कफीको उत्पादन र आयात दुवै वृद्धि, आजदेखि नयाँ मूल्य



नेपाल समाचारपत्र
काठमाडौं
राष्ट्रिय चिया तथा कफी विकास बोर्डले मंसिर १ गतेबाट लागू हुनेगरी यस वर्षका लागि कफीको मुल्य तोकेको छ। राष्ट्रिय कफी दिवसको अवसर पारेर बोर्डले मूल्य तोकेको हो।
बोर्डले मंसिर १ गतेदेखि लागू हुने गरी कच्चा कफीको मूल्य निर्धारण गरेको छ। जसअनुसार फ्रेस चेरी कफी ग्रेड ए रु. ८५ प्रतिकिलो (अर्गानिक प्रमाणिकरण भएको), ग्रेड बी रू. ८० प्रतिकिलो (अर्गानिक प्रमाणिकरण नभएको) तय भएको छ। त्यस्तै पार्चमेन्ट कफी ग्रेड ए रू. ४२५ प्रतिकिलो (अर्गानिक प्रमाणिकरण भएको) ग्रेड बी रू. ४१० प्रतिकिलो (अर्गानिक प्रमाणिकरण नभएको), ड्राइ चेरी ग्रेड ए रू. १४० प्रतिकिलो ग्रेड बी रू १०० प्रतिकिला र ग्रेड सी रू ४० प्रतिकिलो तय गरेको छ।

राष्ट्रिय चिया तथा कफी विकास बोर्डले आज १४औं राष्ट्रिय कफी दिवस मनाउने भएको छ। यस वर्ष ‘प्रविधिमा आधारित गुणस्तरीय कफी उत्पादनको बृहत् अभियानमा जुटौं’ भन्ने नाराका साथ मनाउन लागिएको छ। बोर्डका अनुसार देशभरा ५१३ मेट्रिक टन कफी ग्रिन बिन उत्पादन हुँदै आएको छ। गएको वर्षको तुलनामा यो करिब १० प्रतिशतको वृद्धी हो। गत वर्ष ४६६ मेट्रिक टन कफी उत्पादन भएको थियो। हाल कफीको कुल रोपण क्षेत्र २६५० हेक्टर पुगेको छ।

त्यस्तै भन्सार विभागको तथ्यांकअनुसार ९ करोड ३७ लाख २५ हजार बराबरको ८४ दशमलव २२ मेट्रिक टन कफी निर्यात हुँदा ६ करोड ५८ लाख ९१ हजार बराबरको १६३ दशमलव ३८ मेट्रिक टन कफी आयात भएको छ। गत वर्षको तुलनामा कफीको आयात करिब ६४५ बढेको र निर्यात करिब ११५ ले घटेको छ। उत्पादन बढिरहँदा आयात पनि बढ्नु तर निर्यात घट्नुले नेपालमा उत्पादित कफीको बजार नेपालभित्रै बढ्दै गएको संकेत गर्छ।

युरेपियन युनियनअन्तर्गतको ट्रेड एण्ड प्राइभेट सेक्टर डेभलपमेन्ट प्रोजेक्टको सहयोगमा बोर्डले गरेको जियोग्राफिकल इन्डिकेसन सिस्टम (जीआईएस) मा आधारित अध्ययनअनुसार नेपालभर करिब ११ लाख ९८ हजार ५३५ हेक्टर क्षेत्रफलमा कफी खेती गर्न सकिने र त्यसमध्ये ६१ हजार २२८ हेक्टर क्षेत्रफल कफी खेतीका लागि अति उत्तम रहेको देखिएको छ। अति उत्तम क्षेत्रलाई मात्र आधार मान्दा पनि करिब ४ प्रतिशत क्षेत्रमा मात्र नेपालमा कफी उत्पादन गरिरहेको विश्लेषण गर्न सकिन्छ।

प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले गुल्मी, अर्घाखाँची, प्युठान, पाल्पा र स्याङ्जा जिल्लाका कफी सम्भावित क्षेत्रलाई सुपर जोनको रूपमा विकास गरी कफीमा व्यावसायिकता बढाउने प्रयास गरिएको राष्ट्रिय चिया तथा कफी विकास बोर्डले जनाएको छ। सोखको रूपमा मात्र उत्पादन गर्ने अवस्थाबाट विकसित हुँदै पछिल्लो समय कफी कृषकको आय आर्जनको भरपर्दो स्रोतको रूपमा पनि चिनिन थालेको छ।

प्रतिक्रिया दिनुहोस्