बजेट छर्ने प्रचलनले समृद्धि आउँदैनः मन्त्री जम्मकट्टेल



हेटौँडा ।
प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले विकासको नाममा बजेट छर्ने प्रचलनले देशमा समृद्धि नआउने बताउनुभएको छ ।

आज विश्व दण्डहीनता दिवसमा फ्रिडम फोरमले हेटौँडामा आयोजना गरेको कार्यक्रममा मन्त्री जम्मकट्टेलले हाल विकासको नाममा चारैतिर बजेट छर्ने प्रचलनले गर्दा उन्नति गर्न नसकेको बताउनुभयो ।

हेटाँैडामा सुरुङमार्गलाई पहिलो प्राथमिकतामा राखेर प्रदेश सरकार अघि बढ्नुपर्ने भन्दै उहाँले पत्रकारलाई यसको निम्ति दबाब सिर्जना हुने गरी कलम चलाउन आग्रह गर्नुभयो । उहाँले एक अर्को प्रसङ्गमा सञ्चार ऐन प्रदेशसभामा पेश भएकोले संशोधन गर्नुपर्ने विषयमा बसेर छलफल गर्न समेत सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो ।

नेपाल पत्रकार महासङ्घ प्रदेश नं ३ का महासचिव कृष्णसारु मगर र महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईंले मुलुकी संहितामा संशोधन गर्नुपर्ने विषयमा आफूहरुले सुझाव दिएकोले अझै छलफल गर्नसमेत आग्रह गर्नुभयो । कार्यक्रममा देशभर मारिएका ३६ पत्रकारको विषयमा बृत्तचित्र प्रस्तुत गरिएको थियो ।
रासस

प्रतिक्रिया दिनुहोस्