रत्नजित र दिपेश क्वार्टरफाइनलमा



नेपाल समाचारपत्र, काठमाडौं
पूर्व विजेता राष्ट्रिय च्याम्पियन सेनाका रत्नजित तामाङ्ग र एपिएफका दिपेश धामी आठौं पुष्पलाल स्मृती राष्ट्रिय खुला ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुगेका छन् ।

प्रतियोगिताका लगातार ६ पटकका विजेता तामाङ्गले बुधबार सम्पन्न प्रिक्वार्टरफाईनलमा एपिएफका सुनिल जोशीलाई २१–६, २१–१७ को सोझो सेटमा पाखा लगाए । यस्तै दिपेशले सेनाका प्रफुल महर्जनमाथि २१–१५, २१–१५ को सेटमा जित हात पारेका थिए ।

अन्यमा अन्तिम आठमा प्रवेश गर्नेमा पुलिसका बिष्णु कटुवाल र निर विक्रम देवकोटा पनि रहे । बिष्णुले एफिएफका विजित थापामगरलाई २१–१७, २१–१४ तथा निर विक्रमले एपिएफकै सुदीप सेंढाईलाई १२–२१, २१–८, २१–१० ले हार चखाए ।

यसैगरि सेनाका रुकेश महर्जनले एपिएफका साजन कृष्ण ताम्राकारलाई २१–१८, २१–१४, सेनाकै नविन श्रेष्ठले पुलिसका जीवन आचार्यलाई २१–७, २१–१३, भोजपुरका विकास श्रेष्ठले एपिएफका गौतम कठायतलाई २१–१७, २१–१६ तथा सिल्क ग्रुपका प्रिन्स दाहालले पुलिसका दीपक बोहरालाई २१–१९, २१–१४ले पराजित गर्दै अन्तिम आठमा स्थान बनाए ।

प्रतियोगिताअन्तर्गत महिला तर्फ सातौं संस्करणकी विजेता एपिएफकी जेशिका गुरुङ्गले जित निकाल्दै अन्तिम आठमा स्थान सुरक्षित गरिन् । जेशिकाले भोजपुरकी सिता राईलाई २१–१७, २१–१९ ले पराजित गरिन् । यस्तै सेनाका नङ्गशल देवी तामाङ, अनुमाया राई, रशिला महर्जन, रञ्जना भट्ट र अमिता गिरीले पनि जित निकाल्दै अन्तिम आठमा स्थानमा पुगे ।

तामाङले जेष्टकी महिमा श्रेष्ठलाई २१–५, २१–३ को सेटले सहजै पन्छाइन् । अनुले जेष्टकै सफि खत्रीलाई २१–५, २१–१०, रशिलाले जेष्टकै मनिषा खड्कालाई २१–८, २१–४, रञ्जनाले मोरङ्गकी सिमा राजबंशीलाई २१–१८, १७–२१ र २१–१६ तथा अमिताले भोजपुरकी लोकतमा राईलाई २१–२, २१–८ ले पाखा लगाए ।

यसैगरि बाँकेकी संझना शर्माले एपिएफकी सुनैना मुखियालाई २१–१३, २१–१९ तथा एफिएफकी शोभा गुरुङ्गले जेष्टकी तारा आलेलाई २१–१८, २१–१३ले पराजित गर्दै अन्तिम आठको यात्रा पक्का गरे ।

प्रतिक्रिया दिनुहोस्