एकथोक भन्ने अर्थोक गर्ने



गलत राजनीतिको प्रभाव जताततै परेको छ । दल र नेताहरुले जनतालाई ढाट्नु सामान्य भैसकेको छ । नेताहरुलाई जे बोले नी छुट छ । देश र जनताको लागि भन्दै आफ्नो दल र व्यक्तिगत स्वार्थ अनुसारमात्र अघि बढ्ने दल र नेताहरुको सिको प्रशासन संयन्त्रले पनि गर्न थालेको छ ।

सरकारी अड्डाहरुमा पनि एकथोक भन्ने अर्थोक गर्ने प्रसस्त उदाहरण छ । सेवाग्राहीको सेवाका लागि बसेका कर्मचारी सेवा भन्दा पनि मेवा तिर ध्यान दिन्छन । विकासे अड्डाहरुमात्र हैन जताततै सेवाग्राहि संग घुस नखाई केहि नगर्ने प्रशासन संयन्त्र छ । यो प्रवृति स्थानीय सरकारको वडा तहसम्मै पुगेको छ । राजनीतिक प्रभावले नै होला सुरक्षा निकाय समेत एकथोक भन्ने अर्थोक गर्ने गर्न थालेका छन् ।

निर्मला पन्तको बलात्कार र हत्या पछि सुरक्षा निकायले गरेको अनुसन्धान माथि उठेको प्रश्नलाई केलाउने हो भने पनि कानुन कार्यान्वयन गराउने प्रमुख निकाय प्रहरी प्रशासन कति निकम्बा छ भन्ने देखाउछ । यतिसम्म कि पछिल्लो समय न्याय माग्दै निर्मला पन्तको फोटो टास्दा प्रहरीले देखाएको व्यवहारले पनि प्रहरी प्रशासन एकथोक भन्ने अर्थोक गर्ने प्रष्ट हुन्छ ।

सरकार भेटियो न्याय भेटिएन भन्दै निर्मला पन्तको फोटो सहितको पोष्टर देशव्यापि टासिएको छ । प्रहरीले यो पोष्टर टास्नेलाई धरपकड गर्ने, पोष्टर च्यात्ने कार्य गरिरहेको छ । प्रहरीले न्याय मागिएको पोष्टर च्यातेको फोटो, भिजल सबै छरपष्ट छ । तर, प्रहरी भन्छ– हामिले निर्मला पन्तको फोटो सहितको पोष्टर च्यातेका छैनौं र न्याय माग्नेलाई धरपकड पनि गरेका छैनौं । पोष्टर च्यात्ने प्रहरीलाई कार्वाहि हुन्छ भनेर प्रहरीका उच्च अधिकारीले भने कार्वाहि भएको पाइएको छैन ।

सुरक्षा निकायको कुरा गर्दा सेना भित्र हुने भ्रष्टाचारलाई छानविन गर्ने राजनीतिक प्रतिवद्धता धेरैपटक भए । तर, सेना भित्र भैरहेको अनियमितता र भ्रष्टाचारको छानविन हुन सकेको छैन । सेना भित्रैबाट कहिले काहि आउने सामान्य छानविन बाहेक ठुलाठुला अनियमितताहरुको छानविन त परै जाओस समाचारहरु पनि बाहिर आउदैन् । यसमा प्रमुख दलका नेताहरु पनि तै चुप मै चुप गर्ने गरेका छन् । पेट्रोलको मुल्य १५ रुपैया सस्तो हुदा पनि उपभोक्तालाई दुई रुपैया मात्र मुल्य घटाइएको छ ।

ठुलालाई चैन सानालाई ऐन भने जस्तो हरेक निकायमा छ । सरकारको सुशासनका कुरा कुरामै सिमित छ व्यवहारमा लागु भएको छैन । राजनीतिक दल र नेताहरुले सिकाएको एकथोक भन्ने अर्थोक गर्ने चलन राज्यका हरेका निकायमा व्याप्त रहेकोले यसलाई नहटाएसम्म देश र जनतालाई समृद्ध र सुखि बनाउने कुरा नारामै सिमित रहन्छ ।

प्रतिक्रिया दिनुहोस्