इन्द्रावती किनारमा वडाध्यक्षको शव फेला



ज्ञानमणि नेपाल कालोटोपी, सिन्धुपाल्चोक ।
सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका स्थित वडा नम्बर ८ का वडाध्यक्ष धन बहादुर श्रेष्ठ आज मृत अवस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाए अनुसार उनी इन्द्रावती गाउँपालिका वडा नम्बर ११ स्थित इन्द्रावती नदीको बगरमा मृत भेटिएका हुन् । उनको मृत्युको कारण भने खुलेको छैन । उनको शव इन्द्रावती नदी किनारमा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवको प्रकृति हेर्दा नदीमा डुबेर मृत्यु भएको देखिन्छ ।

बिगत एक दशक भन्दा वढी समय देखि सिपाघाट बजारमा उनी आफ्नै मेडिकल संचालन गर्दै आएका थिए । यसका साथै अन्य सामाजिक काममा पनि निकै सक्रिय रहँदै आएका उनी शुक्रबार साँझबाट परिवारको सम्पर्कमा आएका थिएनन् । आज दिउसो ३ बजे तिर नदी किनारमा शव फेला परेपछि उनको मृत्युको कारण रहस्यमय रहेको बताइएको छ ।

श्रेष्ठ नेपाली काँग्रेसको तर्फबाट स्थानीयतहको निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्