हिंसाविरुद्ध अभियानको प्रभावकारिता



-पविता मुडभरी पुडासैनी
महिला हिंसाविरुद्ध १६ दिने विश्व अभियान चलिरहँदा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्त तथा काठमाडाँंमै घरेलु हिंसामा परेकी न्यायाधीशकी श्रीमतीको लागि न्यायको आवाज जोडतोडले उठ्यो ।

एकातिर महिला राष्ट्रपतिको करोडौंका विलासी गाडीसहित ऐयासी र शानको चर्चा र अर्कातिर बलात्कार, हिंसा र हत्यामा परेका महिलाका लागि न्यायको हारगुहार । ‘लैंगिक हिंसा र दुव्र्यवहार छैन हामीलाई स्वीकार’ भन्ने नारासहितको महिला हिंसाविरुद्धको अभियान चलिरहँदा प्रहरीको तथ्यांकले दैनिक तीनजनाको बलात्कार हुने र झन्डै ७५ प्रतिशत महिला कुनै न कुनै निहुँमा घरेलु हिंसालगायत अन्य प्रकारका हिंसाका सिकार हुने भयावह अवस्था देखाएको छ ।

कुनै पनि व्यक्तिले महिलामाथि हिंसा र अपराध गर्नुभन्दा पहिले तीनपल्टसम्म सोच्ने संस्कार र सबकसम्म नसिकाउने हामी र राजनीतिक आड एवम् दबाबमा दण्डहीनतालाई प्रश्रय दिने जो–कोही दोषीको भागिदार हुँदै हाँै । पटक–पटक परिवर्तन हुँदै आएको शासन व्यवस्थाका ठेकेदारले समेत पितृसत्तात्मक सोच र संस्कारलाई भत्काएर समतामूलक समाजको जग बसाल्न नसक्नु अर्को विडम्बना हो । मुलुक शान्ति प्रक्रियामा गइसकेको अवस्थामा हिंसा, विभेद र अन्यायविरुद्ध संविधानले महिला हक–अधिकार संरक्षणको प्रयास गर्दै गरेको अवस्थामा महिला हिंसाका घटना घट्नुको साटो दिनहुँजसो बढिरहेका छन् । ‘गणतन्त्र आयो समृद्धि छायो’ भन्नेजस्तो शैलीको हुंकार पिट्दै सरकारप्रमुख रंगीन पोस्टरमा टाँसिएर खम्बा–खम्बामा झुन्डिदै हिंसाविरुद्ध लैँगिक समानता र न्यायको वकालत गरी आन्दोलनमा उत्रनेको मुख थुन्ने कसरतमा लागेका छन् । युग र राजनीतिक व्यवस्था धेरै फेरिए तर महिलाका पक्षमा सुधार्नुपर्ने संकुचित सोचाइ र व्यवहार किन फेरिँदैन ?

मदिराका कारण आफ्नै श्रीमान्बाट महिलाहरु कुटपिट तथा अंगभंग भएका र हत्या नै भएका घटना प्रशस्तै बाहिर आइरहेछन् । मदिराका कारण महिला हिंसा तथा सामाजिक अपराध बढेको र सामाजिक सद्भावमा समस्या आएको भन्दै विभिन्न ठाउँमा प्रहरीले अवैध मदिरा नष्ट गरिरहेको छ । आखिर सबै व्यवसाय धराशायी हुँदै जाँदा यसरी मदिरा व्यवसायचाहिँ किन चौगुना फस्टाइरहेछ त ?

महिलाले आफ्ना सुरक्षाका लागि पाइला–पाइलामा सजगता अपनाउनुपर्छ, पुरुषको दृष्टिबाट बच्न सावधानी अपनाउँदै आफूलाई सुरक्षित तुल्याउनुपर्छ । अन्ततः आफूमाथिको हिंसा सहनु नै महिलाको ठूलो धर्म हो भन्ने नैतिक शिक्षाबाट नै आज पनि दीक्षित हुँदै छन् महिला । देवानी संंहिता र अपराध संंहिताको प्रभावकारी कार्यान्वयन हुन नसक्दा र दण्डहीनताले प्रश्रय पाउँदा महिलाका लागि हिंसाविरुद्धको न्याय प्राप्ति झन् कठिन बन्दै छ । पाइला–पाइलामा हिंसात्मक अनुभूति महिलाको नियति नै बनिसकेको छ । महिला हिंसामध्ये बलात्कारको घटना हाल यति डर लाग्दो गरी बढिरहेको छ कि जुनसुकै उमेरका जो–कोही महिला दिनहुँजसो सुनिने बलात्कारका घटनाले आक्रान्त छन् । दिनहुँ भइरहेको बलात्कारजन्य घटनाले महिलामाझ कोलाहल मच्चिएको छ, कसरी सुरक्षित हुने भन्ने चिन्ता अब वृद्धादेखि बालिकासम्म उत्तिकै छ । महिलाको फेसन र हावभावले बलात्कारको घटना बढेको भन्ने आक्षेपलाई झुटो प्रमाणित गर्दै हाल स–साना बालिका तथा वृद्धाहरु बलात्कृत हुने क्रम बढेको छ ।

