अपराधीको मालिसले मस्त निद्रामा सरकारः डीला संग्रौला



मनोज भट्ट, महेन्द्रनगर ।
प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी केन्द्रिय सदस्य डा।डीला संग्रौलाले निर्मला हत्याकाण्डमा ओली नेतृत्वको सरकारले नाटकिय ढङगले अनुसन्धान गरिरहेको आरोप लगाएकी छन् । बिहिवार प्रेस युनियन कञ्चनपुरले महेन्द्रनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो आरोप लगाएकी हुन् ।

बलात्कार र हत्या जस्तो जघन्य अपराधमा पनि सरकारले तदारुता नदेखाउदा निर्मलाले न्याय नपाएको उनको तर्क छ । उनले भनिन्, ‘सरकार जनताको आवाज नसुनि ठेकेदारहरुको तकिया, एनजीओहरुको बिछौना र अपराधीहरुको मालिसमा मस्त निद्राको सपनामा जहाज चढिरहेको छ ।’

 

प्रधानमन्त्री, गृहमन्त्री र अनुसन्धानमा संलग्न सरकारका निकायले नै घटनालाई ढाकछोप गर्न खोजेको संग्रौलाले आरोप रहेको छ । ‘यो घटनामा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता छ’, कांग्रेस केन्द्रिय सदस्य संग्रौलाले भनिन्, ‘सरकार, सिहंदरबार र बालुवाटारमा बसेर अपराधीलाई लुकाउन लागि परेको छ ।’

घटना भएको झण्डै चार महिना हुँदा पनि सरकारले निर्मलालाई न्याय दिन नसकेको भन्दै काँग्रेस नेतृ संग्रौलाले गृहमन्त्रीको राजिनामाको माग समेत गरिन् ।

प्रतिनिधिसभा सदस्य समेत रहकी काँग्रेस नेतृ संग्रौलाले निर्मलाको न्यायको निम्तिको आन्दोलनलाई एनजीओ र आईएनजीओले भाड्न खोजेकोे तर्क गरिन् ।

‘निर्मलाका लागि न्याय र भावी योजना’ अभियानका लागि कञ्चनपुर पुगेकी नेतृ संग्रौलाले बिहिबार धर्नामा बसेका निर्मलाका आमाबुवासंग पनि भेट गरिन । धर्नास्थल जिल्ला प्रशासन कार्यालयको मुख्य प्रवेशद्धार पुगेर नेतृ संग्रौलाले पीडित परिवारलाई ऐक्यबद्धता जनाइन् ।

घटनाको बारेमा आफूहरुले सदनमा आवाज उठाइरहेको बताउँदै उनले सदन र सडक दुवै तताउन आफू ‘निर्मलाका लागि न्याय र भावी योजना’ अभियानमा निस्किएको बताइन् । त्यसका लागि सुदूरपश्चिमका नौँ वटै जिल्लाका सम्पुर्ण नागरिकसँग भेटघाट, छलफल गरिने छ ।

प्रतिक्रिया दिनुहोस्