सडक बत्ती मर्मत गरियोस्



काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा रहेका सडक बत्तीहरु प्रयोगमा नआउँदा रातको समयमा सडक दुर्घटनाको सम्भावना बढेको छ । यात्रुको सहजताका लागि राखिएका बत्तीहरु प्रयोगमा नआउँदा यात्रुहरुलाई समस्या पर्ने गरेको छ । विशेष गरी, पैदल यात्रीहरुलाई रातको समयमा सडक बत्ती नहुँदा ओहोरदोहोर गर्न अप्ठ्यारो हुने गरेको छ ।

त्यसै गरी, महानगरपालिकाभित्र साना गल्लीहरुमा बत्तीको अभाव हुँदा पैदल यात्रीहरु डराई–डराई हिँड्नुपर्ने बाध्यता छ । सडक बत्ती नहुँदा रातको समयमा चोरी बढ्ने सम्भावना पनि उत्तिकै हुन्छ । तसर्थ, महानगरपालिकामा रहेका सडक बत्तीको व्यवस्थापन र मर्मतमा सम्बन्धित निकायको ध्यान जान आवश्यक छ ।

महानगरपालिकाभित्र रहेका सडक बत्ती पर्याप्त नरहेकाले थप बत्तीहरुको जडान गर्नुपर्ने देखिन्छ । विशेष गरी, सडक बत्तीको उचित व्यवस्थापन हुन नसक्दा छोटो समयमै बत्तीहरु प्रयोगविहीन अवस्थामा पुग्ने गरेका छन् । सर्वसाधारणमा सार्वजनिक सम्पत्तिको अपनत्व नहुँदा समस्या ज्यूँका त्यूँ हुने गर्दछ । तसर्थ, सर्वसाधरणले सडकमा रहेका बत्तीहरुको प्रयोगमा सावधानी अपनाउन र व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।

विशेष गरी महानगरपालिकाको भित्री भागहरुमा सडक बत्तीको अभाव र मर्मतमा कन्जुस्याइँ गरेको पाइन्छ । जिम्मेवार निकायले मुख्य सडक र भित्री भागहरुमा सडक बत्ती जडान र मर्मतमा अग्रसरता देखाउन आवश्यक छ । सडक बत्तीको अभावले सर्वसाधारणलाई रातको समयमा समस्या पर्ने हुँदा सम्बन्धित निकायले सडक बत्तीको व्यवस्थापनमा छिट्टै गृहकार्य गरेर आवश्यक कदम चाल्नुपर्ने देखिन्छ । यस विषयमा मेयर सापको ध्यान जाओस् ।
– सुबिन सुनार, गोेठाटार, काठमाडौं ।

 

पर्यटकलाई सम्मान गर्ने संस्कार खै ?
नेपालमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढेसँगै पर्यटकहरुप्रति दुव्र्यवहारका घटनाहरु वृद्धि भएका छन् । विदेशी पर्यटकहरु नेपालको एयरपोर्टबाटै ठगिने गरेको समाचारहरु पनि बारम्बार आउने गर्दछ । विदेशी भनेपछि जति पैसा पनि खर्च गर्छ भन्ने मानसिकताका कारण पर्यटकहरु ठगिँदै आएका छन् । पर्यटकीय क्षेत्रहरुमा व्यपार व्यवसाय गर्दै आएका केही व्यापारीहरुले त पर्यटकसँग दुव्यर्वहार गरेर पैसा असुल्ने गरेका घटनाहरु सामाजिक सञ्जालहरुमा बेलाबखत देखिँदै आएको छ । त्यसै गरी नेपालका पर्यटकीय क्षेत्रहरुमा आन्तरिक पर्यटकलाई प्राथमिकता नदिएको गुनासोहरु पनि थुप्रै आउने गर्दछ । बाह्य पर्यटकहरुलाई अनायासै शुल्कहरु लगाएर चर्को रकम असुलिँदै आएको छ ।

