आर्मी र मनाङको जित



काठमाडौं, (नेस)
सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबार भएका खेलमा त्रिभुवन आर्मी क्लब र मनाङ मस्र्याङदी क्लब विजयी भएका छन् ।

करिब १ महिनाको विश्रामपछि पुन संचालनमा आएको लिगअन्तर्गत आर्मीले हल्चोक मैदानमा भएको खेलमा च्यासल युथ क्लबलाई १–० गोलअन्तरले हराएको हो । आर्मीको दबदबा भएको खेलमा विकास खवासले निर्णायक गोल गरेका थिए । उनले २७औं मिनेटमा सन्तोष तामाङले प्रहार गरेको कर्नरमा हेडमार्फत् गोल गरे । पहिलो खेलमा एनआरटीसँग बराबरी खेलेको आर्मीको ४ अंक भएको छ ।

च्यासलबाट सन्तोष साहुखलले पनि खेलेका छन् । जापानबाट फर्केका सन्तोषले ४९औं मिनेटमा सानदार फ्रिकिक प्रहार गरे । तर उनको प्रहारलाई त्यति नै सुन्दर तरिकाले आर्मीका गोलकिपर विकेश कुथुले पन्च गरेर खतरा टालेका थिए । यसअघि अमिर श्रेष्ठको प्रहारलाई पनि विकेशले पन्च गरेर विफल तुल्याएका थिए । यसै साता नवलपरासीमा उपाधि जितेर आएको च्यासलको यो हारपछि २ खेलबाट १ अंकमै रह्यो ।

यसअघि सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङले न्युरोड टिम (एनआरटी) लाई २–० गोलअन्तरले हराएको थियो । अन्जन विष्टले पेनाल्टीमार्फत् १७औं मिनेटमा गोल गर्दै मनाङलाई अग्रता दिलाएका थिए । उनलाई मसुदले लडाएपछि मनाङले पेनाल्टीको अवसर पाएको थियो । जसलाई अन्जन आफैले सदुपयोग गरे ।

ओलावाले आफिजले ४०औं मिनेटमा अर्को गोल थपेपछि मनाङको जित सुनिश्चित भएको थियो । उनले डिफेन्सलाई छल्याएर वान भर्सेस वानमा क्लोज रेन्जमा गोल गरेका थिए । यो सँगै मनाङ लगातार दुई जितले शीर्ष स्थानमा रहेको छ । तीन विदेशी खेलाडी क्लबमा भित्रयाएको एनआरटीको १ अंक छ । पहिलो खेलमा एनआरटीले आर्मीसँग २–२ बराबरी खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्