महिलामाथिको हिंसाले पीडकलाई मात्र होइन, परिवार, समाज र राज्यमाथि नै ठूलो आघात पार्ने निश्चित छ । आर्थिक परनिर्भरता, फितलो कानुन तथा धर्म संस्कारको जडतामा पिल्सिएका महिलाले हिंसाका विरुद्ध न्यायको वकालत गर्दा थप हिंसा, अपमान र असुरक्षाको समस्या झेल्नुपर्ने विवशता छ । समाजमा रहिआएका परम्परागत कुसंकार र कुरीतिका आडमा महिलालाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार कतिपय समुदायमा त यति निकृष्ट छ कि महिलाले आफ्नो मानवाधिकार मात्र होइन, मानवीय हैसियत नै गुमाउनुपर्ने अवस्था छ ।

विशेषतः महिला हिंसा, अन्याय र विभेदविरुद्ध लक्षित गर्दै महिला सशक्तीकरण र न्याय प्राप्तिका प्रक्रिया सहजरुपमा अघि बढाउन कांग्रेसका नेता तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०५८ सालमा महिला आयोगको गठन गरे पनि महिला हिंसाविरुद्ध सशक्त अभियान, जागरण र न्याय सम्पादनको गुणात्मक अपेक्षा अघि बढ्न सकेन । महिला हिंसाका दर्दनाक घटना न्यूनीकरण गर्न र न्याय प्राप्तिको प्रक्रियालाई सहज तुल्याउन महिला आयोगलाई नै क्रियाशील गराउने कार्यमा शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण जरुरी भएको छ । किनभने हिंसाविरुद्धको यो अभियान महिलाले मानवाधिकारका लागि आवाज बुलन्द पार्ने अवसर पनि हो ।

यसका लागि स्थानीय सरकारमा निर्वाचित एक तिहाइ महिलाबाट समेत महिला आयोगकै सक्रियतामा जुनसुकै बहाना र बलमा गरिने लैंगिक हिंसा र विभेदविरुद्ध राज्यव्यापी जेहाद किन नछेड्ने ? अब हिंसाविरुद्धको १६ दिने अभियानलाई महिला सम्मान र सशक्तीकरणको अभियानका रुपमा बदल्ने चेष्टा किन नगर्ने ? लैंगिक विभेद र हिंसाविरुद्ध बर्सेनि करोडौंको खर्चमा कैयाँं दिनको अभियानभन्दा एकै दिनको दर्बिलो अठोट काफी हुन्छ । के यसका लागि प्रजातन्त्र र मानवाधिकारको खरो पक्षपाती कांगे्रसका अगुवा सशक्तरुपमा सतहमै उत्रन तयार छन् ?

दिनहुँजसो हुने महिला हिंसाका घटनामध्ये मदिराको मातमा छिमेकी तथा आफन्तबाटै जघन्य हत्या,, हिंसा, बलात्कार भइरहेको डर लाग्दो तथ्य बाहिरिइरहेको छ । आफ्नै बाबु, दाजु, काका, भिनाजुलगायत नजिकका आफन्त, नातेदार तथा छिमेकीबाटै मदिराको मातमा बलात्कार भएको तथ्य बारम्बार सार्वजनिक भइरहँदा मदिरा सेवन तथा बेचबिखनमा कडा कानुनको आवश्यकता खट्किएको महसुस गर्दै सरकारले केही दिनअघि मदिरा उत्पादन, बिक्री वितरण, सेवन र विज्ञापनमा कडाइ गर्ने बतायो । जसअनुसार आइन्दा इजाजतप्राप्त विक्रेताले दिउँसो ४ बजेदेखि बेलुका ९ बजेसम्म मात्र मदिरा बेच्न पाउनेछन् । इजाजतप्राप्त होटेल, लज, बार तथा रेस्टुरेन्टले साँझ ५ बजेदेखि १० बजेसम्म मात्र मदिरा बिक्री वितरण तथा सेवन गराउन पाउनेछन् ।

