उत्तर कोरियाले क्षेप्यास्त्र केन्द्र विकास गरिरहेको सीएनएनको दावी



वासिङटन (एजेन्सी)
अमेरिका राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम जोंग उनबीच गत जुनमा भएको ऐतिहासिक वार्ता यस बर्षकै सबैभन्दा चर्चित भेटवार्ता मध्यको एक हो ।

उक्त बैठकमा किम जोंग उन आफनो परमाणु र क्षेप्यास्त्र कार्यक्रममा रोक लगाउन सहमत भएका थिए । तर हालैको स्याटलाइट तस्वीरबाट उत्तर कोरिया आफनो प्रमुख लामो दुरीको क्षेप्यास्त्र आधार विस्तार गरिरहेको खुलासा भएको छ । सीएनएने ती तस्वीरको आधारमा उक्त दावी गरेको छ ।
ट्रम्प र किमबीच सिंगापुरमा भएको उक्त शिखर वार्तामा कोरियाली प्रायद्विपलाई पुर्ण परमाणु निसस्त्रिकरण गर्न सहमति बनेको थियो, यद्यपी यसलाई कसरी नतिजामा पुर्याउने भन्ने विषयमा सम्झौतामा विशेष विवरण थिएन ।

सीएनएनको समाचार अनुसार उत्तर कोरियाले पहाडी इलाकामा पर्ने आफनो योङजोङ क्षेप्यास्त्र केन्द्रलाई परिमार्जित गरेको मात्र नभई एक नयाँ आधारको पनि निर्माण गरेको छ ।

उक्त क्षेप्यास्त्र केन्द्रको स्थान उत्तर कोरियाको नयाँ लामो दुरीका क्षेप्यास्त्रका लागि अन्त्यन्त उपयुक्त भएको विशेषज्ञहरुले अमेरिकी न्युज नेटवर्क सीएनएनलाई बताएका छन् । यसमा परमाणु हतियार बोक्न सक्षम क्षेप्यास्त्र पनि पर्छन् ।

अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले आफनो बयानमा उत्तर कोरिया माथि अन्त्यन्त नजिकबाट निगरानी भइरहेको तर जासुरी सुचनाहरुको चर्चा गर्न नसकिने उल्लेख गरिएको छ ।

गत शनिबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०१९ को सुरुवाट मै किमसँग दोस्रो बैठक बस्ने आशा ब्यक्त गरेका थिए । यसबीच अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले मंगलबार उत्तर कोरियाली नेताले सिंगापुर शिखर बैठकमा गरेका प्रतिबद्धता पुरा नगरेको राष्टपति ट्रम्पको मान्यता रहेको बताएका थिए ।

अमेरिकी अधिकारी उत्तर कोरियामाथि लागेको कडा प्रतिबन्ध हटाउनु अगाडी कोरियाली प्रायद्विपको पुर्ण परमाणु निसस्त्रिकरणमा जोड दिइरहेका छन् । तर उत्तर कोरियाले अमेरिकाको उक्त माग एक पक्षिय कारवाही हुने बताउँदै त्यसलाई अस्विकार गरेको र दुबै पक्षले क्रमिक रुपमा सकारात्मक कदम उठाउनु पर्ने जनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्