८ महिनादेखि तौलपुल बन्दः सडकमा बढेको खाल्डाखुल्डीले दुर्घटनाको जोखिम



हेटौंडा,(नेस) ।
हेटौंडामा केन्द्रीय कार्यालय रहेको नारायणी यातायात व्यबसायी संघले २०५६ सालमा हेटौंडा–११, थानाभ¥याङमा स्थापना गरेको तौलपुल हाल बन्द छ । १९ वर्षसम्म निरन्तर सञ्चालनमा रहेको तौलपुुल वैशाख २१ गते स्थानीय प्रशासनले बन्द गरेको थियो ।

राजमार्गका तौल पुल बन्द गराउँदा सवारीसाधनले क्षमताभन्दा धेरै भार बोकी सडक बिग्रने र सवारी दुर्घटनासमेत बढ्ने तौलपुल सञ्चालकको भनाइ छ । नेपालभर रहेका १६ तौलपुलमध्ये हेटौंडामा सञ्चालित तौलपुल पनि बन्द गराइएको थियो ।

ओभरलोड बोकेर हेटौंडाहुँदै राजमार्गमा दौडिने भारी सवारीसाधन पछिल्लो समय बढ्दै गएका छन् । राजमार्गका पीच सडकमा यही कारण खाल्डाखुल्डी देखिएको छ । यसले दुर्घटनाको सम्भावना देखिएको व्यवसायी तथा चालक बताउँछन् ।

संघले बिगँ्रदै गएका सडक, ट्रक, ट्रिपरलगायत मालबाहक सवारीसाधनले ओभरलोड बोक्ने गरेका कारण तौलपुल सञ्चालनमा ल्याएको थियो । तर, स्थानीय प्रशासनले तौलपुल नजिक रहेको राप्तिपुलमा ओभरलोड भएको पनि कारण जनाउँदै तौलपुल सञ्चालनमा रोक लगाएको संघ अध्यक्ष हीरालाल श्रेष्ठले बताउनुभयो ।

हेटौंडाका सडकको भन्दा बढी क्षमतामा सवारीसाधनले मालसामान बोक्ने गरेका कारण आफूहरुले तौलपुल सञ्चालन गरेको श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार अब नारायणी यातायात संघ तौलपुल सञ्चालनका लागि सहयोगी तथा सल्लाहकारका रुपमा मात्र रहनेछ । व्यवसायीले नै यसको जिम्मा लिने ढंगले अघि बढ्ने उहाँको भनाइ छ ।

बन्द हुनुअघि तौलपुलमा ३७ कर्मचारी रहेको र दैनिक २० हजार आम्दानी हुने गरेको उहाँको दाबी छ । महिनामा लागत खर्च कटाएर करिब एक लाख बच्ने गरेको अध्यक्ष श्रेष्ठले स्मरण गर्नुभयो ।

सवारीसाधनले सडकको भन्दा बढी मालसामान बोक्न थालेपछि हेटौंडा उपमहानगरपालिकाले तौलपुल सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरको परिपत्रअनुसार सडकलाई सुरक्षित गर्न स्थानीय तहले तौलपुल सञ्चालन गर्नसक्ने व्यबस्थाअनुसार व्यबस्थित स्थानको खोजी गरेर तौलपुल सञ्चालन गर्ने तयारी गरिएको हो ।

मालबाहक सवारीसाधनले ओभरलोड बोक्ने गरेका कारण तौलपुल सञ्चालन गर्ने गरी कार्यपालिका बैठकले निर्णय गरेको मेयर हरिबहादुर महतले बताउनुभयो । उपमहानगर यातायात समिति संयोजक गोकर्ण पराजुलीले तौलपुल सञ्चालनका लागि उपयुक्त जग्गा खोजी गरेर सबै भारी सवारीसाधनलाई तौल गरेरमात्र पठाइने बताउनुभयो ।

यातायात समितिको नाममा वार्षिक २१ करोड १३ लाख २० हजार रुपियाँ अवैधरुपले ‘कर’ संकलन गरेको भन्दै प्रशासनले तौलपुल बन्द गराएको छ । तौल गरेबापत् संघले प्रतिमालबाहक ट्रकबाट २ सय ३५ रुपियाँ लिँदै आए पनि राजस्व दाखिला नगरी अनियमित गरेको भन्दै प्रशासनले तौलपुल बन्द गराउन प्रहरीलाई निर्देशन दिएको थियो । वर्षौं अघिदेखि तौल गर्दै आएको तौलपुल सञ्चालन गर्न नदिने गरी बन्द गरिएको हो ।

तौलपुलमा दैनिक २ हजार ५ सयसम्म ट्रकको इन्ट्री गरेर तौलने काम भएको थियो । त्यसवापत् महासमिति शुल्क भनेर प्रतिट्रक एक सय दश रुपियाँ, समिति शुल्क भनेर एक सय रुपियाँ र तौल शुल्कबापत् २५ रुपियाँ गरी प्रतिट्रक २ सय ३५ रुपियाँ संकलन गरिँदै आएको यातायात व्यवसायी बताउँछन् ।

ट्रकका सामान तौल गरेबापत् नारायणी यातायात व्यबसायी संघले प्रतिदिन ५ लाख ८७ हजार रुपियाँसम्म संकलन गरेको बताइन्छ । तौलपुल सञ्चालकहरुले भने आफूहरुले मापदण्डमा नै रहेको सञ्चालन गरेको भन्दै सरकारले गर्नुपर्ने काममा सहयोग गरेको भन्दै बन्द नगर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्