डा. केसीले जनाए निर्मलाको परिवारप्रति ऐक्यवद्धता



मनोज भट्ट, महेन्द्रनगर ।
निर्मला पन्तको न्यायको खोजीमा उनको परिवारले सुरु गरेको अनिश्चितकालिन धर्नाप्रति डा. गोविन्द केसीले ऐक्यबद्धता जनाएका छन् ।
मङगलवार कञ्चनपुर आएका डा केसीले धर्नास्थल जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धार पुगेर ऐक्यबद्धता जनाएका हुन् । गत कार्तिक २५ गतेदेखि छोरीको न्यायको खोजीमा निर्मलाको परिवार अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेको छ ।

डा।केसीले राजधानीबाट सोमवार मात्रै सरकारले अगामी पुस २ गते भित्र निर्मलाका हत्यारा सार्वजनिक नगरिए आमरण अनसन बस्ने चेतावनी दिएका थिए । चिकित्सा शिक्षाका लागि आन्दोलन गर्दै आएको बरिष्ठ प्राध्यापक डा। केसीले निर्मलाको न्यायलाई पनि मुख्य मुद्दा बनाएका छन् ।

घटना घटेको चार महिना भै सक्दा पनि न्याय नपाउँदा निर्मलाका बुवा यज्ञराजको मानसिक स्वास्थ्यमा समस्या देखिएकाले उपचारका लागि काठमाडौं लगिएको छ । उनको काठमाडौंस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यता निर्मलाकी कान्छी आमा लक्ष्मी पन्तले धर्नालाई निरन्तरता दिएकी छन् । निर्मलाको न्यायको लागि दबाव स्वरुप जारी अनिश्चितकालिन धर्नास्थल पुगेर प्रा।डा। केसीले धर्नामा ऐक्यबद्धता जनाउनुका साथै निर्मलाका कान्छी आमासँग भेट पनि गरेका हुन् ।
भेटका क्रममा उनले निर्मलाले न्याय पाउने आशा व्यक्त गरे । यसको लागि आफ्नो क्षेत्रबाट हुने सहयोग गर्न तयार रहेको उनले सुनाए ।

निर्मलाकी कान्छी आमा लक्ष्मीले घटना घटेको चार महिना भैसक्दा पनि न्याय नपाएको बन्दै डा। केसी सामु बिलौना गरेकी थिइन् । न्यायका लागि काठामाडौँ सम्म धाउदा पनि आश्वासन मात्र पाएको उनको गुनासो छ ।

यस्तै, डा।केसीले सरकारले अपराधीलाई कारबाही गर्नुको साटो ढाकछोप गर्नमा लागि परेको आरोप लगाएका छन् । महेन्द्रनगरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सरकारले निर्मलालाई न्याय दिनुको साटो अपराधीलाई संरक्षण गरिरहेको आरोप लगाए ।

सोह्रौं पटकको आमरण अनसनको तयारीमा समेत रहेका डा। केसीले सरकारलाई बलात्कारीको मतियारको संज्ञा पनि दिए । सरकारले घटनाको सत्य, तथ्य सार्वजनिक नगर्नुमा कतै अपराधी सरकारकै मतियार त होइनन् भनि शंका व्यक्त गरे ।

घटनाको प्रमाण नष्ट गर्ने प्रहरीलाई अहिलेसम्म कानुनको दायरामा नल्याएकाले यसबाट सरकार हत्यारा संरक्षणमा लागेको प्रष्ट हुने तर्क गरे । निर्मलाका बुवाको मानसिक अवस्थामा बिग्रनुमा सरकार प्रमुख दोषी रहेको उनले जिकिर गरेका छन् ।

गत साउन १० मा ‘होमवर्क’ गर्न भनेर साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुवारीमा शव फेला परेको थियो । घटना घटेको चार महिना पुरा भएको छ, तर अहिलेसम्म पनि हत्याराको पहिचान हुन सकेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्