प्रकाश दाहालको स्मृतिमा थामिएन प्रचण्ड परिवारको आँशु



काठमाडौं । सधै चहलपहल हुने नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुलटलारमा मानिसहरुको उपस्थिति बाक्लो रहेपनि सबै मौन देखिन्थे । मानिसहरुको भिड भएर पनि त्यहां सन्नटा छाएको थियो । सबैको अनुहार मलिन थियो । प्रचण्ड पुत्र प्रकाश दाहालको प्रथम स्मृति दिवसको अवसरमा उपस्थित सबै प्रकाशको संझना गरिरहेका थिए । एक बर्ष अघि हृदयघातको कारण निधन भएका प्रकाशको स्मृतिमा परिवारले निवासमा नै कार्यक्रम आयोजना गरेको थियो ।

प्रकाशको निधन भएपछि जबरजस्त रुपमा सम्हालिएको प्रचण्ड परिवारलाई पुनः एक बर्ष अघिको दुःखद दिनको स्मरणले झन दुःखित बनाएको छ । प्रकाशकी आमा सीता दाहाल पुत्र वियोगमा अझै सम्हालिन सक्नुभएको छैन् ।
सोमवार खुमलटारमा आयोजित प्रकाश दाहालको पहिलो स्मृति दिवसमा पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्ड, सीता दाहाल, प्रकाशकी जीवन संगीनी विना मगर भक्कानिएका थिए ।

श्रद्धान्जली कार्यक्रम अवधिभर सीता दाहाल सम्हालिन सक्नुभएन । गहभरी आशु पार्दै सम्हालिनु भएका प्रचण्ड निःशब्द देखिनुहुन्थ्यो । विना मगर श्रीमानको वियोगमा झन सम्हालिन सक्नुभएको थिएन । उपस्थित सबैको आँखा रसाए ।

नेपालीहरूको माया, सद्भाव र प्रेरणा नभइदिएको भए, हाम्रो परिवार विघटन भइसक्थ्यो, भावुक हुँदै प्रचण्डले भन्नुभयो– पार्टी, नेता–कार्यकर्ता, समर्थक–शुभेच्छुकमात्रै होइन सिंगो मुलुककै अपूर्व साथ–सहयोग नपाएको भए परिवारमा अर्को दुर्घटना निम्तन्थ्यो ।’

प्रचण्डले छोरा स्व.प्रकाशको स्मृति सभामा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, काँग्रेस सभापति शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री झलनाथ खनाल सभामुख कृष्णबहादुर महरा, मन्त्रिपरिषदका पूर्वअध्यक्ष खिलराज रेग्मी, राजपाका नेता महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा लगायतका नेताहरुले स्व. दाहालप्रति श्रद्धान्जली व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष प्रचण्डले छोरा प्रकाश दाहाल र २ वर्षअघि निधन भएकी छोरी ज्ञानुको नाममा ‘प्रज्ञा स्मृति प्रतिष्ठान’ स्थापना गरिएको घोषणा गर्नुभयो ।

ज्ञानुको क्यान्सरका कारण निधन भएको थियो भने छोरा प्रकाशको हृदयघातका कारण गत वर्ष मंसिर ३ गते निधन भएको थियो ।
स्मृति सभामा अध्यक्ष प्रचण्डले आफुले छोरा गुमाउनुको पीडा सुनाउँदै प्रकाशको निधनले परिवार नै झण्डै विघटन हुने अवस्था आएको स्मरण गर्नुभयो । निकै भावुक प्रचण्ड प्रस्तुत भएपछि सगै बस्नुभएका सीता दाहालले प्रकाशको वियोगको पीडा थाम्न सक्नुभएन । कार्यक्रममा पुत्र प्रकाशको तस्विर अगाडि दीप प्रज्वलन गर्न पुग्दा देखिनै भावुक बनेका प्रचण्डको मन्तब्य दिने क्रममा गला अवरुद्ध भएको थियो ।

अपुरणिय क्षतिः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रकाश दाहाल मिलनसार र व्यवहारिक युवा भएको बताउनुभएको छ । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पुत्र प्रकाशको निधन भएको एक बर्ष पुगेको अवसरमा प्रचण्ड निवास खुमलटरमा आयोजित स्मृति सभामा प्रधानमन्त्री ओलीले प्रकाशले कुशलतापूर्वक जिम्मेवारी व्यवस्थापन गर्ने युवाको रुपमा स्मरण गर्नुभयो ।

महत्वपूर्ण व्यक्तिको सचिवालयको जिम्मेवारी लिएर त्यसलाई कुशलतापूर्वक व्यवस्थापन गर्नु सजिलो नभएको बताउदै विभिन्न मानिसका विभिन्न माग, आक्रोश सुनेर त्यसको निरुपण पनि गरिदिनुपर्ने कुरामा प्रकाशले जिम्मेवारी सफलतापूर्वक बहन गरेको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रकाशको असामयिक निधनले प्रचण्ड परिवार, पार्टी र राष्ट्रलाई नै क्षति पुगेको बताउदै उहाँले भन्नुभयो,‘उमेर, अपेक्षा, समय बाँकी हुँदै भएको निधन धेरै पिडादायी हुन्छ । प्रकाशको निधन त्यस्तै भयो तर शोकको घडीमा पनि परिवारले गरेको धैर्य अनुकरणीय छ ।’

शोकलाई शक्तिमा बदलेर जीवनलाई गतिशील बनाई राख्न पनि प्रचण्डको परिवारलाई आग्रह गर्दै प्रधानमन्त्री ओलीले मृत्यु फर्काउन वा सच्याउन नसकिने विषय भएको स्मरण गराउँदै संयमता उपनाउन पनि पटक–पटक आग्रह गर्नुभयो ।

स्वर्गीय दाहालको निधनबाट सिंगो पार्टी, देश र जनता अझै पीडामा रहेको स्मरण गर्दै त्यसलाई शक्तिमा बदलेर देश र जनताको सेवामा लागि रहने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्