खरायोको ऊनबाट बनेको टोपी र स्वीटरप्रति आकर्षण बढ्यो



किरन धामी, दार्चुला
दार्चुला जिल्लामा उत्पादन गरिएको अंगुरा खरायोको टोपी र स्वीटरप्रति बेलायती नागरिकको आकर्षण बढेको छ । जिल्लाको दुहुँ गाउँपालिका–४ धारीका ४५ वर्षीय धिरसिंह कार्कीले आशाकिरण अंगुरा खरायो पालन फर्म स्थापना गरी खरायोको ऊनबाट उत्पादन गरेका स्वीटर र टोपी बेलायती नागरिकको आकर्षणमा परेका हुन् ।

चालँ आर्थिक वर्षमा दार्चुलाको पर्यटकीयस्थलहरु घुम्न आएका बेलायती नागरिकले अंगुरा खरायोको ऊनबाट बनेका स्वीटर टोपी खरिद गरेर गएको कार्कीले बताउनुभयो ।

अंगुरा खरायोको ऊनबाट बनेका टोपी र स्वीटरको काठमाडौं, धनगढीदेखि बेलायतसम्म माग हुने गरेको उहाँको भनाइ छ । कार्कीले १५ वर्षदेखि अंगुरा खरायो पालन गरी खरायोको उनबाट टोपी र स्वीटर बुन्दै आउनु भएको छ । एउटा स्वीटर तयार गर्न ६० देखि ६५ वटा र टोपी बनाउन ३० देखि ३५ वटा खरायोको ऊन आवश्यक पर्ने कार्र्कीले जानकारी दिनुभयो ।

निकै मुलायम हुने खरायोको ऊनबाट कार्की टोपी, बाहुला नभएको तथा बाहुला भएको स्वीटर बुन्दै आउनुभएको छ । यसबाट कार्कीले वार्षिक ५०–६० हजार रुपियाँ आम्दानी गर्दै आउनुभएको छ । अंगुरा खरायोको ऊनबाट निर्मित टोपीलाई २ हजार, बाहुला भएको स्वीटरलाई १४ हजार तथा बाहुला नभएको स्वीटरलाई ८ हजार रुपियाँ पर्ने कार्कीले बताउनुभयो । अंगुरा खरायोको ऊनबाट निर्मित टोपी तथा स्वीटर बाथरोग, दम र निमोनिया निको हुने उहाँको भनाइ छ ।

जिल्ला लद्यु उद्यमी समँहबाट तालिम लिएपछि टोपी र स्वीटर बुन्दै आएको बताउने कार्कीले हरेक चार महिनामा खरायोको ऊन काट्ने जानकारी दिँदै ऊन प्रशोधन गरी टोपी र स्वीटर बुन्न एक महिना लाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्