सन्दकपुरमा विद्युतीकरण सुरु



गणेश घिमिरे, इलाम
उत्तरी इलामको सन्दकपुर गाउँपालिकामा बिद्युतीकरणको लागि प्रकृया सुरु भएको छ । बिद्युतीकरणका लागि ठेक्का प्रकृयाको काम सकिसकेको र कार्यन्वयनको चरणमा अघि बढिसकेको छ । गाउँपालिकाले चालु आर्थिक बर्षमा बिद्युतीकरणका लागि २ करोड रुपैंयाँ बजेट बिनीयोजन गरेको छ । सो क्रममा ठेक्का प्रकृयामा जाँदा एक करोड ३९ लाखमा ठेक्का लागेको छ । ठेकेदार कम्पनिले बिद्युतीकरणको काम दुईमहिना भित्र (माघ) मसान्तभित्रै गर्नेगरी सम्झौता गरेको गाउँपालिकाका प्रबक्ता गिरीराजमणि खनालले बताए ।

गाउँपालिकाले बिनियोजन गरेको बजेटबाट प्रत्येक पाँचवटा वडाका लागि ३१÷३१ लाख रुपैंयाँ बजेट बिनीयोजन गरेको तर जिल्लाकै अग्लो पर्यटकिय स्थल सन्दकपुर सम्म पुग्ने पिक पोइन्टका लागि ३२ लाख रुपैंयाँ बिनीयोजन गरेको छ । सो क्षेत्रसम्म पुग्ने बिद्युतीकरणका लागि नेपाल बिद्युत प्राधिकरणले ३५ लाख रुपैंयाँ बजेट बिनीयोजन गरीसकेको छ ।

पाँचवटा वडा रहेको सन्दकपुर गाउँपालिकाका सबै वडामा बिद्युतीकरणले छोएपनि वडाका सबै भागहरुमा पुग्न सकेको छैन । त्यसैलाई मध्यनजर गरेर गाउँपालिकाले सबैलाई बिद्युत सेवाको पहुँचमा पुरयाउन चालु आर्थिक बर्षमा बिद्युतीकरणका लागि अधिक बजेट बिनीयोजन गरेको प्रबक्ता खनालको भनाई छ । गाउँपालिकाले बिद्युतीकरण, सडक निर्माण, कृषि क्षेत्र लगायतका पहिलो प्राथमिकतामा राखेर चालु आर्थिक बर्षमा बजेट बिनीयोजन गरेको थियो ।

यसैगरी गाउँपालिकाले चालु आर्थिक बर्षमा गरीने योजनाको सम्झौता उपभोक्ता समितिसंग गर्न थालेको छ । कतिपय योजनाहरुको अहिले धमाधम काम भइरहेको छ । पर्यटकिय स्थल सन्दकपुरसम्म पुग्ने बाटोको ग्राभेलिङ्गको काम सकिएको छ । चालु आर्थिक बर्षमा पूर्वाधार बिकासका निम्ति गाउँपालिकाबाट बिनीयोजीत बजेटले सम्झौता गरीएका योजनाको काम समय अवधिभित्रै सक्नेगरी गाउँपालिका लागेको छ ।

जिल्लाकै नमुना गाउँपालिकाको रुपमा बिकास गर्ने उद्येश्यले अहिले सन्दकपुर गाउँपालिकाले काम गरीरहेको खनालले बताए । यो क्षेत्र पर्यटकिय क्षेत्र भएपनि पूर्वाधार बिकास नभइरहँदा समस्या भइरहेकोले गाउँपालिकाले पूर्वाधार बिकासमा जोड दिएको छ ।

सन्दकपुर गाउँपालिकामा धार्मिक पर्यटकिय स्थल माइपोखरीदेखि बिश्वको सर्वोच्च शिखर सगरमाथाको दृष्यावलोकन गर्न सकिने सन्दकपुर जस्ता ठाउँहरु छन्र । यस्तै यहाँ बहुमुल्य जडिबुटि, पोखरी, दुर्लभ बन्यजन्तु रेडपाण्डा, लालिगुराँस लगायत बस्तुहरु देख्न सकिन्छ । त्यस्तै छिन्टापु, धापपोखरी लगायत पर्यटकिय स्थलमा गएर आनन्द समेत लिने ठाउँहरु पनि रहेको छ । तर त्यस क्षेत्रमा पूर्वाधार बिकास नहुँदा यस्ता क्षेत्रहरु ओझेलमा परीरहेकाले गाउँपालिकाले पूर्वाधार बिकासलाई जोड दिएकोे छ ।

प्रतिक्रिया दिनुहोस्