विश्व बैंक भन्छ- ‘खराब कर प्रशासनका कारण नेपाला लगानी गर्ने वातावरण खस्किँदो



नेपाल समाचारपत्र, काठमाडौं
नेपालमा व्यापार गर्ने वातावरणको अवस्थाबारे अध्ययन गरेर विश्व बैंकले केही समय अघि सार्वजनिक गरेको ‘डुइङ बिजनेस’ सँचकको रिपोर्टमाथि अर्थमन्त्री डा. युवराज खतिवडाले आपत्ति जनाउनु भएको छ ।

शनिबार कर दिवसको अवसरमा बोल्दै मन्त्री खतिवडाले विश्व बैंकले नेपालका बारेमा सार्वजनिक गरेको उक्त तथ्यांक वास्तविक र सत्यपरक नरहेको भन्दै त्यसलाई सच्याउन नेपालले पहल गर्ने बताउनु भएको हो ।

‘अघिल्लो वर्षको तुलनमा हामी केही स्थान तल झरेका छौं । हामीलाई लाग्छ, त्यो नेपालको वास्तविक अवस्था होइन र त्यसलाई पुनर्विचार गर्न विश्व बैंकलाई हामीले भनिसकेका छौं ।’ उहाँले भन्नुभयो ।

विश्व बैंकले नेपालको कर प्रशासनका क्षेत्रमा समस्या रहेको भन्दै व्यापारका लागि वातावरण प्रतिकुल हुँदै गएको जनाएको छ । नेपालमा कर तिर्ने समय र लागत झनै बढेको र सोही कारण अघिल्लो वर्षको तुलनामा व्यापार गर्ने वातावरण झनै बिग्रेको जनाइएको छ ।

विश्व बैंकको तथ्यांक सच्याइनुपर्छ: अर्थमन्त्री

झन्झटिलो र अव्यवहारिक कर प्रशासनका कारण नेपालमा लगानी र व्यवसाय गर्न अनुकुल वातावरण अघिल्लो वर्षभन्दा घटेको प्रतिवेदनको आशय छ । अर्थमन्त्री खतिवडाकै शब्दमा ‘करसम्बन्धी सानो विषयलाई लिएर १ सय ५ अंकबाट १ सय १० अंकमा झारिदिएकामा हाम्रो आपत्ति छ ।

यसको पुनरावलोकन गर्न हामीले भनिसकेका छौं । सामाजिक सुरक्षा प्रणालीअन्तर्गत कुनै पनि कम्पनीले उसका कर्मचारीको बेहोर्नुपर्ने दायित्वको व्यवस्था गरेर कर विवरण बुझाउँदा फारममा समस्या भएको भन्ने कारण देखाउँदै ५ अंक घटाइएको छ । जुन वास्तविक होइन र थप अध्ययन गर्न विश्व बैंककै टोली आउँछ ।’

अर्थमन्त्री खतिवडाका अनुसार उक्त तथ्यांक पुनरावलोकन गर्न नेपालले विश्व बैंकलाई भनिसकेको छ । ‘विश्व बैंकको मूल्यांकनमा समस्या रहेको हामीले जानकारी दिइसकेका छौं । विश्व बैंकले पनि मिसन टोली पठाउँछु भनेको छ । त्यसको, पुनरावलोकन हुन्छ ।’ खतिवडाले भन्नुभयो । नेपालमा कर प्रणाली सुधारको क्रममा रहेको र स्वच्छ एवं पारदर्शी प्रणाली स्थापना गर्न सरकारले कुनै कसर बाँकी नराख्ने अर्थमन्त्री खतिवडाले प्रतिबद्धतासमेत जनाउनु भएको छ । प्रतिवेदनले नेपालमा व्यापार गर्ने वातावरण अघिल्लो वर्षभन्दा घटेको तथ्यांक सार्वजनिक गरेपछि अर्थमन्त्री खतिवडाले त्यसमा पुनर्विचार गर्न विश्व बैंकलाई आग्रह गर्ने र व्यापार व्यवसायका लागि अनुकुल वातावरण बनाउन कुनै कसर बाँकी नराख्ने उहाँको भनाइ छ ।

प्रतिवेदनअनुसार गतवर्ष नेपालले १ सय ५ अंक पाएकोमा यसवर्ष ५ अंकले बढेर १ सय १० पुगेको देखिन्छ । जुन पछिललो ५ वर्षकै सबैभन्दा खस्कँदो स्थिति हो । सन् २०१४ मा नेपालको ९४ अंक अर्थात व्यवसाय गर्न अनुकुल वातावरण हुने मुलुकको ९४औं स्थानमा थियो । १ सय ९० वटा मुलुकको व्यापार वातावरण सँचकांक सार्वजनिक गरेको विश्व बैंकको रिपोर्टअनुसार दक्षिण एसियाका मुलुकमध्ये चीनलको ४६ अंक, भारतको ७७ अंक, भुटानको ८१ अंक, श्रीलंकाको सय अंक र नेपालको १ सय १० अंक रहेको देखिन्छ ।

पछिल्लो १० वर्ष अवधिमा नेपालको सबैभन्दा नाजुक स्थिति सन २००८ र २००९ मा देखिएको छ । त्यो दुवै वर्ष नेपालले १ सय २३ अंक पाएको थियो । दक्षिण एसियाली मुलुकको औसत ५७ दशमलव ७१ अंक रहेको छ ।

पछिल्लो समय मुलुकमा स्थिर सरकार बनेको र लगानी गर्ने वातावरण सहज बन्दै गएका भन्दै नेपालले स्वदेशी, विदेशी लगानी भित्र्याउन आग्रह गरिरहेका बेला यस्तो तथ्यांक बाहिर आएको हो । जसले गर्दा नेपाललाई विदेशी लगानी भित्र्याउन केही असहज हुने देखिएको छ ।

‘पर्यटन, कृषि, शिक्षा, स्वास्थ्यको लगानी ढुक्क’

नेपालको उच्च आर्थिक वृद्धिको लागि पर्यटन, कृषि, शिक्षा, स्वास्थ्य र सँचना तथा प्रविधि क्षेत्रमा लगानी हुनुपर्ने विश्व बैंकको निष्कर्ष छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) ले गरेको ‘प्राइभेट सेक्टर डाइनोस्टिक’ अध्ययन प्रतिवेदनमा तुलनात्मक रुपमा ती क्षेत्रमा हुने लगानीबाट लाभ लिन सकिने उल्लेख छ ।

प्रतिवेदनले निजी क्षेत्रको लगानी बढाउनको लागि गर्नुपर्ने कानुनी सुधारमा जोड दिँदै खासगरी कम्पनी ऐन,औद्योगिक व्यवसाय ऐन तथा बौद्धिक सम्पत्तिको अधिकारको कानँन संसोधन हुनुपर्ने सुझाव अध्ययनको छ ।

आईएफसीले नेपालमा निजी क्षेत्रमार्फत् ८० करोड अमेरिकी डलर लगानी गर्ने भएको छ। निजी क्षेत्रमार्फत् नेपालको दिगो आर्थिक विकासमा सहयोग गर्न आईएफसीले लगानी बढाउने घोषणा गरेको हो। अहिलेसम्म नेपालमा आईएफसीले करिब १५ अर्ब लगानी गरेको छ।

प्रतिक्रिया दिनुहोस्