प्रेस स्वतन्त्रतामा कसैसँग सम्झौता हुँदैन–सभापति आचार्य



विराटनगर,  नेपाल पत्रकार महासङ्घका सभापति गोविन्द आचार्यले प्रेस स्वतन्त्रताको विषयमा कसैसँग पनि सम्झौता नहुने बताउनु भएको छ । विराटनगरमा आज पत्रकारहरुसँग छलफल गर्दै उहाँले प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने गरी कुनैपनि हुने निर्णय वा तर्जुमा गरिने कानून स्वीकार्य हुँदैन भन्नुभयो ।

उहाँले आम सञ्चारसम्बन्धी कानून बनिरहेको जानकारी दिँदै सञ्चारसम्बन्धी संरचना कस्तो बनाउने भन्ने विषयमा विराटनगरमा छिटै सम्मेलन गर्न लागिएको पनि बताउनुभयो ।

सभापति आचार्यले मुलुकी संहिताले स्वतन्त्र पत्रकारितामा अङ्कुश लगाउन खोजेकामा यसलाई समाधान गर्न बनेको कार्यदलबाट सकारात्मक कार्य हुनेमा जोड दिनुभयो । उहाँले निरन्तर सङ्घर्ष र वकालत गर्ने नेपाल पत्रकार महासङ्घले राष्ट्र र जनताका हितका निम्ति नियमित आवाज उठाइरहेको स्पष्ट पार्नुभयो ।

रासस

 

प्रतिक्रिया दिनुहोस्