नेदरल्याण्ड्स अन्तिम चारमा



लन्डन, (एजेन्सी)
नेदरल्यान्ड्स युइएफए नेशन्स लिगको अन्तिम चारमा प्रवेश गरेको छ ।
प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा जर्मनीविरुद्ध २–२ खेलको बराबरी गर्दै नेदरल्यान्ड्सले सेमिफाइनलमा स्थान पक्का गरेको हो । उक्त खेल बराबरी खेलेको डच टोली लिग ए अन्तर्गत समूह ए को विजेता बन्दै अन्तिम चारमा पुग्ने चौथो टोली बनेको छ । इन्जुरी समयमा भर्जिल भान जिकले गोल गरेपछि जर्मनीविरुद्ध नेदरल्याण्ड्सले बराबरीको नतिजा निकालेको हो । जर्मनी भने यसअघि नै लिग ए बाट लिग बी मा घटुवा भइसकेको छ ।

खेलको ८५ मिनेटसम्म २–० ले पछि परेको नेदरल्याण्ड्सले अन्तिम पाँच मिनेटमा दुई गोल फर्काउँदै जर्मनीविरुद्ध अंक खोसेको हो । नेदरल्याण्ड्सका लागि क्वाएन्सी प्रोमेसले ८५औँ मिनेटमा र भान जिकले इन्जुरी टाइममा गोल गरेका थिए । त्यसअघि टिमो वेर्नर र लरेय सानेले गोल गर्दै जर्मनीलाई २० मिनेटभित्र २–० को अग्रता दिलाएका थिए । बराबरीपछि चार खेलबाट फ्रान्ससंगै समान ७ अंक जोडेको नेदरल्याण्ड्स समूह ए को विजेता बनेको हो ।

नेदरल्याण्ड्ससँगै पोर्चुगल, इंग्ल्याण्ड र स्वीट्जरल्याण्ड पहिलो संस्करणको नेशन्स कपको सेमिफाइनलमा पुगेको छ । सेमिफाइनलको लागि आगामी डिसेम्वर ३ मा आयरल्याण्डमा ड्र हुनेछ ।

 

प्रतिक्रिया दिनुहोस्