इन्टेग्रिटी आइडलका उत्कृट पाँचको नाम सार्वजनिक



नेपाल समाचारपत्र, काठमाडौं
इन्टेग्रिटी आइडल नेपाल २०१८ का उत्कृट पाँच जनाको नाम सार्वजनिक गरिएको छ । इन्टेग्रिटी आइडल नेपाल राजधानीमा पत्रकार सम्मेलन गरी उत्कृट पाँच जनाको नाम सार्वजनिक गरेको हो ।

इन्टेग्रिटी आइडलको पाँचौं संस्करण इन्टेग्रिटी आइडल नेपाल २०१८ का लागि तरकारी बाली विकास केन्द्र खुमलटार, ललितपुरका वरिष्ठ बागबानी विकास अधिकृत अरुण काफ्ले, टीकापुर नगरकार्यपालिकाको कार्यालय, टीकापुर कैलालीमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत ध्रुवराज आचार्य, युवा तथा खेलकुद मन्त्रालय, सिंहदरबार, काठमाडौका उपसचिव महेन्द्रप्रसाद पौड्याल उत्कृष्ट पाँचमा हुनुहुन्छ ।

यस्तै, बर्दियाका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुङबाङ र वीरेन्द्रनगर नगर नगरस्वास्थ्य कार्यालय, सुर्खेतका सिनियर अनमी सीताकुमारी शर्मा रहनुभएको छ ।

मनोनयनमा परेकामध्ये उत्कृष्ट पाँच जनाको नाम चयनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भूतपूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायको संयोजकत्वमा निर्णायक समिति बनाइएको थियो । समितिमा अधिकार सम्पन्न संघीय प्रशासनिक पुनर्संरचना सहजीकरण समितिका अध्यक्ष एवम् प्रशासनविद् काशिराज दाहाल, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक पुण्यप्रसाद न्यौपाने र नेपाल सरकारका पूर्र्व सचिव जीवनप्रभा लामा रहनुभएको थियो ।

यस वर्ष इन्टेग्रिटी आइडल २०१८ का लागि १ जनवरी २०१८ बाट चार महिनाका लागि मनोनयन खुला गरिएको थियो । जस अन्र्तगत देशका ७२ जिल्लाबाट १ हजार ६२ वटा मनोनयन प्राप्त भएका थिए । अनलाईन, सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यम तथा युवा स्वयंसेवक परिचालन गरेर मनोनयन आह्वान गरिएको थियो । इन्टेग्रिटी आइडलले तय गरेको पूर्व निर्धारित मापदण्डलाई आधार बनाएर विभिन्न ७ चरणको छनोट प्रकृया पश्चात स्वतन्त्र निर्णायक समितिले उत्कृष्ट पाँचको नाम छनोट गर्नुभएको थियो ।

मंगलबार साँझ साँढे ६ बजेबाट एपी वान टेलिभिजन सोसम्बन्धी कार्यक्रम प्रसारण भएदेखि शुरु भएर मंसिर १७ गते सोमबार रातिसम्म भोटिङ खुला रहने एकाउन्टबिलिटी ल्याब नेपालका प्रमुख कार्यकारी अधिकृत नारायण अधिकारीले जानकारी दिनुभयो ।

भोटिङका लागि अरुण काफ्लेको १, ध्रुवराज आचार्यको २, महेन्द्रप्रसाद पौडेलको ३, रामबहादुर कुरुङबाङ्गको ४ र सिताकुमारी शर्माको लागि ५ कोड निर्धारण गरिएको छ । भोट गर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर आफूलाई चित्त बुझेको व्यक्तिको भोटिङ कोर्डलेखि ३४००१ मा भोटिङ गर्न सकिने पनि जानकारी दिइएको छ । पाँचजना उत्कृष्ट मध्येबाट सर्वोत्कृष्ट इन्टेग्रिटी आइडल नेपाल २०१८ छनोट गर्न भोटिङको व्यवस्था गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्