पर सर्दै प्रदेश स्थायी राजधानीको विषय



हेटौंडा ।
प्रदेश–३ को संसद् बैठक आगामी सोमबार बस्ने भएको छ । उक्त बैठकमा पनि प्रदेश राजधानी र नामको विषयले प्रवेश नपाउने भएको छ ।

प्रदेश स्थायी राजधानीको विषय टुंगो लाग्ने बताइए पनि मंसिर १० गते बस्ने बैठकमा प्रदेश राजधानीबारे छलफल नहुने बताइएको छ । यसका लागि राजनीतिक सहमतिपछि मात्र बैठकमा राजधानी र नामको विषयले प्रवेश पाउने बताइएको छ ।

दशैंअघि स्थगन भएको बैठक मंसिर १० गतेका लागि तय गरिएको सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभययो । ‘केही विधेयक पारित गर्ने गरी बैठक तय भएको छ,’ सभामुख श्रेष्ठले भन्नुभयो–संसद् कामबिहीन छैन, काम गरिरहेको छ ।

सभामुख श्रेष्ठका अनुसार १० गते बस्ने बैठकमा प्रदेश सञ्चारमाध्यम विकास तथा व्यबस्था गर्न बनेको विधेयक, प्रदेश सवारी र यातायात व्यबस्था गर्न बनेको विधेयक, प्रदेश प्राविधिक शिक्षा सञ्चालन र व्यबस्थापन गर्न बनेको विधेयक पेश हुनेछ ।

प्रदेश खेलकुद विकास तथा व्यबस्था गर्न बनेको विधेयक, प्रदेश कार्यसम्पादनका लागि कोष व्यबस्थापन गर्न बनेको विधेयक र प्रदेश संस्था दर्ता गर्न बनेको विधेयक पनि प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्