कार्यालयले अवरोध गर्ने गरेको स्मरण गराउँदै सहभागीले व्यावसायिक फलफुल खेती गरेर लाभ लिने सम्भावनालाई सुनिश्चित गर्नुपर्ने बताएका थिए । ३ नम्बर प्रदेशमा ६ हजार ५ सय सामुदायिक बन छन् ।

प्रतिक्रिया दिनुहोस्