दोगडाकेदारमा एक करोडको खेलमैदान निर्माण हुँदै



विनोद सिंह विष्ट, बैतडी ।
बैतडीको दोगडाकेदार गाउँपालिकामा १ करोडमा पालिकास्तरीय खेल मैदान निर्माण कार्य सुरु गरिएको छ । गाउँपालिकाको चालु आर्थिक बर्षको १५ लाख बजेटका खेलमैदान निर्माणको कार्य अघि बढाईएको हो ।

दोगडाकेदार गाउँपालिकाको वडा नं ३ श्रीकोट र वडा नं ७ देउलेकको सीमाना लवलेक(लडालेक)का खेलमैदान निर्माण कार्य भईरहेको छ । २०० मिटर चौडाई र ४०० मिटर लम्वाई हुने उक्त खेलमैदानको लागी थप आवश्यक पर्ने बजेटका प्रदेश सरकार र संघिय सरकारसंग माग गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए । सुविधासम्पन्न बन्ने खेलमैदानलाई गाउँपालिकाले क्रमागत योजना राखेको अगामी बर्ष पनि उक्त मैदान निर्माणका लागी बजेट छुट्याईने उनको भनाई छ ।

उक्त खेलमैदान निर्माणको लागी प्रतिनिधि सभा सदस्य दामोदर भण्डारी र सुदूरपश्चिम प्रदेशका प्रदेश सभा सदस्य लिलाधर भट्टले सहयोग गर्ने आश्वासन दिएको छ । सुविधासम्पन्न उक्त खेलमैदान १ करोडको लगानीमा निर्माण सम्पन्न हुने अनुमान गरिएको गाउँपालिका अध्यक्ष कार्कीले भने“स्टेडियम नै बनाउने गरी निर्माण कार्य अघि बढाईएको छ ।”

युवालाई खेलप्रति आकर्षित गराउन दोगडाकेदार गाउँपालिकाले एक वार्ड एक खेलमैदानको अवधारणा अघि बढाएर काम सुरु गरेको छ । यसअघि गाउँपालिकाका वडा नं ७ मा चनैराज खेलमैदान,वडा नं ५ मा धनथला खेलमैदान, र वडा नं ८ मा कटौजपानी खेलमैदान निर्माण गरेको छ ।

गाउँपालिकाले निर्माण गर्न लागेको सुविधासम्पन्न खेलमैदान पश्चात पालिकाभित्र खेलकुदका गतिबिधी बढ्ने बिश्वास गरिएको छ । खेलमैदानको अभावमा हुन नसकेका खेलकुद प्रतियोगिता पनि सञ्चालन हुने विश्वास श्रीकोट युवा क्लवका अध्यक्ष हेमराज गिरीको रहेको छ । उनले भने“खेलमैदान निर्माणपछी दोगडाकेदारले खेलक्षेत्रमा निकै फड्को मार्नेछ ।”

पालिकास्तरिय खेलमैदान निर्माण सुरु भएपछी दोगडाकेदारका खेलप्रेमी युवा तथा नागरिक हर्षित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्