निर्मलालाई न्याय माग्दै हेटौंडामा प्रदर्शन



हेटौंडा ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यारालाई सार्वजनिक गर्दै निर्मलालाई न्याय दिनुपर्ने मागसहित हेटौंडामा प्रदर्शन गरिएको छ ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आइतबार हेटौंडामा प्रदर्शन गरेको हो । हेटौंडाको बनविज्ञान अध्ययन सस्थानबाट निस्किएको ¥याली हेटौंडाको सीमाचौकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई पक्राउ गर्न सरकार असफल भइरहेको बेला विप्लवको दल न्यायका लागि सडकमा उत्रिएको हो । न्यायका लागि निरन्तर आवाज उठाइरहने न्यायको माग राख्दै भएको प्रदर्शनमा सहभागीले बताए । प्रदर्शनका क्रममा सहभागीले ‘निर्मलालाई न्याय दे, हत्यारालाई फाँसी दे, सरकार मुर्दावाद’ जस्ता नारा लगाएका थिए ।

लामो समयसम्म निर्मला हत्याकाण्डका दोषी फेला नपरेको भन्दै उसले सरकारको राजीनामाको माग गरेको छ । नगर परिक्रमापछि आयोजित कोणसभालाई पार्टीका नेताहरुले सम्बोधन गरेका थिए ।

कोणसभामा नेकपा मकवानपुरका सेक्रेटरी वाटरले निर्मलाका हत्यारालाई राज्यले संरक्षण गरेको भन्दै अब आफूहरुले कारबाही गर्ने बताउनुभयो । उहाँले राज्यले निर्मलाका हत्यारालाई जानीजानी संरक्षण गरेको दाबी गर्नुभयो ।

वर्तमान सरकार हत्या र अराजकता फैलाउन बनेको भन्दै उहाँले अब नेकपाले पीडितका पक्षमा न्याय दिने कार्यक्रमहरु गर्ने चेतावनी दिनुभयो । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर इञ्चार्ज वीरबहादुर घलान (ज्वाला) ले लाचार सरकारले निर्मलालाई न्याय दिन नसक्ने बताउनुभयो । उहाँले सरकारले नै निर्मलाका हत्यारालाई कारबाहीको सट्टा जोगाउने प्रयास गरिरहेको आरोप लगाउनुभयो ।

उहाँले भन्नुभयो–सरकारकै मद्धतमा हत्यारालाई जोगाउने प्रयास भइरहेको छ । सरकारकै संरक्षणमा प्रमाण नष्ट गर्ने काम गरियो । ‘निर्मला घटनाले नेपालका अन्य दिदीबहिनीको मानसिकता कस्तो बनेको होला ? जनतालाई सुरक्षाको प्रत्याभूति कस्तो होला ? अनि, न्यायका लागि दिनरात लागिरहेका निर्मलाका परिवार कति पीडामा होलान् ?,’ उहाँले प्रश्न गर्नुभयो ।

लाचार सरकारले निर्मलाको न्यायका लागि शान्तिपूर्णरुपमा प्रदर्शनमा उत्रिएकाहरुलाई धरपकड गर्ने, उनको न्यायका लागि सरकारलाई पहल गर्न टाँसिएका पोष्टरहरु च्यात्ने गरेको भन्दै सरकार नै निर्मलालाई न्याय दिने पक्षमा नरहेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो–पार्टीले केन्द्रीयस्तरको छानबिन समिति बनाएको छ । अब उक्त समितिले नै निर्मलालाई न्याय दिलाउने छ । उहाँले नेपाल कम्युनिष्ट पार्टीबाट मात्र अब देशको अबस्थामा परिवर्तन आउनसक्ने दाबी गर्नुभयो ।

१३ वर्षीया किशोरी निर्मलाको करिब ४ महिनाअधि बलात्कारपछि हत्या भएको थियो । देशमा बढ्दै गएका थुप्रै निर्मलाहरुको बलात्कार र हत्याको विरुद्धमा नेकपाको जनप्रदर्शनमा मकवानपुर जागरण अभियानका तर्फबाट पूर्ण ऐक्यवद्धता रहेको अभियान अध्यक्ष कृष्णराज कोइरालाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्