‘भुटानले आफ्ना नागरिकको व्यवस्थापन गर्नुपर्छ’



काठमाडौं, (नेस) । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भुटान सरकारले नेपालमा बसोबास गरेका आफ्ना नागरिकलाई सकुशल व्यवस्थापन गर्नुपर्ने बताउनुभएको छ ।

मन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भुटानी नागरिकले सम्मानपूर्वक आफ्नो देश फिर्ता हुन पाउनुपर्ने बताउनुभयो ।
‘भुटान सरकारले आफ्ना नागरिकलाई लानुपर्छ, ‘सेटलमेन्ट’ हुन बाँकी ६ हजार ९ सयलाई अलपत्र पार्नु हुँदैन’ मन्त्री ज्ञवालीले भन्नुभयो‘ झण्डै १ लाख २० हजार भुटानी नेपाल आएका थिए, अरुको व्यवस्थापन भइसकेको छ ।’
भुटान सरकारद्धारा खेदाइएका उनीहरु भुटानी शरणार्थीका रुपमा झापा र मोरङका ७ वटा शिबिरमा बस्दै आएका थिए । उनीहरू २०४५ सालमा शरणार्थीका रुपमा नेपाल आएका थिए ।

उक्त अवसरमा उहाँले मिडियामा आउने अनेक हल्लाको पछि नलाग्नसमेत सर्वसाधारणलाई आग्रह गर्नुभयो । मन्त्री ज्ञवालीले ३ वटा देशमा राजदुतका लागि नाम प्रस्ताव गरिएको र खाली भएको अर्को देशमा पनि छिट्टै सिफारिस गरिने जानकारी दिनुभयो । राजदुत खाली हुनुभन्दा ३ महिनाअघिदेखि प्रक्रिया चालिने उहाँको भनाइ थियो ।

राजदुत कसले नियुक्त ग¥यो भनेर खोजी गर्नुभन्दा उसको काम र जिम्मेबारी कस्तो छ भने कुरा प्रमुख भएको उहाँको तर्क थियो । मन्त्रालयमा खाँचो भएकाले केही समयअघि १ जना राजदुत फिर्ता बोलाइएको उहाँले प्रष्ट पार्नुभयो ।

राजदुतावास थप्ने प्रक्रिया अघि बढेको बताउँदै मन्त्री ज्ञवालीले राजदुतावास सञ्चालनबापत बार्षिक ७५ करोड रुपैंया खर्च हुने गरेको जानकारी दिनुभयो ।
उहाँले वर्तमान कर्मचारी दरबन्दी र भइरहेको संरचनाले मन्त्रालयको काम कारवाही गर्न समस्या परेको उल्लेख गर्नुभयो । केही दिनमा आफ्नो जापान भ्रमण रहेको भन्दै उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी विश्व जलवायु सम्मेलनमा भाग लिन आगामी नोभेम्बर १ देखि ५ तारिखसम्म पोल्याण्ड जाने बताउनुभयो । उहाँले कम्बोडियाका प्रधानमन्त्री एशियन पोलिटिकल पार्टीको कार्यक्रममा भाग लिन नेपाल आउने बताउनुभयो ।

पत्रकारले उहाँको भ्रमण शंकास्पद रहेको र नेपालको हितमा नभएको भन्दै मन्त्री ज्ञवालीमार्फत सरकारलाई सचेत रहनसमेत आग्रह गरेका थिए । मन्त्री ज्ञवालीले सन् २०२० मा २० लाख पर्यटक भित्रयाउने सरकारको योजना साकार पार्न सबैको सहयोग रहनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्