फेक रेस्क्युका नाममा विदेशी पर्यटकहरुको ज्यानमाथि खेलबाड भएका घटनाहरु पनि आएका छन् । यस्तो अवस्थामा नियमनकारी निकायले पर्यटन क्षेत्रमा देखिएको विकृतिलाई निर्मूल गर्न विशेष कदम चाल्न जरुरी छ । पर्यटकको सम्मान र सत्कारमा कुनै पनि नेपालीले कन्जुस्याइँ गर्नुहुुदैन । किनभने, विश्वमा नेपालीको सत्कार र संस्कारको प्रशंसा गरिन्छ । पर्यटकहरु आफ्नो फुर्सदको समयमा रमाइलो गर्न आउँछन् । उनीहरुलाई दुव्यर्वहार गरेर उनीहरुको रमाइलो समयको दुरुपयोग कसैले गर्नुहँुदैन । राज्यले पनि पर्यटकको सुरक्षा सवालमा विशेष ध्यान दिन आवश्यक छ । पर्यटकको सम्मान गर्न सकेमात्र विश्वमा नेपालको बारेमा सकारात्मक सन्देश प्रवाह हुने देखिन्छ । तसर्थ, पर्यटकको सम्मान र सत्कारमा सबैजनाले संयमता देखाउन जरुरी छ ।
– सुधीर पराजुली, भक्तपुर ।

अठार करोडको गाडी किन चाहियो ?
देश गरिब छ । अर्थतन्त्र कमजोर भएकाले दैनिक हजारौँको संख्यामा युवाहरु विदेशिने गर्दछन् तर नेपालका नेता तथा जनप्रतिनिधिहरु भने विलासी र सौखिन छन् । जनप्रतिनिधिको सुविधाका लागि राज्यको करोडौँ रकम रित्याउने र अर्थतन्त्रलाई थप कमजोर बनाउने घटनाहरु बारम्बार भइरहेका छन् । हालै मात्र पनि राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीसाधन खरिदका लागि १८ करोड निकासा भएको समाचारले नेपाली सञ्चारमाध्यममा एकाएक चर्चा पाएको छ । गरिब देशको राष्ट्रप्रमुखलाई यतिको विलासी गाडी आवश्यक नरहेको केहीले विश्लेषण गरेका छन् भने केहिले राष्ट्रप्रमुखका लागि सुरक्षित र महँगो गाडी आवश्यक रहेको बताइरहेका छन् । तर, नेपालजस्तो गरिब देशको राष्ट्रप्रमुखले महँगो विलासी गाडी चढ्नु नेपाली समाजका लागि पाचनीय छैन ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले सरकारी मातहातमा रहेका सवारीसाधनको बिक्री गरी सामाजिक काममा खर्च गर्ने विषयले विश्वस्तरमा प्रशंसा पाइरहँदा नेपालमा भने करोडौँको गाडी थपेर देशलाई आर्थिक भार पार्ने काम भइरहेको छ । देश संघीयतामा गएसँगै राज्यको खर्चमा वृद्धि भएको छ । त्यसैले, अनावश्यक खर्च गरेर देशको ढुकुटी रित्याउन कसैले ¥याल काढ्नुहँदैैन । अतः जनप्रतिनिधि, नेतालगायत उच्च पदमा रहेका सम्मानित व्यक्तित्वहरुले विलासी मोहलाई त्याग्नुपर्छ र राज्यको ढुकुटी रित्याउने भन्दा पनि जनताको सेवा र देशको विकासमा अग्रसर हुनुपर्दछ । यो विषय सबै जनप्रतिनिधिले मनन गर्न जरुरी देखिएको छ ।
– विमला घिमिरे, पोखरा ।

नदीजन्य पदार्थको चोरी रोकिएन
कपिलवस्तुको वाणगङ्गा नदीआसपास क्षेत्रबाट नदीजन्य पदार्थको अवैध निकासी रोकिएको छैन । वाणगङ्गा नदीबाट लामो समयदेखि हँुदै आएको नदीजन्य पदार्थको अवैध चोरी निकासी भइरहेको छ ।
रातिको समयमा वाणगङ्गा पुलको उत्तर र दक्षिणी क्षेत्रबाट निकासी भइरहेको बेला प्रहरीको गस्ती टोलीले पाँचवटा ट्रयाक्टर नियन्त्रणमा लिएको थियो । वाणगङ्गा नगरपालिकाले अवैध निकासीका बारेमा जानकारी लिनका लागि स्थलगत अनुगमन गर्दा निकासी गर्नका लागि राखिएको ढुङ्गा, गिट्टी र बालुवा फेला पारेपछि निकासी नरोकिएको देखिएको छ । यसमा ध्यान जान जरुरी छ ।
– भानुभक्त बास्तोला, कपिलवस्तु

प्रतिक्रिया दिनुहोस्