विश्व बक्सिंगमा ९ देशको डेब्यू



नयाँ दिल्ली, (एजेन्सी)
इन्दिरा गान्धी इन्डोर स्टेडियममा बिहीबारबाट शुरू भएको एआईबीए महिला विश्व बक्सिंग च्याम्पियनशिपमा चार फेडेरेसनका थप ९ राष्ट्रले पदार्पण गरेको छ । प्रतियोगिताको दशौ संस्करणमा बक्सिंगका बलियो देश मानिएका स्कटल्यान्डले पनि डेब्यू गरेका छन् ।

यसअघि पांच फेडेरेसनका १ सय दुई राष्ट्रले मात्र पछिल्ला नौ संस्करणमा प्रतिस्पर्धा गर्दै आएका थिए । यस प्रतियोगिताको सुरुवात भने २००१ बाट भएको हो । यो प्रतियोगिता भारतले दोस्रो पटक आयोजना गरेको हो । यसअघि २००६ मा दिल्लीमा उक्त प्रतियोगिता आयोजना हुँदा ३३ देशका १ सय ७८ महिला बक्सरले प्रतिस्पर्धा गरेका थिए ।

स्कटल्यान्डले केही वर्ष अघिमात्र महिला बंक्सिंग टिम बनाएको हो । स्कटल्याण्डले यसअघि विश्व च्याम्पियनशिपमा महिला बक्सरलाई उतारेको थिएन । अहिले नयाँ दिल्लीमा पुगेका स्कटिश बक्सरहरु मध्ये तीन जना १९ वर्षका छन् । जसमध्येका भिक्टोरिया ग्लोभरले ५७ केजी तौल समूहमा खेल्दैछन् । यस्तै स्टेफनी केरनाचानले ५१ केजी र मेगन रीड ६४ केजी तौल समूहका लागि रिंगमा उत्रने छन् ।

स्कटल्यान्ड बाहेक सन् २०१२ मा एआईबीएमा आबद्ध भएका कोसोभोको महिला बक्सिंग टीम पनि विश्व च्याम्पियनशिपमा सहभागी भएको छ । कोसोभोका मुक्केबाजहरुले भने पुरुषहरुको एलिट यूथ र जूनियर एआईबीए टूर्नामेन्टमा खेलिसकेका छन् ।

जारी प्रतियोगितामा सहभागी कोसोभोकी महिला मुक्केबाज डोनेता सादिकु ईयूबीसी यूरोपियन महिला यूथ च्याम्पियन समेत हुन् । उनले पनि यस प्रतियोगिता डेब्यू गर्दैछिन् । १९ वर्षीया यी मुक्केबाजले सन् २०१५ मा जुनियर महिला विश्व बक्सिंग च्याम्पियनशिपमा रजत पदक जितेकी थिईन् ।


यस्तै माल्टा पनि यस प्रतियोगिताको नयां राष्ट्र हो । यो भन्दा अघि माल्टाले सन् २००९ पुरुषहरुको विश्व च्याम्पियनशिपमा प्रतिस्पर्धा गरेका थिए । यस्तै दक्षिण एसियाली राष्ट्र बंगलादेशले पनि यस प्रतियोगितामा पहिलो पटक खेल्दैछ । बंगलादेश आफ्ना तीन मुक्केबाजहरुसहित पदार्पण भएका छन् ।

बंगलादेशमा केही वर्षअघि देखि मात्र महिला बक्सिंग प्रतियोगिताको शुरुआत भएको हो । यी बाहेक केमेन आइल्यान्डका महिला मुक्केबाज पनि पहिलो पटक विश्व च्याम्पियनशिपमा खेल्दैछन् । अफ्रीकन बक्सिंग फेडेरेसनसँग सम्बद्ध चार राष्ट्र कंगो, मोजाम्बिक, सिएरालियोन र सोमालियाका महिला मुक्केबाजहरु पनि पहिलो पटक विश्व च्याम्पियनशिपमा सहभागी भएका छन् ।

जसमध्ये सोमालियाको प्रतिनिधित्व गर्दै रामला अली रिंग उत्रदैछ । लन्डनमा बस्दै आएकी रामलाले यसअघि इंग्ल्याण्डबाट पनि खेलिसकेकी छन् । यसपटक भने उनले आफ्नो मूल राष्ट्र सोमालियाबाट खेल्ने निर्णय गरेकी हुन् ।

