आर्मीका तीन खेलाडी अन्तिम चारमा



काठमाडौं, (नेस)
नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका तीन खेलाडी योनेक्स सनराईज आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टन प्रतियोगिता २०७५ को पुरुष एकल तर्फ सेमिफाईनलमा प्रवेश गरेका छन् ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा बिहीबार भएका खेलमा सेनाका रत्नजित तामाङ्ग पुलिसका निर बिक्रम देवकोटालाई २१–१७, २१–१८ ले पन्छाउँदै अन्तिम चारमा पुगेका हुन् । अव तामाङ्गले आफ्नै क्लबका रुकेश महर्जनको सामना गर्ने छन् । रुकेशले पुलिसका बिष्णु कटुवाललाई २१–१६, २१–१९ ले पाखा लगाए । यस्तै सेनाका अर्का खेलाडी नविन श्रेष्ठले भोजपुरका बिकास श्रेष्ठलाई २१–१९, २१–११ ले पन्छाए । श्रेष्ठले फाईनल प्रवेशका लागि एपिएफका दिपेश धामीको सामना गर्ने छन् । दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहाललाई २१–१६, २२–२० ले पराजित गरेका थिए ।

महिला एकल तर्फ नेपाली सेनाका दुई र एपिएफका दुई खेलाडीले अन्तिम चारको यात्रा तय गरे । क्वाटरफाईनल खेलमा सेनाका नङ्गशलदेवी तामाङ्ग बाँकेकी संझना शर्मालाई २१–१२, २१–८ ले पछाडी पारेकी थिइन् । तामाङ्गले फाईनल प्रवेशका लागि एपिएफकी शोभा गौचनको सामना गर्ने छिन् ।

शोभाले सेनाकी अनुमाया राईलाई २१–१७, २१–१९ ले पन्छाईन् । यस्तै सेनाकी रशिला महर्जनले गत सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङ्ग संग सेमिफाईनलमा प्रतिस्पर्धा गर्ने छिन् । रशिलाले सेनाकै रञ्जना भट्टलाई २१–१४, २१–१३ तथा जेशिकाले सेनाकी अमिता गिरी माथि १९–२१, २१–१५, २१–११ को जित निकाले ।

प्रतिक्रिया दिनुहोस्