रातारातको कमाल



सोमबार साँझसम्म काठमाडौं अनि देशको हाल ठिकै थियो । साँझपरेपछि खैं कताबाट समृद्धिको वायु भित्रिएछ मंगलबार विहान हुँदा त देशैभरी समृद्धि छताछुल्ल पो भइसकेछ । के हो, कसो हो, भनेर धेरैले सोध खोज गर्दा थाहा भयो मुलुक त ‘नयाँ युग’मा प्रवेश गरिसकेछ ।

अनि समृद्धिका कमान्डर पनि तोकिएको रैछ । कमान्डर उनै हुन् भनेर प्रष्ट्याउन खोज्या होला पीएम ओलीको फोटो छताछुल्ल पारिएको छ । यति मात्रै हो र, काठमाडौंका बहुसंख्यक अखवार उनै ओलीको फोटोमय भएको छ भने अनलाइन पनि त्यहि समृद्धिको सन्देशले ठपक्कै ढाक्या छ ।

समृद्धिको स्वागत गर्न अखवारलाई ज्याकेट हो कि इस्टकोट लगाइएको रे ।
धरहराले बल्लतल्ल बुझ्यो यत्रो ठूलो तामझाम त योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनको सन्देश दिन पो रैछ । ऐन गत वर्ष नै पारित भएको रैछ, तर सरकारको चुरिफुरी देख्दा लाग्छ ऐन भर्खरै हिजो अस्ती पारित भएको र काम अहिले फटाफट भइरहेको छ ।

श्रमिकको योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयन होस धरहरा शुभेच्छा व्यक्त गर्न चाहन्छ । तर यो कार्यक्रमको विऊ रोप्ने एउटा अनि ब्याज खाने अर्कै भएको देख्दा छक्क पर्नेहरुको संख्या शहरमा कम छैन । जे होस २÷४ दिन भएपनि सरकारले समृद्धिको नारा राम्रैसँग घन्काउने भयो तर यो नयाँ नाराले गर्दा ‘शुखी नेपाली समृद्ध नेपाल’ भन्ने नारा पो ओझेलमा पर्छ कि ?

प्रतिक्रिया दिनुहोस्