वायु प्रदूषणको मारमा खेलाडी
गत ५ नोभेम्बरमा दिल्लीको एयर क्वालिटी इन्डेक्स ६ सय देखि ७ सयबीच रेकर्ड गरिएको थियो । जसका कारण दिल्लीमा १५ डिसेम्बर सम्म जारी रहने एआईबीए वल्र्ड बक्सिंग च्याम्पियनशिपमा प्रतिस्पर्धा गर्ने खेलाडीहरु मारमा परेका छन् । उनीहरुलाई श्वास लिन समेत असहज भएको छ ।

प्रदूषणको मारमा परेका खेलाडीमध्ये सन् २०१४ मा ५७ केजी तौल समूहको विश्व च्याम्पियन बनेकी बुल्गेरियाकी स्टेनिमिरा पेट्रोभाले भने,–“हामीलाई राम्रो लागिरहेको छैन । यहाँको हावा अन्य कारणले पनि खराब छ । हामीलाई स्वाश लिन अप्ठ्यारो महसूस भईरहेको छ । यस्तो अवस्थामा प्रशिक्षण गर्न धेरै कठिन छ । तर यसले यहाँ पुगेका सम्पूर्ण खेलाडीहरुलाई पनि समान असर गरेको छ । त्यसैले बाउटमा भने खासै असर पार्छ जस्तो मलाई लाग्दैन ।“

यूरोपियन च्याम्पियनशिपका काश्य पदक विजेता अल्बानियाकी ऐजी निमानी पनि पेत्रोभासँग सहमत देखिन । उनले भने,–“म पहिलो पटक भारत आएकी हुं । मलाई यहाँ स्वाश लिन कठिनाई भएको छ । त्यसैले यहाँको वातावरणमा भिज्न म एक साता अघि नै दिल्ली पुगेकी हुँ । ईमानदारीका साथ भन्नुपर्दा यो सहर अझै सफा राख्न सकिन्छ ।“ ऐजी निमानीले सन् २०१६ मा सम्पन्न रियो ओलम्पिकमा ५१ केजी तौल समूहको छनोट चरणको खेलमा पाँच पटककी विश्व च्याम्पियन भारतकी मेरीकोमलाई हराएकी थिईन् ।

पञ्जाब र हरियाणा राज्यमा पराल जलाएको कारणले दिल्लीमा अहिले प्रदुषणको मात्रा बढेको छ । प्रदूषण नियन्त्रणका लागि गत साता सकिएको दीपावलीमा समेत आतिशबाजी गर्न भारतीय सर्वोच्च अदालतले रोक लगाएको थियो ।

पुरस्कार घोषणा स्वागतयोग्य
आईबीए विश्व महिला बक्सिङ च्याम्पियनसिपमा खेल्न दुई जना महिला खेलाडीसहित ४ सदस्यीय नेपाली बक्सिङ टोली अहिले भारतको नयाँ दिल्लीमा छन् । नोभेम्बर १५ देखि २४ तारिखसम्म हुने प्रतियोगितामा नेपालका तर्फबाट विमला श्रेष्ठले ५१ केजी तथा पुनम रावलले ६० केजी तौल समूहमा प्रतिस्पर्धा गर्नेछन् ।

यसपटक नेपाली महिला खेलाडीका नगद पुरस्कारको पनि ब्यवस्था गरिएको  । यो वास्तवमै स्वागतयोग्य छ । नेपाल बक्सिंग संघका अध्यक्ष राम अवालले आफ्नो परिवारका तर्फबाट नगद पुरस्कारको घोषणा गरेका हुन् । उनले खेलाडीले एक बाउट जितेमा २५ हजार, दुई बाउट जितेमा ७५ हजार र पदक जितेमा २ लाख नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका हुन् । विश्व बक्सिंगमा सहभागी हुने नेपाली महिला बक्सरहरुलाई पुरस्कारको दिने घोषणा भएको यो नै पहिलो पटक पनि हो ।

प्रतिक्रिया दिनुहोस्