उद्योग ग्राम अवधारणा ल्याइने



नेपाल समाचारपत्र, काठमाडौं
उद्योगमन्त्री डा. युवराज खतिवडाले स्थानीय स्तरमा प्राप्त स्रोत, साधन, र सीपको प्रयोगमार्फत उद्यमशीलता विकास तथा व्यवसाय प्रवद्र्धनका लागि उद्योग ग्रामको अवधारणा ल्याउने बताउनुभएको छ ।

बुधबारबाट भृकुटीमण्डपमा सुरु भएको १६औं हस्तकला व्यापार मेला तथा १४औं हस्तकला प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मन्त्री खतिवडाले सरकारले प्रत्येक स्थानीय तहलाई ‘उद्योग ग्राम’ स्थापना गर्न आवश्यक आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउने तयारी गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हामी स्थानीय सीप, श्रम, र स्रोतको अधिकतम उपयोगमार्फत आर्थिक विकासका लागि हरेक स्थानीय तहमा उद्योगग्राम सञ्चालन गर्ने र त्यसको आर्थिक तथा प्राविधिक पक्षको जिम्मेवारी सरकारले बहन गर्ने गरी नयाँ अवधारणामा काम गरिरहेका छौं।’ ‘उद्योग ग्राम’ स्थापना गर्ने सरकारको महत्वकांक्षालाई प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि अर्थमन्त्री खतिवडाले सबै स्थानीय तहलाई आग्रहसमेत गर्नुभएको छ ।

हस्तकला लगायत स्थानीयस्तरमा पाईने विभिन्न वस्तुको अधिकतम प्रयोगमार्फत आर्थिक उपार्जनको बाटो पहिल्याउन सकिने उहाँको भनाई छ । उहाँले हस्तकला लगायत नेपालका मौलिक सीप सम्बन्धी बौद्धिक सम्पत्ति चोरी हुन नदिन सरकारले बौद्धिक सम्पत्ति माथिको अधिकार सम्बन्धी ऐन संशोधन प्रक्रिया अघि बढाईरहेको पनि बताउनुभयो ।

उहाँले भन्नुभयो ‘हाम्रा स्थानीयस्तरमा प्रयोग हुन सीपको अधिकतम उपयोग मार्फत अर्थोपार्जन गर्नका लागि हस्तकला लगायत अन्य बौद्धिक सम्पत्ति चोरी हुन नदिन अपनाउनुपर्ने उपायका विषयमा तपाईहरुको आवश्यक सुझावको अपेक्षा सरकारले राखेको छ । हस्तकला लगायत अन्य क्षेत्रको वास्तविक तथ्यांक संकलन गर्नका लागि पनि हामी निजी क्षेत्रलाई आग्रह गर्दछौं ।’ केही समयभित्रै सरकारले हस्तकला मेलाका लागि आवश्यक पर्ने अत्याधुनिक प्रर्दशनी स्थल निर्माण गर्नेसमेत मन्त्री खतिवडाले घोषणा गर्नुभएको छ।

सोही कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष भवानी राणाले विश्व बजारमा नै नेपाल चिनाउन सफल भएको हस्तकला क्षेत्रको विकास र प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न महासंघ सदैव तयार रहेको बताउनुभयो । ‘हस्तकला क्षेत्रले आर्थिक विकासको बाटो मात्र देखाएको छैन नेपालको अर्थतन्त्रलाई नै चलायमान बनाउनसमेत महत्वपूर्ण भूमिका खेलेको छ । यसको प्रवद्र्धनका लागि हामीले पहल गर्न जरुरी छ ।’ अध्यक्ष राणाले भन्नुभयो ।

५ दिनसम्म चल्ने मेलामा भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, भुटानलगायत देशका व्यापारीको २० वटा स्टलसहित करिब १ सय ७० वटा स्टल राखिएका छन्। काष्ठकला, सुनचाँदी, ऊनी तथा सुती र ढाकाका सामान, पस्मिना, हाते कागजका सामान, छालाजन्य सामान, बाँस र जडिबुटीका सामग्रीहरु मेलामा मुख्य आकर्षणका रुपमा राखिएका छन् भने उत्कृष्ट हुने स्टललाई ५० हजार रुपियाँ नगदसहित पुरस्कारको व्यवस्था पनि गरिएको छ । मेलामा करिब १० करोड रुपियाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको मेला आयोजक समितिका संयोजक हेमरत्न शाक्यले जानकारी दिनुभयो ।

ललितपुर महानगरपालिका पहिलो हस्तकला नगरी
विश्व क्राफ्ट काउन्सिलले ललितपुर महानगरपालिकालाई नेपालको पहिलो हस्तकला नगरी घोषणा गरेको छ ।

हिजो राजधानीमा एक कार्यक्रमकाबीच काउन्सिलका अध्यक्ष डा. घाडा हिजा कडामीले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनलाई हस्तकला नगरीको प्रमाणपत्र प्रदान गर्नुभयो ।

घोषणासँगै काउन्सिलले महानगरको हस्तकला बजारको संरक्षण तथा प्रवद्र्धनमा सघाउ पु¥याउनेछ । हालसम्म विश्व क्राफ्ट काउन्सिलले विश्वका ३५ वटा शहरलाई हस्तकला नगरी घोषणा गरेको छ । जसमा एशियाली राष्ट्रका २७, ल्याटिन अमेरीकी राष्ट्रका ६ र युरोपेली राष्ट्रका २ शहर छन् ।

प्रतिक्रिया दिनुहोस्