थ्री स्टारको दोस्रो जित



काठमाण्डौ, (नेस)
रुस्लान थ्री स्टार क्लबले ’पल्सर सहिद स्मारक ए डिभिजन लिग’ मा लगातार दोस्रो जित हात पारेको छ ।

लिगअन्तर्गत आइतवार एन्फा कम्प्लेक्समा भएको ललितपुरे डर्बी खेलमा थ्री स्टारले ब्रिगेड ब्वाइज क्लबलाई ५–१ गोलअन्तरले पराजित गरेको हो । यसअघि पनि आप्mनो पहिलो खेलमा थ्री स्टारले ललितपुरकै फ्रेण्ड्स क्लबलाई हराएको थियो ।

पहिलो हाफमा एक र दोस्रो हाफमा चार गोल थप्दै थ्री स्टारले फराकिलो गोलअन्तरको जित आत्मसात गरेको हो । थ्री स्टारले अन्तिमा ६ मिनेटमा तीन गोल गरेका थिए ।

थ्री स्टारले खेलको आठौँ मिनेटमै रञ्जित धिमालको पेनाल्टी गोलमार्फत् खाता खोलेको थियो । यस्तै ५१औँ मिनेटमा सुनिल बलले गोल गर्दै थ्री स्टारको अग्रता दोब्बर पारेका थिए ।

खेलको ७५औँ मिनेटमा ब्रिगेडका रन्जन तिवारीले गोल गर्दै गोल अन्तर कम पारे पनि ८४औँ मिनेटमा रन्जन विष्टले गोल गरेपछि थ्री स्टारले खेलमा ३–१ को अग्रता बनायो । यसैगरी ८९औँ मिनेटमा निराजन खड्काले गोल थपेपछि थ्री स्टारको चौथो गोल सम्भव भयो ।

करिब ९ महिनासम्म चोटका कारण फुटबलबाट टाढिएर फर्केको विक्रम लामाले पनि इन्जुरी टाइममा गोल थपेपछि थ्री स्टारले फराकिलो अन्तरको जित हात पारेको हो । लगातार दुई जितपछि थ्री स्टार र मनाङ मर्स्याङ्दी क्लबको समान ६ अंक भएको छ ।

पुलिस र मछिन्द्रको बराबरी
विभागीय टोली नेपाल पुलिस क्लब र मछिन्द्र क्लबले ’पल्सर सहिद स्मारक ए डिभिजन लिग’ मा बराबरी खेल्दै अंक बाँडेका छन् ।

आइतवार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दिनको पहिलो खेलमा पुलिस र मछिन्द्रले गोलरहित बराबरी खेलेका हुन् । पहिलो खेलमा जित हात पारेको पुलिसले यो पहिलो बराबरीको नतिजा आत्मसात गरेको हो । उक्त नतिजासँगै पुलिसले दुई खेलबाट चार अंक जोडेको छ । अर्को विभागीय टोली त्रिभुवन आर्मीको पनि चार अंक नै छ । पुलिसले पहिलो खेलमा जावलाखेल युथ क्लबलाई पराजित गरेको थियो ।

यस्तै लिगमा मछिन्द्रको भने यो लगातार दोस्रो बराबरी हो । पहिलो खेलमा च्यासल युथ क्लबलाई पनि गोलरहित बराबरीमा रोकेको मछिन्द्रले दुई खेलबाट दुई नै अंक जोडेको छ । लगातार दुई खेल जितेर ६ अंक जोडेको मनाङ मर्स्याङ्दी क्लब भने अंक तालिकाको शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्