पेलेको स्थान लिन नसक्ने



लन्डन, (एजेन्सी)
फ्रान्सलाई दोस्रो पटक फीफा विश्वकप दिलाउन महत्वपूर्ण भूमिका निभाउने किशोर फुटबलर क्लियन एम्बाप्पेले आफु पेले जस्तो हुन नसक्ने बताएका छन् ।
फ्रान्सले विश्वकप जित्दा महत्वपूर्ण भूमिका खेलेका उनलाई पेलेसँग तुलना गरिएको थियो । फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार एम्बाप्पेले आफ्ना समर्थकहरुले आफुलाई पेलेसँग तुलना गर्दा खुसी लागेपनि पेलेको स्थान लिन नसक्ने उनले बताएका हुन् ।

उनले भने–‘ मलाई लाग्दैन कसैले पेलेले आफ्नो समयमा जस्तो खेल्न सक्छ । पेले एक्ला छन् जसले त्यो सबै गरे । मलाई लाग्छ कोही पनि पेलेजस्तो बन्न सक्दैन ।’

विश्वकपको फाइनलमा उनले पनि गोलमा नाम लेखाएपछि उनी टिनएजमै यस्तो सफलता हासिल गर्ने पेलेपछिका पहिलो खेलाडी बनेका थिए । १९ वर्षको कलिलो उमेरमा नै एम्बाप्पेले दुई लिग उपाधि र विश्वकप उपाधिसँगै अन्य धेरै सफलता हात पारिसकेका छन् । अब उनको लक्ष्य पीएसजीलाई च्याम्पियन्स लिग जिताउनु रहेको छ ।

प्रतिक्रिया दिनुहोस्