स्याउ फल्ने ठाउँ सिकाई केन्द्रको रुपमा स्थापित हुँदै



विनोद सिंह विष्ट, बैतडी ।
केही बर्ष अगाडीसम्म स्याउ उत्पादनका लागि प्रसिद्ध ठाउँ हो बैतडीको सतबाँझ । दशरथचन्द राजमार्गसंगै जोडिएको सुन्दर तथा मनमोहन ठाउँ रहेको दशरथचन्द नगरपालिका १ गुरुखोला र सुर्नया गाउँपालिका २ सतबाँझमा पछिल्लो समय स्याउ फल्न छोडेको छ ।

पछिल्लो केही वर्षयता सतबाँझमा स्याउ फल्न छोडेको छ । स्याउका लागि निकै प्रसिद्ध रहेको सतबाँझमा जलवायु परिवर्तनका कारण पछिल्लो १० वर्षयता स्याउ उत्पादन हुन छोडेको हो। विसं २०१९ सालमा स्थापना भएको वागवानी विकास केन्द्र २०६२ सालदेखि सुख्खा फलफूल विकास केन्द्रको नामले परिचत छ। सुख्खा फलफूल विकास केन्द्र सतबाँझमा स्याउ फल्न छोडेपछि हिउँदे फलफूलका बिरुवा उत्पादन गर्न थालिएको छ ।

उक्त सुख्खा फलफूल विकास केन्द्र पछिल्लो समयमा सिकाइ केन्द्रको रुपमा स्थापित हुँदै गएको छ । प्रदेश सातका विभिन्न जिल्लाका कृषि बिषय लिएर पढीरहेका विद्यार्थीहरु प्रशिक्षार्थीको रुपमा केन्द्रमा पुग्ने गरेको सुख्खा फलफूल विकास केन्द्रका प्रमुख बरिष्ठ वागवानी विकास अधिकृत खगेन्द्रप्रसाद शर्माले जानकारी दिए । अहिले पनि ४९ जना विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरु ओजीटीमा काम गरिरहेका छन् । उनले भने“सख्खा फलफूल विकास केन्द्रमा प्रशिक्षार्थीहरुलाई प्रयोगात्मक सीप सिकाउने गरिएको छ ।”

फलफूलका बिरुवा, तरकारीबाली लगाउने तरीका, बिषादीको प्रयोग, जैविक मलको प्रयोग लगायतका बिषयमा उनीहरुले सुख्खा फलफूल विकास केन्द्रमा सिक्ने गरेको प्राविधिक सहायक अर्जुन खड्काले जानकारी दिए । उनले भने“ किसानहरुलाई पनि फलफूलका बिरुवा लगायत कृषि सम्बन्धि अन्य सीपहरु सिकाउने गरेका छौं ।”

सुख्खा फलफूल विकास केन्द्रबाटै फलफूलका बिरुवाको नर्सरी बनाउने सीप सिकेर दशरथचन्द नगरपालिका वडा नम्बर १ र सुर्नया गाउँपालिका वडा नम्बर २ बासुलिंगका किसानहरुले निजी नर्सरीसमेत बनाएको छ ।

बोटविरुवाका निजी नर्सरीबाटै किसानहरुले मनग्गे आम्दानी गरिरहेका छन् । यस्तै पछिल्लो समयमा प्राविधिक विषयतर्फ कृषि पढिरहेका विद्यार्थीहरु पनि प्रयोगात्मक कक्षाका लागि सुख्खा फलफूल विकास केन्द्रमा पुग्ने गरेका छन् ।

बोटहरु कलमी गर्ने, ग्राफटिङ गर्ने, प्लास्टिक हाउसभित्र तरकारी खेती गर्ने तरीकाका बारेमा सिकाउने गरिएको छ । सुख्खा फलफूल विकास केन्द्रले प्लास्टिक हाउसभित्र तरकारी खेती गर्ने तरीकाका बारेमा सिकाउनका लागि सुख्खा फलफूल विकास केन्द्रभित्रै प्लास्टिक हाउसमा तरकारी खेती समेत गरिएको बरिष्ठ बागवानी विकास अधिकृत शर्माले बताए ।

सुख्खा फलफूल विकास केन्द्रले कम चिस्यानमा उत्पादन हुने स्याउको जातको खोजीमा लागेको पनि जनाएको छ । चिस्यान कम भए पनि फल्ने स्याउको बिरुवा भन्दापनिसुख्खा फलफूलका बिरुवाहरू नर्सरीमा राखिएको छ । सशस्त्र द्वन्दका बेला व्यवस्थापन कार्यमा कमी आयो र स्याहारसम्भारमा ध्यान दिन नपाउँदा प्राकृतिक प्रकोपले अहिले समस्या आएको हो ।

स्याउ फल्न छोडेपछि ओखर, नासपाती, खुर्पानी लगायतका सुख्खा फलफूलका बिरुवा उत्पादन गरिरहेको सुख्खा फलफूल विकास केन्द्रले किसानहरुलाई सीप पनि सिकाईरहेको किसान देवदत्त भट्टले बताए । उनले भने ‘हामीले पनि सुख्खा फलफूल विकास केन्द्रबाट धेरै सीप सिकेका छौं । गुरुखोलामा मात्रै २२ ओटा निजी नर्सरी छन् । स्याउ फल्ने समयसम्म स्याउका बोट उत्पादन गथ्र्यौं । अहिले हामीहरु पनि अन्य फलफूलका बिरुवा उत्पादनमा लागेका छौं ।’

प्रतिक्रिया दिनुहोस्