त्यस्तै कुनै पनि संघसंस्था तथा व्यक्तिले आयोजना गर्ने समारोह तथा कार्यक्रममा मदिरा सेवन गर्न पाइनेछैन । सरकारी निकायबाट आयोजित सभा–सम्मेलनमा मदिरा निषेध गरिनेछ । मदिरा सेवन गर्नेलाई यातायातका साधन चलाउन र चढ्नसमेत रोक लगाउँदै सार्वजनिक निकाय प्रवेशमा समेत रोक लगाइने उल्लेख छ । कुनै सञ्चारमाध्यम तथा विज्ञापनमा मदिराजन्य उत्पादन तथा प्रसारण गर्न पाइनेछ्रैन । केही प्रदेश सरकार तथा नगरपालिका र गाउँपालिकासमेत मदिराजन्य पदार्थ उत्पादन बिक्री वितरण, कारोबार तथा सेवनमा कडाइ गर्ने तयारीमा छन् । समाजमा हुने अधिकांश हिंसा, हत्या, दुर्घटना, दुव्र्यव्यवहार तथा अपराधका घटनामा मदिरा सेवन गम्भीर कारकका रुपमा देखिएको र मदिराले हिंसा मात्र नभई गरिबी पनि निम्त्याएको भन्दै सरकारसँगै प्रदेश र स्थानीय निकायसमेत मदिराविरुद्ध कठोर नीति लागू गर्दै छन् । महिला हिंसाविरुद्ध १६ दिने अभियान चल्दै गर्दा सरकारले लागु गर्न लागेको मदिरा नियन्त्रणसम्बन्धी यो नीति पनि महिला हिंसाविरुद्धको प्रभावकारी कदम हो ।

मदिराका कारण बलात्कारका घटना मात्र होइन, घर–घरमै महिला हिंसाका घटना चर्कारुपमा भइरहेका छन् । विशेषतः मदिराका कारण आफ्नै श्रीमान्बाट महिलाहरु कुटपिट तथा अंगभंग भएका र हत्या नै भएका घटना प्रशस्तै बाहिर आइरहेछन् । मदिराका कारण महिला हिंसा तथा सामाजिक अपराध बढेको र सामाजिक सद्भावमा समस्या आएको भन्दै विभिन्न ठाउँमा प्रहरीले अवैध मदिरा नष्ट गरिरहेको छ । आखिर सबै व्यवसाय धराशायी हुँदै जाँदा यसरी मदिरा व्यवसायचाहिँ किन चौगुना फस्टाइरहेछ त ? प्रहरीले अवैध मदिरा भन्दै घरेलु मदिरा नष्ट गरिरहे पनि विदेशी ब्रान्डका महँगा मदिराका ठाडा बोतल बजारमा छ्यापछ्याप्ती भित्रिएका छन् । नेपालमा कागज, कपडा, धागो, खाद्यवस्तुलगायतका विभिन्न अत्यावश्यक वस्तु निर्माण हुने उद्योगधन्दा मासिँदै जाँदा स्वास्थ्यलाई हानि गर्ने र परिवारमा कलह मच्चाउने मदिरा उत्पादन गर्ने कम्पनीको संख्याचाहिँ बढ्दै जानु विडम्बना होइन र ?

मदिरा सेवन गरी आफ्नै बाबुले छोरी बलात्कार गरेका घृणित घटनासमेत बारम्बार समाचारमा आइरहेछन् । बाबुबाट छोरी बलात्कृत र युवाबाट वृद्धा बलात्कृत हुनुमा आपराधिक मानसिकता मात्र नभई मदिराको मातमा भएका घटना उत्तिकै छन् । केही महिनाअघि मात्र मदिराको मातमा बालिका बलात्कार गरी हत्या गरेको घटनामा मदिरा सेवनकै कारण आफूबाट यस्तो जघन्य अपराध भएको पोखरामा एक युवाले स्वीकारेको केही समय नबित्दै रोल्पाको गंगादेव गाउँकी ६५ वर्षीया महिलालाई माइतीबाट फर्कंदै गरेको अवस्थामा आफूभन्दा कान्छा उमेरका देखिने एक पुरुषले मदिरा सेवन गरी जबरजस्ती बलात्कार गरेको समाचार बाहिरियो ।

मदिराका कारण बलात्कारका घटना यति डरलाग्दो गरी बढिरहेछ कि देशैभरि हजुरबा, बाबु, दाजु, काका, मामाबाट समेत बालिका, युवती र उमेर ढल्कँदै गरेका महिला सुरक्षित हुन नसकेको अवस्थामा मदिरा नियन्त्रणसम्बन्धी कठोर नीति सरकारले तत्काल लागू किन नगर्ने ? फरक राजनीतिक घटनाक्रमसमेत जोडिन आउने वर्तमान कम्युनिस्ट शासनकालमा यसरी बलात्कार, एसिड प्रहार, घरेलु हिंसालगायत सामाजिक सद्भाव र शान्ति नै खल्बल्याउने गरी बढेका अपराध र आतंकका घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण खोई ?

प्रतिक्रिया दिनुहोस्